Home ताजाखाबर १६ वर्ष मुनिकालाई ‘वान् सिनेमाज्’ले ‘एनिमल’ देखाएपछि कारबाही सिफारिस

१६ वर्ष मुनिकालाई ‘वान् सिनेमाज्’ले ‘एनिमल’ देखाएपछि कारबाही सिफारिस

0
73

भारतसँगै नेपालमा पनि एडल्ट सर्फिफिकेट पाएको बलिउड फिल्म ‘एनिमल’ काठमाडौंको नयाँ बानेश्वरस्थित ‘वान् सिनेमाज्’ले १६ वर्षभन्दा मुनिका दर्शकलाई देखाएपछि चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६:३० बजे तीन बोर्ड सदस्यसहितको टोली चेकजाँचका लागि हलको अनुगमनमा पुगेको थियो ।

बोर्ड सदस्यहरु राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरीसहितले चेकजाँचको क्रममा ‘वान् सिनेमाज्’ले एडल्ट सर्टिफिकेटको नियमविपरित बालबालिकाहरुलाई ‘एनिमल’को टिकट बिक्री गरेको भेटाएका हुन् । यसपछि हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

‘एडल्ड’ प्रमाणपत्र प्राप्त गरेको फिल्म १६ वर्षमुनिका बालबालिकालाई देखाउनु गैर कानुनी मानिन्छ । बालबालिकाहरुलाई ‘एडल्ट’ फिल्मको टिकट बिक्री नगर्न बोर्डले हल सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

कानुनविपरीत बालबालिकालाई एडल्ट फिल्मको टिकट बिक्री गरिएको पाइए हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने अनुगमन समितिका संयोजक राजु केसीले बताए ।

‘वान् सिनेमाज्’ले एडल्ट प्रमाणपत्र पाएको ‘एनिमल’ बालबालिकालाई देखाएको घटनाबारे थप अनुसन्धान गरेर बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भैरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए । त्यसो त ‘एनिमल’लाई एडल्ट प्रमाणपत्रको नाममा नेपालको सेन्सर बोर्डले धेरै दृश्यमा आँखा चिम्लिएको भन्दै आलोचना पनि भैरहेको छ ।