Home Blog Page 28

न्यु क्यापिटल कलेजको तीज प्रतियोगिता : कालिका भजन समूह प्रथम

रत्ननगर,भदौ ६- पुर्वी चितवनको रत्ननगर-४ स्थित न्यू क्यापिटल कलेजले आफ्नो रजत महोत्सवको अवसरमा आयोजना गरेको पूर्वी चितवनस्तरीय आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार कलेज परिसरमा आयोजित उक्त प्रतियोगितामा कालिका नगरपालिकाको कालिका भजन समूहले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा खैरहनी-२ को जन चेतना आमा समूह दोस्रो, हंसेश्वर आमा समूह तेस्रो र खैरहनी-९ को धौलागिरी आमा समूहले सान्त्वना स्थान प्राप्त गरे। विजयी टोलीहरूले क्रमशः नगद रु. १७,०००, रु. १३,०००, रु. १०,००० र रु. ५,००० सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे। सो कार्यक्रममा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो।
कुल ९ वटा आमा समूहले सहभागिता जनाएको

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टिकाराम लामिछाने, सदस्य प्रकाशमणि सापकोटा र खैरहनी नगर शिक्षा समितिका सदस्य मीरा खरेल रहेका थिए ।
कार्यक्रमको सभापतित्व डा. तारा प्रसाद ढुंगानाले गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवन शाखाका पूर्व अध्यक्ष आनन्द रन्जित प्रमुख अतिथिको रूपमा रहेका थिए।

कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन तथा समन्वय श्रद्धा अर्यालले गरेकी थिइन् ।
तीजको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै स्थानीय आमा समूहहरूको प्रतिभा प्रस्तुत गर्ने यो कार्यक्रमले समुदायमा उत्साह र एकता थपेको कलेजले जनाएको छ।

माधवपुरमा तीज गीत प्रतियोगिता, राम जानकी टोल पहिलो

चितवन – उद्यमशील महिला समूह रत्ननगर–१५ को आयोजनामा शुक्रबार सम्पन्न तीज गीत प्रतियोगितामा राम जानकी टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको छ।

“उद्यमशीलतामा महिला सहभागिता, आर्थिक समुन्नतिमा आत्मनिर्भरता” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा वडाभित्रका १५ वटा समूहले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा राम जानकी टोल विकास संस्थाले नगद रु. २० हजारसहित पहिलो स्थान हासिल गर्दा, हरियाली आमा समूहले दोस्रो स्थानमा रहँदै रु. १५ हजार प्राप्त गर्‍यो। त्यस्तै, आधारभूत विद्यालय नमुना टोलले तेस्रो स्थानमा रहँदै नगद रु. १० हजार पुरस्कार जित्यो।

यसैगरी, सान्त्वना पुरस्कारतर्फ दिपज्योति टोल विकास संस्था र गणेश टोल विकास संस्थाले जनही रु. ५/५ हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट नृत्यको पुरस्कार भने अर्बिट स्कुलका विद्यार्थीहरूले हात पारे।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले गरेकी थिइन्। कार्यक्रममा वडा अध्यक्ष तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

संस्था कि अध्यक्ष कान्ता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम महिला उद्धमीद्वय रेणु ढकाल र मिनु श्रेष्ठले संचालन गरेका थिए।

रत्ननगरमा माओवादी केन्द्रद्वारा दुई दिने प्रशिक्षक प्रशिक्षण स्कुलिङ्ग कार्यक्रम सम्पन्न

रत्ननगर, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रत्ननगरद्वारा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षण (स्कुलिङ) कार्यक्रम सोमबारदेखि रत्ननगर–१ स्थित पदमा बेन्कुटमा सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता रत्ननगर अध्यक्ष मेघनाथ पौडेलले गर्नुभएको उक्त प्रशिक्षण उद्घाटन समारोहमा प्रमुख अतिथीका रुपमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम दाहाल रहनु भएको थियो।

