साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यसरी बाँचेर फर्के

घरको आर्थिक अवस्था राम्रो बनाउँला, जग्गाजमिन जोडौँला भन्ने सपना साँचेर साहुबाट एक लाख ४० हजार ऋण लिई धनुषाका उमेश यादव साउदी अरब उडेका थिए।

देश छोड्दै गर्दा उनको उमेर २५ वर्षको थियो भने उनकी श्रीमती १७ दिनकी सुत्केरी थिइन्।

तीन वर्षका लागि पाइप जडानको काम गर्न उनी सन् २००६ मा साउदी अरब पुगेका थिए।

कम्पनीमा काम थालेको एक महिना १२ दिनमै उनको जीवनमा अकल्पनीय दुर्घटना निम्तियो। ‘कम्पनीमै काम गरिरहेका बेला म हातमा पाइप बोकेर सिँढी ओर्लिरहेका थिएँ। सिँढीबाट माथितिर चढिरहेका पाकिस्तानी सहकर्मी मोहम्मद लतिफ वसिरको नाकमा मैले बोकेको पाइप ठोक्कियो र चोट लाग्न पुग्यो,’ उमेश सम्झिन्छन्, ‘रगत पनि आयो। लगत्तै रिसाएर वसिरले ममाथि मुक्का बजार्न थाले। हातमा फलामे पाइप समातेको थिएँ मैले। वसिरलाई रोक्न नसकेपछि मैले पाइपले उनको टाउकोमा हिर्काएँ।’

टाउकोमा चोट लागेका ती पाकिस्तानीलाई अस्पताल भर्ना गरियो। १५ दिनपछि उनको अस्पतालमै मृत्यु भयो। कम्पनीले समेत मृत्युको कारण उमेश नै भएको ठहर गर्दै प्रहरीलाई रिपोर्ट बुझायो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्रियो र अदालतमा मुद्दा चलायो। साउदीको कानुनअनुसार हत्याको सजायस्वरुप उनले मृत्युदण्ड पाउने निश्चित थियो।

अर्कातिर, कानुनअनुसार पीडित परिवारको माफी दिए र ब्लडमनी तिर्न सके उनी मृत्युदण्डबाट बच्न पनि सक्थे। त्यही झिनो आशामा नेपाली दूतावासको सहारामा उमेशले वसिरका परिवारसँग सम्पर्क गरे। आफ्नो परिवारको सदस्यको हत्या गरेको भन्दै सुरुमा वसिरको परिवारले उनीसँग कुरा गर्न मानेन। तर, पछि उमेशले साउदीमै काम गर्ने अर्का पाकिस्तानी साथीलाई फोन गर्न लगाई माफीनामा मिलाए। तर, जब ब्लडमनीको कुरा आयो, तब, उमेशले बाँच्ने आशा नै त्यागिदिए।

‘उनीहरुले ४५ लाख मागेका थिए। त्यत्रो पैसा म कहाँबाट तिर्न सक्नु?’ बुधबारमात्रै साढे १३ वर्षको जेल सजाय काटेर नेपाल फर्केका उमेशले आफ्नो कहानी सुनाए, ‘साउदी जाँदा त ऋण काढेको थिएँ। मेरो त बाँच्ने आशै मर्‍यो।’

मुद्दा अदालतमै थियो। सुरुमा परिवारलाई चिन्ता हुन्छ भनेर उमेशले घरमा केही भनेका थिएनन्। तर विस्तारै सबैथोक बताए। ऋण काढेको पैसा जग्गा बेचेर तिरिदिन भने। ‘के कुरा गर्ने, कहाँबाट कुरा गर्ने निकै गाह्रो हुन्थ्यो। कुरा गरेपछि चिन्ता हुन्छ भनेर म निकै कम कुरा गर्थेँ,’ उनले सुनाए।

जेलभित्रका दिन कम्ता पीडादायी थिएनन्। ‘खिचडीजस्तै देखिने नुन र मसलाबिनाको खोले खान दिइन्थ्यो। चार जना सुत्नलाई एउटा खाट दिइएको थियो। जसमा पालैपालो सुत्नुपर्थ्यो,’ उनले निधारभरि मच्छरलेका टोकेर बनेका काला थेग्ला मुसार्दै उनले भने।

