भद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न

निराजन घिमिरे, मङ्सिर २८ चितवन- चितवन जिल्लाको रत्ननगर नगरपालिका १६ मा रहेको भद्रकाली मन्दिर प्रांगणमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न भएको छ! प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गरिन्छ। यसै क्रममा रत्ननगरको भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न भएको हो!

देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि स्थानीय स्तरमा रहेको भद्रकाली मन्दिरले महत्व पाएको हो! आफ्नो घरै छेउमा पवित्र धार्मिक स्थल भए पनि अघिल्ला वर्षहरुमा स्थानीयहरू सतबिज छर्नको लागी देवघाट नै पुग्ने गरेका थिए ! केहिवर्ष अघि भद्रकाली मन्दिर प्राङ्गणमा मृत्युन्जय महादेवको मन्दिर पनि स्थापना गरिएको छ!

तिर्थालु एवम् भक्तजनहरुको आगमन संगै कोरोना भाइरसको जोखिम बढ्ने भएपछी भद्रकाली युवा क्लबले मेला व्यवस्थापनको जिम्मेवारी वहन गरेको थियो! क्लबले मन्दिर प्राङ्गणमा प्रवेश गर्नेलाई नि:शुल्क मास्क र सेनिटाईजर वितरण गरेको थियो भने क्लबका स्वयंसेवकहरुले भक्तजनहरुलाई भौतिक दुरी कायम गरेर बस्न स्थानको व्यवस्थापन गरेका थिए! भक्तजनहरुको सहजताको लागी सातकन्या सामुदायिक वन उपभोक्ता समितिले १५० केजी दाउरा उपलब्ध गराएको थियो!

त्यस्तै भद्रकाली भजन समुह तथा भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाले चियापान कार्यक्रमको लागी क्रमश १० र ८ लिटर दुध उपलब्ध गराएका थिए ! मेला परिसरमा रहेको क्लबको स्टलमा विभिन्न व्यक्तिहरुले आफ्नो पितृहरुको नाममा स्वेच्छिक दान समेत गरेका थिए! आफुहरुले पहिलोपटक व्यवस्थापनको जिम्मेवारी बहन गरेका कारण सोचेजति काम गर्न नसकिएको क्लबका सचिव कृष्ण लामिछानेले बताए ! स्थानीय युवाहरुको सक्रियतामा भर्खरैमात्र भद्रकाली युवा क्लबको गठन गरिएको हो!