विशिष्ट अतिथिमा प्रदेश कोषाध्यक्ष संगीता भट्टराई अतिथीहरु नगर इन्चार्ज एवं प्रदेश सदस्य पुर्ण बाहादुर अम्गाइ (सोबोध), दिपक साही,ऋषिराम चापागाई ,सरोज भण्डारी, निवर्तमान अध्यक्ष श्याम बराल, नगर उपाध्यक्ष गणेश पौडेल, जीवनलाल श्रेष्ठ र विष्णु पोख्रेलको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नगर सचिव मोहन भट्टराईले गर्नुभएको हो।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा दर्शनशास्त्र, राजनीति अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, संगठन र नेतृत्व, सत्ता सञ्चालन र उत्पादन, कम्युनिष्ट आन्दोलनको इतिहास (विश्व र नेपाल), संगठन सञ्चालन पद्धति (बैठक, माइन्युट र प्रतिवेदन), प्रशिक्षण पद्धति र कला, प्रभावकारी निर्वाचन परिचालन कला तथा सामाजिक सञ्जाल र संगठन (AI/IT) लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।कार्यक्रममा नगर कमिटी सदस्य तथा पार्टी वार्ड अध्यक्ष तथा सचीवको सहभागिता रहेको छ।

प्रशिक्षकका रुपमा सूर्य सुवेदी ‘पथिक’, ऋषिराम चापागाई र होमप्रसाद भट्ट रहनेछन्। कार्यक्रमको अन्त्यमा सहभागीलाइ प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।

परामर्श व्यवसायीहरुको साझा संस्था बन्ने लक्ष्य सहित नेक्सा स्थापना, यस्तो बन्यो कार्यसमिति

काठमाडौँ- अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरूको अर्को एउटा छाता संस्थाको सुरुवात भएको छ। शुक्रवार धुम्बाराही स्थित होटेल स्मार्टमा आयोजित एक भव्य समारोहका बिच नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को उद्घाटन गरिएको हो। शैक्षिक परामर्श व्यवसायीहरूका समस्यामा अभिभावकत्व लिने साझा संस्थाको अभाव भएको भन्दै सो भूमिका निभाउनका लागि नेक्साको स्थापना गरिएको हो।

नेक्साका नवनिर्वाचित अध्यक्ष सन्तोष खनालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा प्रमुख अतिथिका रूपमा रहेका थिए। प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलको विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न विदेशी शैक्षिक संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरू, विदेशी भाषा परीक्षा प्रदायकका प्रतिनिधिहरू तथा अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेक्सामा आबद्ध करिब १०० शैक्षिक परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नेक्साका वरिष्ठ उपाध्यक्ष आशिष कुँवरले यो उद्घाटन केवल नयाँ अध्याय सुरुवात मात्रै नभई नेपालको शैक्षिक भविष्यको नयाँ भविष्य लेखनको पनि सुरुवात भएको बताए। अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धन गर्दै उच्चतम व्यावसायिक मापदण्डमा काम गर्न नेक्सा प्रतिबद्ध रहेको उनको भनाई थियो। सदस्य, साझेदार र शुभेच्छुकहरूको विश्वास नै संस्थाको बल भएको भन्दै उनले सबैलाई बहुपक्षीय हित सहितको साझेदारीका लागि अपिल गरे।

कार्यक्रममा नेक्साका नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथिको हातबाट प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै तिन जना साझेदारहरूलाई प्रमुख अतिथिकै हातबाट सम्मान गरिएको थियो। यस अन्तर्गत मात्र एजुकेसनका सम्पादक रमेश लामिछानेलाई सञ्चारकर्मी सम्मान, नेक्साका कानुनी सल्लाहकार सुदिप अर्याल र नेक्सा सदस्य प्रवीण आचार्यलाई विशेष समान प्रदान गरिएको थियो।

नेक्सा स्थापनाको उद्देश्य, यसका लक्ष्यहरू, गर्ने कार्यहरू तथा नेक्साको आगामी योजनाहरू बारे प्रस्ट पार्दै संस्थाका महासचिव गणेश बेल्वासेले शैक्षिक परामर्श व्यवसायका चुनौतीहरू समाधान गर्न एकताबद्ध प्रयास आवश्यक भएकै कारण नेक्साको स्थापना भएको बताए। संस्थाले पारदर्शी, मर्यादित र विश्वासिलो सेवा प्रदान गर्ने सम्पूर्ण व्यवसायीलाई एउटै मञ्चमा ल्याउने उनले बताए । विद्यार्थीको हितलाई प्राथमिकतामा राख्दै शैक्षिक परामर्श व्यवसाय क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने संकल्पका साथ नेक्सा अघि बढेको उनको भनाई थियो। कार्यक्रम कलाकार मनोज गजुरेलको विशेष प्रस्तुतिले अझै अर्थपूर्ण बनेको थियो।