614A6541.jpg

मनकारी सरोज, जो झुठो समाचार पढेर उमेश खोजी गर्न थाले
सामाजिक अभियानमा सक्रिय सरोज रायले २०१८ को फेब्रुअरीमा जनकपुरको स्थानीय पत्रिकामा पहिलोपटक उमेशको समाचार पढेका थिए। समाचारमा ७० लाख ब्लड मनी नतिरे उमेशको तीन दिनमा घाँटी काटेर मृत्युदण्ड दिइने लेखिएको थियो।

एक नेपालीको घाँटी काटिने कुराले सरोज झस्किए। उमेशबारे बुझ्न गुगल गर्ने क्रममा उनले २०१२ मा साउदीका लागि तत्कालीन नेपाली राजदूत उदयराज पाण्डेको भनाइसहितको समाचार फेला पारे। उदयराजको भनाइ उधृत गर्दै लेखिएको थियो, ‘पाकिस्तानी परिवारले उमेशलाई माफीनामा दिइसकेका छन्।’

माफी दिइसकेको भए स्थानीय पत्रिकाले तीन दिनपछि मृत्युदण्डको सजाय दिने भनेर कसरी लेख्यो? सरोज यसबारे रुची लिन थाले।

विस्तृत कुरा बुझ्न सरोजले तत्कालीन राजदूत पाण्डेलाई नै काठमाडौं आएर भेटे। ‘स्थानीय पत्रिकामा आएको त्यो समाचार सत्य होइन। मृतक पाकिस्तानी परिवारकहाँ हामी पुगेका थियौं। उहाँ(उमेश र पाकिस्तानी)हरुको बीचमा ब्लड मनीका विषयमा कुरा नमिलेपछि हामी पछि हट्यौँ,’ पाण्डेले उनलाई भनेका थिए। त्यसपछिको विवरण पाण्डेलाई थाहा थिएन।

उमेशका बारेमा थप जानकारी लिन सरोज परराष्ट्र मन्त्रालय पुगे। तर, चित्तबुझ्दो जवाफ आएन। त्यसपछि उनले सीधै साउदी दूतावासमा सम्पर्क गरे। दूतावासले उमेशलाई बचाउन हरसम्भव प्रयास गरेको, राजासँग समेत यसबारे छलफल गरेको बतायो। तर, पछिल्लो अवस्था के छ, जानकारी दिएन।

त्यसपछि उमेशको मुद्दामा के कस्ता कानुनी व्यवस्था छन् भनेर सरोजले जानकारी लिन थाले। उनलाई परिवारले दिने माफीनामा र ब्लडमनीको व्यवस्थाबारे थाहा भयो।

यसबीच सरोजको उमेश र उनको परिवारसँग पनि कुराकानी पनि भइरहेको थियो। परिवारकै माध्यमबाट उमेशसँग फोनमा कुरा हुन्थ्यो।

‘पहिलोपटक उमेशसँग कुराकानी भएपछि उनलाई मृत्युदण्डको सजाय दिने भन्ने कुरा उठेकै थिएन। मैले स्थानीय पत्रिकामा पढेको समाचार झुठो निस्कियो। ७० लाख ब्लड मनीको कुरा पनि झुठो थियो। त्यस बेलासम्म ११ वर्ष जेल र ११ सयपटक कोरा हान्ने र देश निकाला गर्ने सजाएमात्रै उमेशलाई सुनाइएको थियो। साउदी जेलमा उमेशले त्यही भुक्तान गरिरहेका थिए। यदि ब्लडमनी र माफीको कागज ल्याउन नसकेँ उनलाई ढिलोचाडोँ मृत्युदण्ड हुने निश्चित थियो,’ सरोजले सुनाए।

पाकिस्तानमा मृतकका परिवारलाई भेटर ब्लडमनीमा मनाउन सकिए उमेशलाई बचाउन सकिने सरोजलाई आशा जाग्यो। र, उनले ‘उमेश जोगाउ अभियान’ सुरु गरे।

84068760_1031463867230391_1193475934435409920_n.jpg
पाकिस्तानमा मृतक वसिरको परिवारसँग सरोज

त्यही अभियानका लागि पाकिस्तान जान लागेको भनेपछि उमेशलाई सुरुमा पाकिस्तानको दूतावासले भिसा नै दिएन। उमेश बचाउ अभियानमा जान लागेको पत्र सरकारी निकायबाट लिएर आउन भनियो। सरोजले परराष्ट्र मन्त्रालयमा कुराकानी गरेर पत्र बनाए। त्यसपछि मात्र उनले भिसा पाए।

पाकिस्तानमा नेपाली दूतावासले उनलाई एक जना सहयोगी दियो। ती सहयोगी र स्थानीय वकिलको सहायतामा सरोज फैसलावादमा रहेको मृतक वसिरको घरमा पुगे।

