Home ताजाखाबर यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला

यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला

0
89

विराटनगर — आइतबारदेखि सामाजिक सञ्जालमा एउटा खबरसँगै भिडियो भाइरल भयो- अस्पतालले मृत घोषणा गरेका व्यक्ति एकाएक बिउँझिए ! उक्त भिडियोमा भनिएको छ- सुनसरी इनरुवा नगरपालिका-३ वन कार्यालय पश्चिमका ४५ वर्षीय प्रताप सदालाई विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृतक घोषणा गरेर आफन्तलाई शव बुझाएको, अनि परिवारजनले दाहसंस्कारको सबै तयारी गरेको र घर ल्याएपछि मृतकले आँखा खोलेको । त्यतिमात्रै होइन भिडियोमा मृत्यु भएपछि मृतकलाई शव गृहमा राखिएको दाबीसमेत गरिएको छ ।

स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो नै भाइरल बन्यो । के साँच्चै अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर पुगेपछि ब्युँतिएका हुन् त ? कान्तिपुरले यसको तथ्य बुझ्दा गलत सूचनाका कारण यो घटना भाइरल बन्न पुगेको भेट्टायो । कान्तिपुरले बिरामीका छिमेकीहरू, वडाध्यक्ष, वडा महिला सदस्य, वडा दलित सदस्य एवं छिमेकी र अस्पतालका प्रतिनिधिसँग बुझ्दा यो खबर झुटो भएको देखिन्छ ।

सदा परिवारले छातीमा समस्या भएपछि प्रतापलाई उपचारका लागि सुरुमा इनरुवा अस्पताल पुर्‍याएका थिए । अस्पतालले आफूकहाँ उपचार सम्भव नहुने बताएपछि उनलाई शनिबार विराटनगरको मेट्रो न्युरो अस्पताल पुर्‍याइएको थियो ।

सुरुमा अस्पतालले प्रतापको छातीमा समस्यासँगै मेनेन्जाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसीयूमा राखेर उपचार सुरु गर्‍यो । बिरामीको अवस्था जटिल बन्दै गएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सदाका आफन्तलाई बतायो । तर बिरामीका परिवारले भेन्टिलेटरमा राखेर उपचार नगर्ने बरु घर नै लैजाने भन्न थाले । कान्तिपुरलाई प्राप्त कागजातमा प्रतापकी पत्नी सीताकुमारीले बिरामीको मृत्यु भएमा आफैं जिम्मेवार हुनेछु भन्ने कागजमा औंठाछाप र सही गरेर बिरामीलाई घर लैजान प्रक्रिया थालेको देखिन्छ । कान्तिपुरलाई प्राप्त अस्पतालभित्रको सीसीटिभी फुटेजमा पनि बिरामीलाई आइसीयूबाट स्ट्रेचरमा राखेर निकालेको देखिन्छ । अस्पतालका सञ्चालक सन्तोष मेहताले कागज गरेर परिवारले बिरामी लिएर गएको बताएका छन् ।

आइतबार दिउँसो सीताकुमारीले ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जीवितै अवस्थाका प्रतापलाई लिएर घर हिँडिन् । घर नपुग्दै बाटैबाट उनीहरूले आफन्ती र गाउँलेलाई फोन गरेर सदाको अन्त्येष्टिका लागि आवश्यक सामाग्री तयार गर्न भने । छरछिमेकीले भने अनुसार घाट लैजाने खट, कपडा र दाउरा तयार पारे । प्रतापलाई खटमा सुताएर कपडाले छोपेर जुइनाले बाँध्न सुरु गरियो । तब उनले पुलुक्क आँखा हेरे । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । वडाध्यक्ष रमेश श्रेष्ठले त्यही बेला स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको बताए ।

वडाध्यक्ष रमेशले अस्पतालका डाक्टरले पनि बिरामीको अवस्थाबारे बुझाउँदा भाषाको समस्याका कारण उनीहरूले नबुझेर बिरामीको मृत्यु भयो भन्ने बुझेको हुनसक्ने बताए । भिडियोमा भनिएजस्तो अस्पतालले डेथ सर्टिफिकेट दिएको भन्ने कुरा पनि अफवाह मात्रै भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

त्यसो भए भिडियोमा किन प्रतापलाई १२ घण्टा शवगृहमा राखेको भनियो त ? वडाध्यक्ष श्रेष्ठले आईसीयूमा राखेर उपचार गरिएको कुरालाई बंग्याएर त्यसो भनिएको हुनसक्ने बताए । उनले भने, ‘अस्पतालले पनि विपन्न र दलित समुदायले पाउने सुविधाका नाममा भेन्टिलेटरमा राखेर एकरात उपचार गरेर जनप्रतिनिधिलाई जानकारी गराएको भए यस्तो अवस्था आउने थिएन । यसमा अस्पतालको पनि गल्ती देखियो ।’

वडाकी महिला सदस्य सविना सिग्देलका अनुसार प्रतापका परिवारजनले उनको मृत्यु भएको भन्दै बाटोबाटै अन्त्येष्टिका लागि दाउरालगायतका सामग्रीको जोह गरिदिन आग्रह गरेपछि अफवाह फैलिएको बताइन् । वडाकी दलित सदस्य एवं प्रतापका छिमेकी कबुक्री सदाका अनुसार अस्पतालमा मृत्यु भएको हल्लाको पछाडि परिवारजन लाग्दा यस्तो समस्या सिर्जना भएको बताइन् ।