कार्यक्रममा नेक्सामा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उपस्थित अतिथिहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले विदेश अध्ययन गर्न जानु खराब नभए पनि विद्यार्थीहरूलाई ज्ञान, सिप लिएर नेपाल फर्किएर आफ्नै देशको सेवा गर्न प्रेरित गर्न अनुरोध गरे। युरोप र अमेरिका जाने एनओसी बन्द गर्नुपर्छ र छात्रवृत्तिमा जानेलाई मात्र जान दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताए। देशको शिक्षा सुधारका लागि राजनीतिक दलहरूमा प्रतिबद्धता नदेखिएको र सोही कारण विद्यालय शिक्षा विधेयक समस्यामा परेको उनले बताए। शिक्षा ऐनमा व्यक्तिका स्वार्थ लिएर नआउन चेतावनी दिएका उनले राष्ट्रका लागि माग लिएर आए त्यसलाई तुरुन्तै स्विकार्न आफू तयार रहेको बताए। शिक्षामा राजनीति गर्नेहरूलाई अब बहिस्कार गर्नुपर्नेमा उनले जोड दिए। थापाले नेक्सा सदस्यहरू बिच एकता कायम रहोस् र मर्यादित व्यवसाय गर्ने वातावरण बनोस् भन्ने शुभकामना दिए।

कार्यक्रममा बोलेका अन्य वक्ताहरूले नेक्सा गठनका लागि बधाई दिँदै लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिए। कार्यक्रमका सभापति खनालले कोरियाको एनओसीमा समस्या परेको बेला आफूहरूले आवश्यक साथ अन्य संघहरु बाट नपाएको र परामर्श व्यवसाय क्षेत्रका अन्य समस्याहरूमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता देखिएकाले नेक्सा जन्मिएको बताए। नेक्साले अबको एक महिना भित्रमा नेपालकै पहिलो ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्ने र त्यसपछि पनि विभिन्न कार्यक्रमहरू गर्ने योजना रहेको उनले बताए।

नेक्सा आफूहरूको साझा संकल्पको प्रतीक भएको बताउँदै यसले पारदर्शी, इमानदार र गुणस्तरीय परामर्श सेवा प्रवर्द्धन गर्दै विद्यार्थीमैत्री वातावरण सिर्जना गर्ने उनले उल्लेख गरे। नीतिगत संवादमा सक्रिय हुने, सदस्यहरूको क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय अवसरका ढोका विद्यार्थीहरूका लागि अझ फराकिलो बनाउने आदि नेक्साको उद्देश्य रहेको उनको भनाई थियो। खनालले उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे।

रत्ननगर–१६ मा तीज गीत प्रतियोगिता सम्पन्न, जौबारी टोल प्रथम

रत्ननगर (चितवन) । हरितालिका तिजको अवसरमा रत्ननगर–१६ पिठुवामा आयोजना गरिएको बृहत तीज गीत प्रतियोगिता शनिबार सम्पन्न गरिएको छ। “सफा, सुन्दर र समृद्ध वडा, स्वस्थ जीवन आजको आवश्यकता” भन्ने शीर्षकमा आयोजित प्रतियोगितामा वडाभित्रका विभिन्न टोल विकास संस्था तथा संघसंस्थाबाट ११ वटा समूहले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा जौबारी टोल विकास संस्थाले प्रथम स्थान हासिल गर्दै नगद रु. २० हजार प्राप्त गरेको छ। त्यस्तै, भानु मेमोरियल आवासीय माध्यमिक विद्यालय द्वितीय हुँदै रु. १५ हजार प्राप्त गरेको छ भने खैरेटी टोल विकास संस्था तृतीय स्थानमा रही रु. १० हजार प्राप्त गरेको छ।