वसिरका कुनै सन्तान रहेनछन्। उनकी श्रीमतीको पनि अर्कैसँग बिहे भइसकेको रहेछ। परिवारका ६ दाजुभाइ रहेछन्। तीमध्ये वसिरको उमेशसँगको झगडामा मृत्यु भएको थियो।

‘सुरुमा परिवारले मलाई उमेशकै आफन्त सम्झेर तिमीहरुले हाम्रो भाइ मार्यौ भनेर आक्रोश पोखे। तर, मैले आफू अभियान्तामात्रै भएको बताएँ। उनीहरुसँग सम्पूर्ण नेपालीका तर्फबाट माफी मागेँ। त्यसपछि ब्लडमनीको कुरा अघि बढ्यो,’ उनले भने।

यसरी जुट्यो १५ दिनमा ४४ लाख
सुरुमा वसिरको परिवारले ७०–८० लाख मागेको थियो। तर, सरोजले उमेशको परिवार निकै गरिब रहेको र आफूहरुले अभियानमार्फत पैसा उठाउन लागेको उनले बताए। बार्गेनिङ हुँदै गयो। साथमा रहेका वकिलले पनि पाकिस्तानमा ३० लाखकै हाराहारीमा ब्लडमनीको व्यवस्था रहेको कानुनी जानकारी उनीहरुलाई दिए। अन्त्यमा वसिरको परिवार ३० लाख रुपैयाँ लिन सहमत भयो।

सरोजले ४५ दिनभित्र ३० लाख रुपैयाँ दिने र परिवारले ब्लडमनी बुझेर माफी दिएको कागज बनाइदिने सहमति भयो। उनीहरुलाई विश्वासमा लिन सहमतिबाट पछि हटे अन्तर्राष्ट्रिय कानुन लाग्ने सर्त पनि राखियो।

82777562_178196520084694_2063072014326824960_n.jpg
परराष्ट मन्त्रालयमार्फत पाकिस्तानस्थित नेपाली राजदूतावासलाई ३० लाख रुपैयाँ बुझाउँदै सरोज

सरोजले ४५ दिनमा ३० लाख रुपैयाँ जुटाउने आँट कसरी गरे त? ‘मैले ब्लडमनीका ३० लाख दान संकलन गरौं भन्ने अभियान पाकिस्तानबाटै सामाजिक सञ्जालमा लाइभ गरेर सुरु गरेँ। पाकिस्तानी परिवारले ४५ दिनको समय दिएपनि मैले फटाफट सहयोग उठाउने उदेश्यले १५ दिनको समयमात्रै भएको जनाएँ,’ उनले भने।

त्यहीबीच सरोजले उमेशलाई पनि साउदीबाट भिडियो बनाएर सहयोग आह्वान गर्न भने। उमेशले पनि लुकिछिपी दुई पटक सहयोगको अपीलसहितको भिडियो सार्वजनिक गरे।

‘सरोजले पाकिस्तान नै पुगेर पहल गरेपछि बाँच्ने आशा फर्कियो,’ उमेश सम्झन्छन्, ‘म पनि परिवारसँग रमाउन चाहान्छु। मेरा पनि दुई बालबच्चा छन्। सबैले सहयोग गरेर ब्लडमनी तिर्न सकियो भने यहाँबाट निस्कन्छु भन्ने अपिलसहितको भिडियो सार्वजनिक गरेँ। धेरैले लाइभ हेरेका थिए।’

उमेशको भावुक भिडियो र सरोजले पाकिस्तान पुगेर गरेको पहलले पैसा उठ्ने माहौल बन्यो। देश–विदेशबाट दाताहरुले १५ दिनभित्र ४४ लाख जम्मा गरिदिए।

‘सहयोगका लागि यति फोन आउथेँ कि म त्यो अवधिमा राम्ररी निदाउन पनि सकिनँ,’ सरोज भन्छन्, ‘नेपालमा रात हुँदा अमेरिका, अष्ट्रेलियामा दिन हुन्थ्यो। त्यतिबेला उताबाट तरन्तर फोन आउँथे। उनीहरुलाई घटना अपटेडको गराउन र सहयोगको प्रक्रिया बताउँदैमा रात बित्थ्यो।’

मृत्युदण्डको आदेश
सरोजले पाकिस्तानी परिवारलाई दिने ३० लाख रुपैयाँ नेपालको परराष्ट्रमन्त्रालय मार्फत पाकिस्तानमा रहेको नेपाली दूतावासमा पठाए।

