पोखरा – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अप्ठ्यारो पारेका कारण प्रदेश सरकारले काम गर्न नसकेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खुलेआम विरोध गरेका छन् ।
ओली सरकारका निर्णय कार्यान्वयन नभएर प्रदेशलाई अप्ठ्यारो भएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे ।
संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले मंगलवार पोखरामा आयोजना गरेको विकास र समृद्धिमा अन्तरतह समन्वय विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जिल्लामा भएका कार्यालयमा संघीय सरकारले कर्मचारी राखेको भन्दै चर्काे आक्रोश पोखेका छन् ।
‘संघीयतामा सरकार जनताको घरदैलोमा आउँछ भन्ने तर जनताको घरदैलोमा रहेका कार्यालय र कर्मचारी कहाँ थुपार्यो ?’ उनले सोधे, ‘यो संघीयता हो कि राणा शासनतिर फर्किएको हो ?’
हिजोको व्यवस्था अनुसार जिल्लामा रहेका कार्यालय घटाएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखेका छन् । जिल्ला–जिल्लामा रहेका खानेपानी कार्यालय घटाएको उदाहरण दिँदै उनले भने, ‘मनाङ, लमजुङका मानिस खानेपानी माग्न गोरखा जानुपरेको छ, जनताबाट सरकार झनै टाढा भएको छ ।’
प्रधानमन्त्री ओलीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक र प्रदेश समन्वय परिषद्को बैठकका निर्णयहरू समेत कार्यान्वयन नभएको गुनासो गुरुङले गरे । ‘निर्णयहरू कार्यान्वयन गर्न संघ सरकार उदासिन छ, अनुगमन पनि गर्दैन,’ गुरुङले भने, ‘नेतृत्वको माइन्डसेट नै गलत छ, हचुवाको भरमा मुलुक चलाएर समृद्धि कहाँबाट आउँछ ?’
मुख्यमन्त्री गुरुङले संघीय सरकार अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा मन्त्रालय, भूमिसुधार मन्त्रालय लगायतका मन्त्रालयमा अझै संघीयता नआएको बताएका छन् ।
‘अझै पनि पश्चिमाञ्चल खेलकुद विकास समिति छ, अन्यत्र पनि यस्तै, कहाँ हो पश्चिमाञ्चल भनेको ?’ उनले सोधे, ‘मन्त्रीहरूले काम गरेनन्, संघीयता आएन भनेर भनेको भन्यै छु । यस्ता विषयमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ, किन नदिएको ?’
केहीबेरअघि भूकम्पको धक्का, सर्वसाधारण त्रसित, कति ठूलो धक्का ?


