
नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरेका छन्।
७२औं भारतीय सेना दिवसको अवसरमा आइतबार नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा सो धारणा व्यक्त गरिएको हो।
सोही कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए।
कुमारले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए।

प्रधान सेनापति थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताए।
कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतीय दूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरेका थिए।
