Home Blog Page 29

कालिकामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम

चितवन, साउन २२ – कालिका नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम गरिएको छ। लुमन्ती संस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा कालिका नगरपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का वडा स्तरीय विपद् व्यवस्थापन समिति, जोखिममा रहेका टोल विकास संस्था तथा प्रभावित समुदाय, वाल संजालकाका प्रतिनिधि र स्काउट विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख विनोद रेग्मीले विगतका वर्षहरूमा मनसुनजन्य विपदका कारण नगरपालिकाभित्र जनधनको ठूलो क्षति भएको उल्लेख गरे। “गत वर्ष मात्र बाढीका कारण तीन जनाले ज्यान गुमाउनु पर्‍यो,” मेयर रेग्मीले भने, “यस्ता क्षति दोहोरिन नदिनका लागि पूर्व तयारी अत्यन्त आवश्यक छ।”

कार्यक्रमको अध्यक्षता वन वातावरण तथा विपद व्यवस्थापन समिति सभापति तथा वडा नं. ३ का अध्यक्ष वीरेन्द्र तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन वन वातावरण शाखा प्रमुख राजेश कोइरालाले गरेका थिए।

कार्यक्रममा नगर उपप्रमुख बिमला तामाङ, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. १ का अध्यक्ष सन्तवीर स्याङदान, वडा नं. ४ का अध्यक्ष माकरमान श्रेष्ठ लगायत विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य मनसुनजन्य विपद् पूर्व तयारीका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायलाई सुसूचित गर्दै आवश्यक तयारीका कार्यहरू गर्न प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएका छन्।

एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार’ शान्ता अधिकारीलाई

चितवन, साउन २३– एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२५ ’ पत्रकार शान्ता अधिकारीलाई प्रदान गरेको छ ।

२२औं वार्षिकोत्सवको अवसरमा एक्सपर्टले २५ हजार १११ रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरेको हो । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारीले पत्रकार अधिकारीलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

पुस्कार ग्रहण गर्दै पत्रकार अधिकारीले यो पुरस्कारले पत्रकारितामा थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँले सम्मानका लागि एक्सपर्टलाई धन्यवाद दिँदै पत्रकारितामा थप क्रियाशिलता बढाउने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष आचार्यले शैक्षिक परामर्श संस्थाले पत्रकारहरुको योगदानलाई कदर गर्दै पुरस्कार स्थापना गर्नु सकरात्मक रहेको बताउनुभयो । उहाँले यस्ता सम्मानले पत्रकारहरुलाई थप जिम्मेवार बनाउने भन्दै क्रियाशिलता देखाउन पनि प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले पछिल्लो समय मिडिया क्षेत्र नै संकटमा पर्दै गइरहेको भन्दै पत्रकारहरु पनि जोखिमपूर्ण रहेको अवस्थामा रहेको बताउनुभयो ।

कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले शैक्षिक परामर्श क्षेत्रमा एक्सपर्टले सह्रानिय काम गरेको भन्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएकोमा धन्यवाद दिनुभयो । उहाँले कुनै पनि विद्यार्थी दुःख नपाउने वातावरण बनाउनमा सबै सजग हुनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न एक्सपर्टले पुरस्कार स्थापना गरेकोमा धन्यवाद दिनुभयो ।

एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले सबैको साथ र सहयोगबाट एक्सपर्ट यो स्थान आइपुगेको भन्दै सबैमा धन्यवाद दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई हौसला दिन नै पुरस्कार स्थापना गरिएको भन्दै पछिल्लो समय साहित्यीक क्षेत्रलाई पनि प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका संस्थापक अध्यक्ष शिवराज गिरी, एक्सपर्ट प्रेप चितवनका प्रिन्सिपल प्रचण्ड हमाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको आधारभूत तह उत्तीर्ण परीक्षा–२०८१ मा कक्षा ८ बाट प्रथम हुन सफल कविलास मावि, भरतपुर–२९ की कक्षा ९ अध्ययनरत विद्यार्थी सुजिता गुरुङलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै समुद्घाटन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रत्ननगर जुनियर जेसीजको २०औं स्थापना दिवस: दृष्टिविहीन विद्यार्थीलाई भोजन

रत्ननगर, चितवन — रत्ननगर जुनियर जेसीजले आफ्नो २० औं स्थापना दिवस मनाएको छ। सो अवसरमा जेसिसले झुवानीस्थित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीहरूलाई भोजन गराएर मनाएको हो।

