मुलुकभर वर्षा, आजबाट सुधार

0
70

काठमाडौं ।  पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले शनिबार मुलुकभर बिहानैदेखि अपराह्नसम्म वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु र स्थानीय वायुको संगमपछि शुक्रबार रातिदेखि नै मुलुकभर वर्षा भएको हो ।

मौसमविद् शान्ति कँडेलले भनिन्, ‘प्रि– मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ, प्रि–मनसुनको अवधिमा केही समयमा वर्षा हुने र केही समयमा नै घाम लाग्ने गर्दछ ।’

उनले वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने प्रकारको भएकाले शनिबार साँझबाट नै हटेको बताइन् । यस प्रणालीको प्रभाव शनिबार दिनभर जारी रहे पनि आइबार बिहानबाट क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ ।

आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकामा आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सबैभन्दा धेरै डडेल्धुरामा ५९ मिलिमिटर वर्षा भएको छ । यस्तै, शनिबार दीपायलमा ३३ मिलिमिटर, धनगढीमा ४० मिलिमिटर, वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै, नेपालगन्जमा २२ मिलिमिटर, जुम्लामा १४ मिलिमिटर, दाङमा २७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार पोखरामा २६ मिलिमिटर, भैरहवामा ३८ मिलिमिटर, सिमरामा १० मिलिमिटर, ओखलढुंगामा दुई मिलिमिटर र विराटनगरमा चार मिलिमिटर वर्षा भयो ।
आइतबार र सोमबार पनि अपराह्नपछि मनसुन बदली भई मुलुकका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान र दिउँसोसम्म खुला भएको आकाशमा एक्कासि चट्याङ र हावाहुरीको साथै असिनासहित वर्षाको सम्भावना रहेको छ ।

प्रि–मनसुनको समयमा हुने मनसुनी गतिविधिले एक्कासि परिवर्तन भई विकराल रूपसमेत लिन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले यस्तो परिस्थिति आउन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध छ ।

यस वर्षको प्रि–मनसुन सुरु भइसकेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन अवधिमा दिउँसो घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समीर श्रेष्ठले बताए । ‘जाडो महिना सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन सुरु भएको हो,’ उनले भने ।

तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसमविद्का अनुसार अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।

The post मुलुकभर वर्षा, आजबाट सुधार appeared first on Rajdhani Daily News.

वैदेशिक अध्ययनको सारथी सक्सेस एजुकेसनल; ५०% छुटको समेत घोषणा

Previous articleभौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद
Next articleचीनमा क्वारेन्टाइन गरिएको होटल भत्किँदा ४ जनाको मृत्यु, २९ वेपत्ता