चितवन, माघ २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् ।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेता सिंहले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए ।
उनले भने, ‘मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ ।’
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भयो र जग्गा हुनेलाई कारवाही गर्न डरायो ।’
उनले तत्कालीन मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतीकै दोषी रहेको बताउँदै उनीहरुलाई पनि कारबाही गर्न कांग्रेसले माग गरिरहेको बताए ।
नेता सिंहले यसैका लागि कांग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनैतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए ।
फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेसले १४औँ महाधिवेशनका लागि तयारी सुरु गरेको बताए ।
महाधिबेशनको मिति तय भइसकेको अवस्थामा यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएर अघि बढेको उनले बताए । रासस
The post ललिता निवास प्रकरण : कांग्रेस नेता सिहं भन्छन्, ‘मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गा धनी पनि दोषी हुन्’ appeared first on Koshi Online.