ब्याडमिन्टनमा प्रिन्सको छलाङ : बने विश्वकै सातौँ उत्कृष्ट खेलाडी

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरियतामा छलाङ मारेका छन्। ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन्।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्।

यसअघिको वरियतामा प्रिन्स १०औँ स्थानमा थिए। प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो।

हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेसनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनको वरियतामा उल्लेख्य सुधार आएको हो। प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अंक जोडेका छन्। उनले हालै सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए। डच जुनियर इन्टरनेसनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार व्योहोरेका थिए।

यसअघि महासंघले गत पुस अन्तिम साता निकालेको विश्व वरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मंसिरमा ३२औँ स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन्।

दार्चुला सदरमुकाम खलंगा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छन्। हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आवद्ध छैनन्। प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ।

विश्व जुनियरतर्फको वरियताको शीर्षस्थानमा फ्रान्सका क्रिस्टो पोपोभ, दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेशियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौ र फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा छन्। रासस

थप ऊर्जा निर्यात गर्न नेपालले स्वीकृति पायो

Previous articleबिरामी भएका एमबाप्पेमा कोरोना परीक्षण, च्याम्पियन्स लिग खेल्ने नखेल्ने द्विविधा
Next articleच्याम्पियन्स लिगबाट साविक उपविजेता टोटनह्याम बाहिरियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।