सरकारले भदौ १ देखि हवाइ उडान खुला गर्ने निर्णय गरेपछि सिमित एयरलाइन्सले मात्र उडान सुरु गर्ने इच्छा देखाएका छन्। उडान सुरु गर्ने निर्णयपछि तोकिएको प्रोटोकल पूरा गरी उडान गर्न इच्छुक एयरलाइन्सलाई सम्पर्क गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि अहिलेसम्म १२ एयरलाइन्सले आवेदन दिएका छन्। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार १८ गन्तव्यमा उडान गर्नका लागि १२ एयरलाइन्सले अहिलेसम्म जानकारी गराएका छन्।

यसमा टर्किस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौं हप्तामा १ उडान, सलाम एयरले ओमनको मस्कटबाट काठमाडौं हप्तामा ७ उडान, भारतको इन्डिगोले नयाँ दिल्लीबाट काठमाडौं हप्तामा ७ उडान, चाइना साउदर्नले ग्वाङजाउबाट काठमाडौं हप्तामा १ उडान,एयर चाइनाले छेन्दुबाट काठमाडौं हप्तामा १ उडान, जजिरा एयरवेजले कुवेतबाट हप्तामा २ उडान गर्ने जनाईएको छ!

फ्लाइदुबइले दुबईबाट हप्तामा ७ उडान हिमालय एयरलाइन्सले छोङचिङमा हप्तामा १, दोहामा ५, आबुदाबीमा ४, सारजाहमा ७ र क्वालालम्पुरमा ४ उडान गर्ने जानकारी प्राधिकरणलाई गराएको छ। त्यस्तै नेपाल एयरलाइन्सले नयाँ दिल्ली हप्तामा १४, बैंग्लोर ३, मुम्बइ ७, ग्वाङजाउ ३, दुबइ ७, दोहा ७ क्वालालम्पुर ७, नारिता ३, बैंकक ३ र हङकङमा ३ उडान गर्ने जानकारी गराएको छ।

मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट हप्तामा ५ र मालिन्दो एयरले १४ उडान गर्ने योजना प्राधिकरणमा पेश गरेको छ। त्यस्तै एयर अरेबियाले आबुदाबीबाट हप्तामा ७ र सारजाहबाट २८ उडान गर्ने जानकारी गराएको छ।


