मुलुकभर वर्षा, आजबाट सुधार

काठमाडौं ।  पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले शनिबार मुलुकभर बिहानैदेखि अपराह्नसम्म वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु र स्थानीय वायुको संगमपछि शुक्रबार रातिदेखि नै मुलुकभर वर्षा भएको हो ।

मौसमविद् शान्ति कँडेलले भनिन्, ‘प्रि– मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ, प्रि–मनसुनको अवधिमा केही समयमा वर्षा हुने र केही समयमा नै घाम लाग्ने गर्दछ ।’

उनले वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने प्रकारको भएकाले शनिबार साँझबाट नै हटेको बताइन् । यस प्रणालीको प्रभाव शनिबार दिनभर जारी रहे पनि आइबार बिहानबाट क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ ।

आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकामा आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सबैभन्दा धेरै डडेल्धुरामा ५९ मिलिमिटर वर्षा भएको छ । यस्तै, शनिबार दीपायलमा ३३ मिलिमिटर, धनगढीमा ४० मिलिमिटर, वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै, नेपालगन्जमा २२ मिलिमिटर, जुम्लामा १४ मिलिमिटर, दाङमा २७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार पोखरामा २६ मिलिमिटर, भैरहवामा ३८ मिलिमिटर, सिमरामा १० मिलिमिटर, ओखलढुंगामा दुई मिलिमिटर र विराटनगरमा चार मिलिमिटर वर्षा भयो ।
आइतबार र सोमबार पनि अपराह्नपछि मनसुन बदली भई मुलुकका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान र दिउँसोसम्म खुला भएको आकाशमा एक्कासि चट्याङ र हावाहुरीको साथै असिनासहित वर्षाको सम्भावना रहेको छ ।

प्रि–मनसुनको समयमा हुने मनसुनी गतिविधिले एक्कासि परिवर्तन भई विकराल रूपसमेत लिन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले यस्तो परिस्थिति आउन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध छ ।

यस वर्षको प्रि–मनसुन सुरु भइसकेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन अवधिमा दिउँसो घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समीर श्रेष्ठले बताए । ‘जाडो महिना सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन सुरु भएको हो,’ उनले भने ।

तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसमविद्का अनुसार अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।

The post मुलुकभर वर्षा, आजबाट सुधार appeared first on Rajdhani Daily News.

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैँ

Previous articleभौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद
Next articleजिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।