संस्थाका अध्यक्ष विमर्श अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दृष्टिविहीन बालबालिकासँग समय बिताउँदै संस्थाले आफ्नो वार्षिकोत्सवलाई उदाहरणीय रूपमा समाजसेवामा समर्पित गरेको संस्थाका पूर्व अध्यक्ष सन्दर्भ खनालले जानकारी दिए।

कार्यक्रमको संयोजन बिराज अर्यालले गरेका थिए। कार्यक्रममा रत्ननगर वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथिको रूपमा सहभागी थिए।

साथै कार्यक्रममा रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्ल, विद्यालयका प्रधानाध्यापक नविन चन्द्र भट्टराई, रत्ननगर जेसीजका वर्तमान अध्यक्ष बाबुराम परियार, रत्ननगर जुनियर जेसीजका पूर्व अध्यक्ष सन्दर्भ खनाल, जुनियर जेसीज एरिया बीका संयोजक कपिल थापा, पर्सा खैरहनी जुनियर जेसीजका अध्यक्षसहित अन्य सदस्यहरू, झुवानी विद्यालयका शिक्षकहरू तथा दुबै जेसीज संस्थाका बोर्ड सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आइतबार सार्वजनिक विदा

रत्ननगर, २२ साउन । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाईजात्राको अवसरमा साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो निर्णय बागमती प्रदेश राजपत्रको खण्ड ८, सङ्ख्या ३२, भाग ३ मा चैत २१ गते प्रकाशित सूचनाको आधारमा गरिएको हो।

मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले हस्ताक्षर गरेको सूचनामा गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ। यो बिदाले बागमती प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन्।

गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने सांस्कृतिक पर्व हो, जसमा हास्य, व्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरू समावेश हुन्छन्।

रत्ननगर–१६ मा बृहत् तिज गीत प्रतियोगिता हुने

रत्ननगर, चितवन – रत्ननगर नगरपालिका वडा नं. १६ को आयोजनामा श्रावण ३१ गते शनिबार बृहत् तिज गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ। “सफा, सुन्दर र समृद्ध वडा, स्वस्थ जीवन आजको आवश्यकता” भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिने वडाले जानकारी दिएको छ।

वडा कार्यालय परिसरमा बिहान १०:०० बजेदेखि सुरु हुने प्रतियोगितामा वडाभित्रका सम्पूर्ण संघ संस्था, आमा समूह, टोल विकास संस्था लगायत विभिन्न समूहहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन वडा अध्यक्ष हेमराज थापाले सबै वडाबासीलाई सक्रिय सहभागिता र सहयोग गर्न आग्रह गरेका छन्।

कार्यक्रम वडाभित्र सांस्कृतिक सहभागिता बढाउने, तिज पर्वको सांगीतिक पक्षलाई प्रवर्द्धन गर्ने र सामाजिक एकता बलियो बनाउने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी जानकारी दिएका छन्।

कालिकाको उदयपुर पार्कमा वृक्षारोपण कार्यक्रम

चितवन, साउन १५ – कालिका नगरपालिकाको वडा नम्बर ७ मा रहेको उदयपुर पार्कमा वृक्षारोपण गरिएको छ। लक्ष्मी सनराइज बैंक, टाँडी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो।

उदयपुर सामुदायिक वन उपभोक्ता समितिले संरक्षण र विकास गर्दै आइरहेको सो पार्कमा बिहीबार आयोजित कार्यक्रममा ५५० भन्दा बढी विभिन्न प्रजातिका फूलफूलका विरुवा रोपिएको छ।

हरित भविष्य निर्माण र वातावरण संरक्षणको सन्देशसहित आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रममा लक्ष्मी सनराइज बैंक टाँडी शाखाका प्रमुख सन्तोष कँडेल र वनका अध्यक्ष शंकर लामाले संयुक्त रूपमा वृक्षारोपण गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।

सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै अध्यक्ष लामाले, ‘ बैंकको अग्रसरतामा अहिले रोपिएका बिरुवाले भविष्यमा पार्कको सौन्दर्यता र महत्व बढाउन भूमिका खेल्ने’ भन्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरे।

वृक्षारोपण कार्यक्रममा वन उपभोक्ता समिति सदस्यहरूका साथै बैंकका अन्य कर्मचारीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

