सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवन । नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गरेका छन् । सिंहले उद्घाटन गरेसंगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ । जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवन सौराहाले महोत्सवको आयोजना गरेको हो ।

सो अबसरमा उपप्रधानमन्त्री सिंहले पशु अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । हात्तीले चितवनको पर्यटन विकासमा महत्पवूर्ण भूमिका निर्बाह गरेको भन्दै उनले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताए ।

अधिकारका नाममा हात्ती महोत्सव रोकिनु हुँदैन उनले भने महोत्सवलाई जनाबरमैत्री बनाउदै अझै शक्तिशाली बनाउनु पर्छ । हात्तीका गतिविधि अबलोकन गर्न पर्यटन आउने भन्दै उनले यो सकरात्मक पक्ष भएको बताए ।
हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उनले महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चितवनका पर्यटन व्यवसायीको हात्ती प्रतिको लगाब र प्रतिबद्धताको अगाडि अधिकारको नाममा गरिएको विरोध निरही रहेको उपप्रधानमन्त्री सिंहले बताए । वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उनले पर्यटकीय गतिविधिलाई कुनैपनि बहनामा विरोध गर्ने छुट कसैलाई नभएको उल्लेख गरे । चितवनको सफारी पर्यटनलाई असर पर्ने गरी हात्ती महोत्सवप्रति असहमति जनाउन नहुने उनको तर्क छ ।

चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपन नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यस अन्तर्गगत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए। स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उनले संरक्षण र पर्यटनलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सम्पदा जोगाउदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उनको भनाई छ । प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले पशुअधिकारकर्मीहरुले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताए । उनले बृहत पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाब दिए  ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासको लागि पाहुनालाई प्रधान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । चिन सरकारले भ्रमणबर्षको घोषणा गरी आफ्ना नागरिकलाई जनसुकै देशमा घुम्न जान आह्वान गरेको भन्दै त्यसको भरपुर फाइला चितवनका पर्यटन व्यवसायीले लिने गरी तयारी गर्नुपर्ने उनको भनाई छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले हात्ती महोत्सवलाई विवादित बनाएर चितवनको पर्यटनलाई ध्वस्त पार्ने खेल सुरु भएको बताए ।

कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ र व्यवसायी हरिप्रसाद पाठकलाई सम्मान गरिएको छ । कार्यक्रममा महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताए ।

हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग वि.दु.वि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम हुने संघका महासचिव गुणराज श्रेष्ठले जानकारी दिए । विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।

संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, वडा नं ७ का वडाध्यक्ष सजना महतो, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणि थपलिया, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा लगाउतले मन्तव्य राखेका थिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो हात्ती महोत्सवको सहआयोजकमा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल छन्  ।

Previous articleपिठुवाका विद्यार्थीलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना
Next articleज्येष्ठ नागरिक दिवस: रत्ननगरमा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छोराबुहारी सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।