Home Blog Page 140

जन्मथलोमा रु तीन करोड लगानीमा बाख्रा फार्म

बागलुङ- बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा रु तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहनुभएको छ ।

जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याउनुभएको हो ।

“पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो, तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच आयो”, खत्रीले भन्नुभयो, “अहिले सालो गुमानसिंह खड्काको व्यवस्थापनमा थप पाँच जना फार्ममा कार्यरत हुनुहुन्छ, मेरो मुख्य उद्देश्य गाउँमै रोजागरी सृजना गर्नु हा ।” उहाँका अनुसार बाख्राको आधुनिक खोरमा मात्रै रु डेढ करोड लगानी भएको छ भने खोरमा एक हजारभन्दा बढी बाख्रा खट्ने क्षमता छ ।

अहिले छ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक रु तीन लाख खर्च भइरहेको बताउनुभयो । हाल फार्ममा दुई सय बोका, पाठा र माउ बाख्रा छन् ।

एक वर्षभित्रै जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन गर्ने सोचअनुसार एक हजार बोका बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरिएको खत्रीको भनाइ छ । खत्रीको श्रीमतीसहित छोरा बुहारीसमेत जापानमा बस्दै आउनुभएको छ । खत्रीले नमूना र प्रविधियुक्त बाख्रापालन गर्न थालेको बताउँदै बाख्रा अध्ययन केन्द्रका रुपमा फार्मलाई विकास गर्ने गरी अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानबाट उद्यमी बन्नका लागि आधुनिक खोर, उन्नत जातको घाँस ३० बिघा जग्गामा लगाएको छु, आफ्नै मासु पसल खोल्ने योजना छ, अहिले फार्ममा लगानी थप भइरहेको छ, पाँच वर्ष आम्दानी नगरी फार्म विस्तारमै बिताउछु ।”

कोरोनाकालमा नेपाल फर्कदा गाउँमा आफ्नै केही गर्ने लक्ष्य र बाख्रापालनको सम्भावना देखेपछि लगानी गरेको उहाँको भनाइ छ । फार्ममा ९० प्रतिशत बोयर र १० प्रतिशत स्थानीय जातका बाख्रा छन् ।

“गाउँमा बाँझो जग्गा बढेको थियो, अहिले बाख्रा फार्म सञ्चालन गरेपछि हरियाली बढेको छ, गाउँबाट बसाइँसराइ गर्ने क्रमसमेत रोकिएको छ, बाख्रा फार्म हेर्न आउनेले गाउँ चलायमान भइरहेको छ”, खत्रीले भन्नुभयो ।

तीन वर्ष पहिला ३५ वटा बाख्राबाट सुरु गरेको बाख्रापलन व्यवसायलाई अहिले दुई सयमा पु¥याइएको र आगामी वर्ष छ सय बढी बाख्रापालन गर्ने उहाँको उद्देश्य छ ।

https://ujyaalonepalnews.com/archives/32891

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने प्रबन्ध गर्न पनि अनुरोध गर्नुभएको छ ।

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यस कठिन घडीमा उहाँले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिनुभएको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।

https://ujyaalonepalnews.com/archives/32890

जाजरकोट भूकम्प: बाँकेका अस्पतालहरुमा घाइतेहरुको उपचारका लागि १०५ वटा वेड तयार

बाँके- जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा अस्पतालहरु खाली गर्ने र नयाँ उपचार केन्द्र संचालनमा ल्याइएको छ।

बाँकेको भेरी अस्पतालमा भूकम्पबाट घाइते भएकाहरुको लागि उपचार गर्न छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ । भेरी अस्पतालमा ८० वटा बेड उपचारका लागि खाली गराइएको छ भने सैनिक अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ वटा बेड तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ८० जनाको म‌ृत्यु भएको छ । मृत्युहुने सबैजसो जाजरकोट र रुकुम पश्चिमका छन ।

भूमक्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका छन ।

क्षतिको विवरण आउने क्रम बाँकी छ ।।

https://ujyaalonepalnews.com/archives/32889

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ ।

भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा जानुभएको छ । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाउनुभएको छ ।

उहाँले घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिनुभएको छ । प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गर्नुभएको छ ।

सो भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन् । भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32888

जाजरकोट भूकम्प : राहत र उद्धारमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा भएको मानवीय  र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विपदको यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकार र सम्बन्धित सबैलाई अपिल पनि गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपत पौडेलले यो आग्रह गर्नुभएको हो ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी जाजरकोटमा ३७ जना र रुकुम पश्चिममा ३६ जना गरी ७३ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण आउने क्रम जारी छ ।।

https://ujyaalonepalnews.com/archives/32886

जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

जाजरकोट- जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । एक सय भन्दा बढी घाइते भएका छन् ।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाम्रा सम्वाददता अमरराज पुनले जानकारी दिएका छन् । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्लास्थित नेपाल टेलिभिजनका सम्वाददाताहरुले पनि मृत्यु र घाइते हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् ।

यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ । भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो ।

https://ujyaalonepalnews.com/archives/32885

भारतमा दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु

वीरेन्द्रनगर — भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका ५ जनाको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पश्चिम चौकुने गाउँपालिका–७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरु ५ वर्षीय मिलन, २ वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।

धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू सपरिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।

रतनको परिवार सबै एउटै बाइकमा सवार थिए । मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए ।

https://ujyaalonepalnews.com/archives/32882

प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल

काठमाडौं-   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भन्नु भएको छ, ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

भूकम्पमा परी जाजरकोटमा ३७ र रुकुममा ३६ गरी ७३ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पका कारण सयौँ मानिसहरु घाइते भएका छन । मृतक र घाइतेहरुको थप विवरण आउन बाँकी छ ।।

https://ujyaalonepalnews.com/archives/32881

भूकम्प अपडेट : जाजरकोटमा मात्र ३७ को मृत्यु, सयौँ घाइते

जाजरकोट-       गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।
उहाँका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ ।
भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ ।
भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।
जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताउनुभयो ।
जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उहाँको भनाइ छ ।
रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।।

https://ujyaalonepalnews.com/archives/32880

भूकम्प अपडेट: जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

कार्तिक १८, २०८०। रुकुम पश्चिम — जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए ।

साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।

https://ujyaalonepalnews.com/archives/32877