आईजिपी थापा र मेयर रेग्मीबीच भेटवार्ता; कालिकामा ईन्पेक्टरसहितको इलाका प्रहरी कार्यालय स्थापनाको लागी छलफल

चितवन, साउन १४ — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र कालिका नगरपालिकाका मेयर विनोद रेग्मीबीच आज भरतपुरमा एक महत्त्वपूर्ण भेटवार्ता भएको छ।

भेटका क्रममा मेयर रेग्मीले कालिका नगरपालिकामा ईन्पेक्टरको दरबन्दीसहितको प्रहरी चौकी स्थापनाको विषयमा चासो राखेका थिए।

प्रतिक्रिया स्वरूप प्रहरी प्रमुख थापाले कालिका नगरपालिकामा छिट्टै ईन्पेक्टरसहितको इलाका प्रहरी कार्यालय स्थापना हुने कुरा बताएका छन्।

कालिका नगरपालिकामा शान्ति सुरक्षाको सुदृढीकरणका लागि लामो समयदेखि स्थानीय जनप्रतिनिधिहरूले यस्तो माग राख्दै आएका थिए।

भेटवार्ता पछि मेयर रेग्मीले विश्वास व्यक्त गर्दै भने, “यो पटक पक्कै काम हुन्छ भन्ने हाम्रो दृढ विश्वास छ।” उनले यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नगरपालिकाको तर्फबाट सम्पूर्ण सहकार्य हुने जानकारी दिएका छन् ।

प्रहरी कार्यालय स्थापनापछि कालिकामा सुरक्षा व्यवस्था थप मजबुत हुने, अपराध नियन्त्रणमा प्रभावकारी योगदान पुग्ने, र नागरिकको सुरक्षाप्रति विश्वास बढ्ने अपेक्षा गरिएको छ।

धादिङकी छोरी, चितवनकी शान — दिलिजा रुवाली ‘दि भ्वाईस अफ किड्स सिजन ४’ को चम्किलो तारा

चितवन, साउन १४ — धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–०३ मा जन्मिएकी र हाल चितवनको टाडीमा बसोबास गर्दै आएकी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘दि भ्वाईस अफ किड्स सिजन ४’मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल सम्मको यात्रामा पुगेकी छिन्।

सानै उमेरदेखि संगीतमा विशेष रुचि राख्ने दिलिजाले आफ्नो मोहक स्वर, सुमधुर गायन र आत्मविश्वासपूर्ण प्रस्तुतीमार्फत दर्शक र निर्णायक सबैको मन जितेकी छिन्। अन्तर्राष्ट्रिय स्तरको मंचमा यस्तो प्रभावशाली उपस्थिति दिनु नेपाली प्रतिभाको गौरवको विषय बनेको छ।

अहिले दिलिजा फाइनलको धेरै नजिक पुगेकी छिन्। अब उनको यो यात्रा सफल बनाउन देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूबाट निरन्तर भोटिङ समर्थन आवश्यक भएको छ। उनको प्रतिभा, मेहनत र सपना साकार पार्न हामी सबै एकजुट हुनुपर्ने समय आएको छ।

भोट कसरी गर्ने?
👉 मोबाइलमा Khalti App खोल्नुहोस्
👉 “Voting” सेसनमा जानुहोस्
👉 “The Voice of Kids” रोज्नुहोस्
👉 दिलिजा रुवालीको नाम वा फोटो देखिएपछि आवश्यक भोट छनोट गरी पठाउनुहोस्
🔁 दैनिक रूपमा पुनः भोट गर्न सकिने सुविधा रहेकोले हरेक दिनको साथ अत्यन्त महत्वपूर्ण हुन्छ।

दिलिजा अहिले केवल धादिङ वा चितवनकै होइनन् — सम्पूर्ण नेपालीको शान बनिसकेकी छिन्। उनको मधुर स्वर, गहिरो भावनात्मक अभिव्यक्ति र अटुट मेहनतले हजारौं नेपालीको मन छोएको छ।

अबको लक्ष्य — फाइनलमा पुर्‍याउने, ट्रफीसहित गौरवको शिखर चुमाउने।
उनको सफलतामा हामी सबैको सघन सहयोग अपरिहार्य छ।