त्यहीबीच अर्को खबर आयो। सन् २०१८ को मे १५ का दिन उमेशलाई मृत्युदण्ड दिइने भन्दै साउदीको अदालतले घोषणा गर्‍यो। नेपाली दूतावासले पनि त्यही कुरा सम्प्रेषित गर्दै विज्ञप्ति जारी गर्‍यो।

614A6629.jpg
उमेश र सरोज

उमेश बचाउने अभियानमा लागेका सरोजका लागि यो एकदमै निराशाजनक समाचार थियो। त्यसलाई विस्तृतमा हेर्दा सरोजले आशाको किरण भेट्टाए। अदालतले पीडित परिवारबाट आममाफी नआएको र ब्लडमनी पनि नतिरेको भन्दै उमेशलाई सजाय सुनाएको थियो। त्यसमा उमेशलाई एक महिनाको अपिलको समय समेत दिइएको थियो।

सरोजले अहिलेसम्म गरेका सम्पूर्ण कामका कागजात अदालतमा नपुगेका कारण त्यसो भएको हुनसक्ने ठाने र साउदी जान कस्सिए। मे १४ अर्थात् मृत्युदण्ड दिने घोषणा भएको भन्दा अघिल्लो दिन सरोज साउदी पुगे। त्यहाँ दूतावासकै सहयोगमा उसैको गाडी लिएर ५ घण्टाको यात्रापछि उमेशको मुद्दामा सुनुवाइ गरिरहेको जुबेलस्थित अदालत पुगे।

‘जुबेल पुग्दा दिनको २ बजिसकेकाले न्यायाधीशसँग भेट हुन पाएन,’ सरोज भन्छन्, ‘मृत्युदण्ड दिने दिन (मे १५) मै हामीले न्यायाधीशलाई भेट्यौं। मैले पाकिस्तानी परिवारसँग गरेको कुराकानीको भिडियो उहाँलाई दिएँ। सहमतिको सबै कुरा देखाएँ। त्यही सहमति भएको कागज नपुगेकै कारण तिनै न्यायाधीशले उमेशलाई मृत्युदण्डको फैसला सुनाएका थिए। सबैकुरा हेरेपछि कागजी प्रक्रिया पूरा गर्न भन्दै न्यायाधीशले त्यसदिन तोकिएको मृत्युदण्ड रोकिदिए।’

त्यसदिन न्यायाधीशसँग भएको ४५ मिनेट लामो अन्तक्र्रियाले उमेशलाई मृत्युदण्डबाट बचाउन ठूलो भूमिका खेलेको सरोज मान्छन्। न्यायाधीशलाई त्यसबेला कन्भिन्स गराउन सकिएकोमा सरोजको आशा बढेको थियो। त्यही कुरा सुनाउन सरोज पहिलोपटक उमेशलाई प्रत्यक्ष भेट्न जेल गए। आफू आफन्त भएको र उमेशलाई भेट्न आएको बताए। त्यसबेला जेलरले ‘तिमीहरुले १२ वर्षपछि फुर्सद पायौ?’ भनेको वाक्यले अहिलेपनि सरोजलाई बिझाइरहन्छ।

अनि टर्‍यो मृत्युदण्ड
सरोजले न्यायाधीशलाई दिएको भिडियो र कागजातका आधारमा २०१९ को फेब्रुअरी १० मा अदालतले मृत्युदण्ड माफी भएको र पुरानै (११ वर्ष कैद र ११ सय कोर्रा) फैसला कार्यान्वयन गर्ने फैसला सुनायो। साथमा अदालतले सम्पूर्ण कागजी प्रक्रिया पनि पूरा गर्न भन्यो।

कागजी प्रक्रियाहरु पूरा गर्न सरोज पुनः पाकिस्तान उडे। पाकिस्तानी परिवारलाई दिने ३० लाख रकम यसअघि नै परराष्ट्रबाट पाकिस्तानको दूतावासमा पठाइसकिएको थियो। वकिलसहित उक्त रकम लिएर पाकिस्तानी परिवारको घर गएका सरोजले पैसा बुझाए र माफीपत्र बनाए।

