निराजन घिमिरे- चितवनको कालिका नगरपालिकामा रहेको कालिका नगर अस्पतालले सेवाग्राहीको जनविश्वास जित्दै गएको छ । अस्पतालले गुणस्तरीय सेवा दिन थालेपछि अस्पताल प्रति स्थानीयको जनविश्वास बढ्दै गएको हो । फलस्वरूप अस्पतालमा सेवाग्राहीहरुको चाप बढेको छ ।
वि.स २०७६ सालमा तत्कालिन जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल स्थापना गरिएको थियो । अस्पतालले पछिल्लो समय सेवाको गुणस्तरमा वृद्धि गरेको छ । आधुनिक मेसिन र दक्ष स्वास्थ्यकर्मीहरुका कारण सेवाको गुणस्तर वृद्धि गर्न सकिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।

कालिकावासीको जीवनरक्षा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नगरप्रमुख रेग्मीले पालिकाको साधनस्रोतको उच्चतम प्रयोग गरेर अस्पतालमा सेवाप्रवाह गरिएको बताए। आईतवार अस्पतालको अनुगमन गर्नेक्रममा उज्यालो नेपालकर्मी संग कुरा गर्दै मेयर रेग्मीले कालिकाबासीले उपचारका लागि भरतपुर र रत्ननगरका अस्पताल धाउन नपर्ने गरी विशेषज्ञ सेवा थप गर्दै लैजाने बताए ।
अस्पतालमा हाल डाक्टर र स्वास्थ्यकर्मी गरी ४० जना कर्मचारी कार्यरत छन् । अस्पतालले ओपिडी, आकस्मिक, प्रसूतिसेवा, सुरक्षित गर्भपतन, अत्याधुनिक ल्याब, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, रेबिज रोगविरूद्धको भ्याक्सिन, थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण सेवा दिँदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन जीवन खरेलले जानकारी दिए ।

अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर खरेलसहित ६ जना मेडिकल अधिकृत तहका डाक्टर कार्यरत छन् भने फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरहरुले समेत सेवा दिँदै आएका छन् । अस्पतालमा फिजियोथेरापी र दन्त सेवा सुरुवात गर्नको लागी काम अगाडी बढाईएको नगर उपप्रमुख विमला तामाङले जानकारी दिइन् ।
अस्पतालमा केहिदिन अघिमात्रै अत्याधुनिक मेसिन सहितको ल्याब विस्तार गरिएको थियो । सो मेसिनको जडान पश्चात थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण सुरु भएको छ । त्यस्तै सेवाग्राहीहरुको चाप बढेसंगै भिड व्यवस्थापनको लागी टोकन सिस्टमको सुरुवात गरिएको छ । यसबाट टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य गर्न सहयोग पुगेको कालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए।

चौबिसै घन्टा सेवा प्रदान गर्दै आएको १५ शैयाको सो अस्पतालमा पाँचवटा शैया आकस्मिक कक्षमा रहेका छन्। उपचार गर्न आएका बिरामीलाई सकभर रिफर गर्न नपर्ने गरी स्वास्थ्य सेवा प्रदान गरिएको छ । उपचारमा आएका १० प्रतिशत मात्र बिरामी रिफर भएर अन्य अस्पतालमा जाने गरेको मेसु खरेलले जानकारी दिए ।
नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध सो अस्पताल प्रथम विन्दु रहनेगरी कालिका नगरपालिकाले झन्डै एकहजार घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाले निशुल्क बिमा सहितको स्वास्थ्यसेवा प्रदान गरेपछि अस्पतालमा सेवाग्राहीहरुको चाप बढेको हो ।