बकुलहर रत्ननगर अस्पतालमा रेबिजविरुद्ध खोप सेवा सुरू

रत्ननगर, साउन १२ । बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन–एआरभी) सेवा सुरु भएको छ। रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई भ्याक्सिन हस्तान्तरण गरी शुक्रबार उक्त सेवाको शुभारम्भ गरे।

उद्घाटन समारोहमा नगरप्रमुख सापकोटाले लामो प्रयासपछि अस्पतालमा रेबिज भ्याक्सिन सेवा उपलब्ध गराउन सफल भएको बताए। “यो सेवाले रेबिजविरुद्धको खोपका लागि सेवाग्राहीहरूलाई सहजता प्रदान गर्नेछ,” उनले भने। उनले रत्ननगर नगरपालिकाले अस्पतालसँग स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहजीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले प्रादेशिक अस्पतालमा मेसिन, उपकरणलगायतका सेवासुविधा विस्तारका लागि बागमती प्रदेश सरकारको सहयोग अपरिहार्य रहेकोमा जोड दिए।

अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा सिटी स्क्यानको अभाव रहेको उल्लेख गर्दै रत्ननगर नगरपालिकासँग सहयोग र सहजीकरणको अपेक्षा गरे। कार्यक्रममा अस्पतालका सदस्य विश्वनाथ खनाल, जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत इन्द्रमणि भण्डारी, मेसु डा. मदन ज्ञवाली, रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी रञ्जन अवाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा डा. शशांककुमार सिंहले रेबिज रोगबारे प्रस्तुति दिँदै नेपालमा वार्षिक ५० हजार व्यक्तिले एन्टी रेबिज भ्याक्सिन लिने र करिब एक सय जनाले रेबिजका कारण ज्यान गुमाउने गरेको तथ्यांक प्रस्तुत गरे। उनले कुकुर, स्याल, फ्याउरो र न्याउरी मुसाको टोकाइबाट रेबिज सर्ने भए पनि नेपालमा मुसा र बाँदरको टोकाइबाट रेबिजको केस नभेटिएको जानकारी दिए। “रेबिज लागिसकेपछि उपचार सम्भव छैन, त्यसैले जनावरले टोकेपछि तुरुन्तै टोकेको दिन, तेस्रो दिन र सातौं दिन गरी तीन डोज एआरभी लगाउनुपर्छ,” उनले भने। डा. सिंहले एआरभी पूर्ण सुरक्षित र भरपर्दो रहेको तथा गर्भवती महिलाले समेत लगाउन सकिने बताए।

अस्पतालका प्रयोगशाला प्रमुख सुरज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा साउन १५ र १६ गते

चितवन, साउन १२– एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि इन्टरकलेज फुटसल प्रतियोगिता गरिने भएको छ । २२ औँ वार्षिकोत्सवको अवसरमा यही साउन १५ र १६ गते ‘एक्सपर्ट फुटसल फेस्टा सिजन ३ गर्न लागिएको हो ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा कक्षा १२ सम्मका विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् ।

जसका लागि साउन १३ गतेसम्म आवेदन दिनुपर्ने प्रतियोगिताका संयोजक एवं चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमै आवेदन दिने ३२ विद्यालयले सहभागिता जनाउन पाउने छन् ।
यसपटक प्रतियोगिता भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टस्मा हुनेछ ।

यो प्रतियोगिता नकआउटका आधारमा गरिने संयोजक ढकालले जानकारी दिनुभयो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभको फेसबुक र युट्युबाट हुनेछ । यसपटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरिएको छ । विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछ ।

सेमीफाइनल पुग्ने दुई टिमलाई ५÷५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ प्लेयर अफ दि टुर्नामेन्ट, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरको पुरस्कार प्रदान गरिनेछ । एक्सपर्टले अगष्ट ८ का दिन वार्षिकोत्सव मनाउँदै आइरहेको छ । साउन २३ गते हुने वार्षिकोत्सवको दिन विशेष कार्यक्रम आयोजना गरिने छ ।

वार्षिकोत्सवको अवसरमा फुटसलसंगै एक्सपर्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यसवर्ष पनि फुटसलसंगै मुख्य कार्यक्रम शैक्षिक पत्रकारिता पुरस्कार वितरण, एउटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण, देवघाटमा रहेको वृद्धाश्रममा आश्रितहरुलाई खाना खुवाउनेलगायतका विविध कार्यक्रम आयोजना गर्दैछ ।