समाचार प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनतिर फर्कने कुरा गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिएका छन्।

एमालेको समृद्धिका लागि संकल्प यात्राका क्रममा आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको इच्छा पूरा नहुने बताए। “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो। त्यो लोकतन्त्र विरोधी हो,” ओलीले भने, “त्यो जनतालाई गरीब राख्न खोज्ने कुरा हो।”

लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनको भनाइ थियो। त्यसलाई उनले नेपाल र नेपालीको हित विपरीतको काम भनेका छन्। अहिलेको व्यवस्था विरुद्ध वितृष्णा फैलाउनेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे।

एमालेले बैतडीको झुलाघाटबाट शुरू गरेको मध्यपहाडी लोकमार्गको यात्रा आइतबार दैलेख पुगेको हो। जनताका समस्या बुझ्न यात्रा थालिएको उनको भनाइ थियो। “नागरिकसँग भेटौं र पार्टीका सन्देश जनताबीचमा पुर्‍याऔं, नागरिकका कुरा सुन्न सकौं भनेर एमालेले पूर्व-पश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ,” ओलीले भने।

Previous article९ वर्षीय बालकको केपी ओलीलाई चिठ्ठी- युवा अवस्थामा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह
Next articleकोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।