साउदी अदालतले पैसा पाएको व्यक्ति मृतक वसिरकै परिवारका हुन् भनेर पुष्टि गर्न सरकारी कागज चाह्यो। रकम पाएका व्यक्तिहरु मृतककै आफन्त हुन् भन्ने जाँझबुझमा फैसलावादको स्थानीय अदालतले ४५ दिन लगायो। अन्तिममा गत डिसेम्बरमा साउदी अदालतले मागेका माफी पत्र र ब्लडमनी बुझेको पत्र सरोजको हातमा आइपुग्यो।

614A6616.jpg

लगत्तै उनले परराष्ट्र मन्त्रालय हुँदै सबै कागजात साउदी पठाए। त्यसकै आधारमा मंगलबार उमेश जेलबाट छुटे। प्रहरीले उनलाई विमानस्थल पुर्‍याइदियो र हिमालय एयरलाइन्स चढेर उमेश बुधबार बिहान साढे १३ वर्षपछि जन्मभूमि ओर्लिए।

‘सरोजले पहल गरेदेखि नै बाँचेर घर फर्कन पाउने आशा पलाएको थियो,’ नेपाल ओर्लिएको केही घण्टामै नेपालखबरसँग उमेशले भने, ‘साउदी विमानस्थलमा पुलिसले पुर्‍याइदिएपछि मन ढुक्क भयो।’
‘अब परिवार, मम्मी, दाजुभाइको साथमा हुन्छु भन्ने लाग्यो,’ भावुक मुद्रामा उनले थपे, ‘मलाई बचाउन जहाँजहाँबाट जजसले सहयोग गर्नुभयो, सबैप्रति मेहरबान छु।’

घर पुगेपछि व्यवसाय गर्ने उनको सोच छ। ‘एकपटक विदेश गएर ठक्कर खाइसकेँ। घर, जमिन जोड्छु भन्ने सोचेको थिएँ। तर, अहिले हातमा के आयो र? अब यतै केही व्यवसाय गरेर बस्छु,’ उनले भने।

उमेशलाई मृत्युदण्डबाट जोगाएर नेपाल ल्याउन सफल सरोज विमानस्थलमा उमेशका गतिविधि नियालिरहेका थिए। ‘१४ वर्षपछि आफ्नो भूमिमा फर्किन पाउँदा उमेशका आँखामा जुन खुसी देखेँ, म त्यसैमा सन्तुष्ट छु,’ सरोजले भने।

जेलका साथीलाई छुटाउने चाहना
साउदीको जेलमा उमेशले १३ वर्ष विवेक दाहालसँग बिताए। दाहाल उनीभन्दा ८ महिनाअघि एक नेपालीको हत्यामा जेल परेका हुन्।

तर, विवेकको भनाइ उधृत गर्दै त्यो दुर्घटनावश भएको सरोज बताउँछन्। विवेक कतारमा काम गर्थे। मृतक व्यक्तिले ड्राइभिङको काम भनेर उनलाई साउदी बोलाएका थिए। तर, साउदीमा विवेकलाई ऊँट चराउने काममा लगाइयो। त्यहाँ ती व्यक्ति र एक जना सुडानीले जहिले पनि विवेकलाई पेल्थे। एक दिन झगडाका क्रममा ती नेपालीको मृत्यु भयो। विवेकले पनि आफ्नै हातबाट मृत्यु भएको स्वीकारेका छन्।

614A6625.jpg

मृतकका आफन्तले सरोजलाई अख्तियारनामा दिएर विवेकलाई छुटाउन भनिसकेका छन्। ‘विवेकका लागि अन्तिम प्रयास गर्दैछु। परराष्ट्र मन्त्रालयबाट साउदी दूतावासलाई मलाई भिसा पठाइदिनु भनेर पत्र पनि गइसकेको छ। तर, भिसा आइसकेको छैन। म कुरिरहेको छु,’ सरोजले भने।

उमेश पनि विवेक छुटेको हेर्न चाहन्छन्। त्यसका लागि आफूले सहयोग गर्ने उनको भनाइ छ।

‘विवेकका लागि पहल गरिदिन सबैसँग अनुरोध गर्छु। जहाँ जानुपर्छ, म पनि जान्छु। ऊ मभन्दा ८ महिनाअघिदेखि जेलमा छ। आवश्यक कागजात नपुगेर समस्या छ। कागजात पुगेपछि ऊ पनि दुई महिनामा आइहाल्छ। सहयोगका लागि म सबैलाई आह्वान गर्छु,’ उमेशले आफ्ना जेलका साथीबारे चिन्ता व्यक्त गरे।

‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

Previous article७ अंकले घट्याे सेयर
Next articleकोरोना भाइरसका कारण वुहानमा आउजाउ नगर्न चीनको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।