पिठुवा खानेपानीमा जुटेन सहमति; निर्वाचन तालिका सार्वजनिक

1
231

निराजन घिमिरे। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति गठन प्रक्रिया लागी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले सहमतिको लागी दिएको समयसीमामा दलहरु बिच सहमति नजुटेपछि निर्वाचन तालिका सार्वजनिक गरिएको हो।

गत माघ १३ गते सम्पन्न खानेपानीको तेस्रो अधिवेशनको उद्घाटन समारोहमा क्रियाशील सबै ६ दलका नेताहरुले सहमतिको वातावरण निर्माण गर्ने जनाएका थिए।

भाषणमा सहमतिको रटान रट्ने तर व्यवहारमा अडान नछोड्ने दलहरुको पुरानै प्रवृत्तिको कारण नयाँ समिति गठनको लागि निर्वाचन नै गर्नुपर्ने अवस्था आएको हो।

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आगामी फाल्गुन छ गते निर्वाचन हुनेछ। नेतृत्व चयनका लागि तीन वटा वडाबाट २२३ जना परिषद् सदस्य निर्वाचित भइसकेका छन् ।

अधिवेशनको बन्दसत्रले दीपक सिवाकोटीको संयोजकत्वमा निर्वाचन समिति घोषणा गरी प्रक्रिया अगाडि बढाएको थियो ।

रत्ननगर नगरपालिका वडा नं १४, १५ र १६ का स्थानीयलाई खानेपानी उपलब्ध गराउदै आएको सो  संस्था २०६७ सालमा स्थापना भएको हो।

हाल सो संस्थाको ४ हजार ५२२ जना उपभोक्ता रहेका छन् । संस्थाले एक बर्षमा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी गरेको थियो ।

Previous articleसौराहा फुड फेस्टिबल : खाना, संगित र संस्कृतिको समिश्रण
Next articleरोकिराखेको ट्रक सँग बस ठोकिँदा चितवनमा २० जना घाईते