हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा

ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) ले ललितपुरको हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा लिएको छ।

आवासीय भवनसहित ४ रोपनी जग्गामा फैलिएको एकेडेमीको शुक्रबारदेखि सञ्चालनमा आएको हो। सन् २०१३ देखि सञ्चालनमा आएको जीएचसीएले शान्तिनगरस्थित एकेडेमीबाट प्रशिक्षण दिँदै आएको थियो। एकेडेमीले अब शान्तिनगर र हात्तीवन दुबैबाट प्रशिक्षण गराउने छ। हात्तीवन प्रमुख र शान्तिगर शाखाका रुपमा रहने छ।

१ करोड ५० लाख खर्चमा बनेको सो नयाँ एकेडेमी ४ रोपनी जग्गामा फैलिएको छ। २० जना आवासीय क्षमता रहेको एकेडेमीमा एकै पटक १ सय ५० जनाले प्रशिक्षण गर्न सक्ने छन्। नयाँ इन्डोरसहितको एकेडेमीमा सिनियर र जुनियर दुवैको लागि प्रशिक्षण दिइनेछ। एकेडेमीमा क्रिकेटसँगै फुटसल पनि सिकाइनेछ।

जीएचसीएले नेपाललाई ऐतिहासिक वान डे मान्यता दिलाउँदाका प्रशिक्षक जगत टमटालाई प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। प्रशिक्षक टमटाले एकेडेमीले आगामी दिनमा नेपाली क्रिकेट विकासमा टेवा पुग्ने बताए। खेलाडीको लागि सुरुवाती चरण निकै महत्वपूर्ण हुँदा जीएचसीए जस्ता एकेडेमीको महत्व निकै हुने बताए।

कार्यक्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्र्रािष्टय क्रिकेट रंगशालालाई १ लाख सहयोग गरेको छ। एकेडेमीका अध्यक्ष सुदीप शर्माले उद्धघाटन कार्यक्रममा फाउन्डेसनका सचिव पुरुषोत्तम हुमागाईलाई १ लाखको डमी चेक हस्तान्तरण गरे।

जीएचसीएका अध्यक्ष सुदीप शर्माले नेपाली क्रिकेटको ग्रास रुट बलियो बनाउँदै नेपाली क्रिकेटमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए।

सन् २०१३ देखि सञ्चालनमा आएको ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट नेपाली सिनियर टोलीका युवा ओपनर ईशान पाण्डे, यू १९ टोलीका स्पिनर सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश विष्ट, विवेक कुमार यादव, यू १६ का प्रशान्त सिंह, विशाल पटेल, दिपक बोहरा जस्ता खेलाडी उत्पादन गरिसकेको छ।

आमा समुहद्वारा शिव मन्दिर निर्माण

Previous articleकोरोना भाइरस प्रकोपः दलाई लामाले भेट्न छाडे आगन्तुक
Next articleरेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।