सान्त्वना पुरस्कारतर्फ वनदेवी टोल विकास संस्था, हात्ती गाडी टोल विकास संस्था र नमुना कुँवर टोल विकास संस्थाले जनही रु. ५ हजार प्राप्त गरेका छन्। त्यस्तै उत्कृष्ट नृत्यतर्फको उपाधि पनि जोबारी टोल विकास संस्थाकी आयुष्मा बजगाईंले जितेकी छन्।

प्रतियोगिताको उद्घाटन सत्रमा कार्यक्रम संयोजक पुरुषोत्तम लामिछानेले कार्यक्रम सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा पिठुवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेल, पिठुवा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नेत्र घिमिरे, राप्रपाका वडा अध्यक्ष डिल्ली गौतम, पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए।

वडा अध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर–१५ का वडा अध्यक्ष आशिक तामाङ, वडा सचिव मञ्जु पौडेल, जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारी, पिठुवा गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश घलान, सामाजिक व्यक्तित्व जयन्द्र कुमार श्रेष्ठ, वडास्तरीय जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष प्रेमप्रसाद पन्त, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरि पनेरु, भद्रकाली माविका प्रधानाध्यापक चिरञ्जीवी खनाललगायतको सहभागिता रहेको थियो।

वडा सदस्य रिता विकले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपहार कोइरालाले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने उद्यमी महिलाद्वय मुना कोइराला र सन्तोषी पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमका अध्यक्षसमेत रहेका वडा अध्यक्ष हेमराज थापाले वडालाई वातावरणमैत्री वडा घोषणा गर्ने योजनाअनुरूप तीज गीत प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनका अनुसार आवश्यक सूचकहरू पूरा गर्दै निकट भविष्यमा वडा वातावरणमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको छ।

रवि लामिछानेलाई नक्खु कारागार अड्डासार गर्ने निर्णय

३० साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् । कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ ।

‘नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,’ शर्माले भने । शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो । ‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं,’ शर्माले भने ।

गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए । महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ ।

‘रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले उहाँ (रवि लामिछाने) लाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउँछ,’ शर्माले भने ।

रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा भोलि ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने

रत्ननगर,साउन २८- पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ ।

स्थानिय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो।

सो कार्यक्रम अन्तर्गत “ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस” शीर्षकमा प्यानल डिस्कसन संचालन हुनेछ।

रत्ननगर-१,निपनीस्थित होटल स्टारमा भोलि साउन २९ गते बिहीवार बिहान ११:३० बजे देखि संचालन हुने प्यानल डिस्कसन कार्यक्रममा प्यानलिष्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रिय सदस्य भुपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आई. पि. लामिछाने रहने छन भने कार्यक्रमको सहजिकरण इ.सागर कार्किले गर्नेछन ।

सो प्यानल डिस्कसन मार्फत नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक श्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपाय बारे वृहत अन्तर्कृया हुने कलेजका प्राचार्य राजकुमार दाहालले बताउनुभयो ।

लाईभ म्युजिक विथ स्नाक्स सहितको सो कार्यक्रममा पूर्वी चितवनका विभिन्न कलेजमा अध्ययनरत हाल कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिने प्राचार्य दाहालले जानकारी गराउनुभयो।

जिएसटी कलेजले पूर्वी चितवनमा नै पहिलो पटक
नयाँ शैक्षिक सत्रका लागि यसै बर्ष देखि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

पिठुवा सानाकिसान कृषि सहकारीको छैटौं वार्षिकोत्सव: गुञ्जमानसिंह अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

रत्ननगर, चितवन — रत्ननगरको वडा नम्बर १४ मा रहेको पिठुवा साना किसान कृषि सहकारी संस्था लिमिटेड र मानव विकास तथा सामुदायिक सेवा (HDCS) द्वारा सञ्चालित गुञ्जमान सिंह अस्पतालबीच उपचार सेवामा सहुलियत दिने गरी सम्झौता सम्पन्न भएको छ।

सहकारीको छैटौं वार्षिक उत्सवको अवसर पारेर सोमबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार, सहकारीका सदस्य र उनीहरूका श्रीमान् , कर्मचारी तथा कार्यसमितिका सदस्यहरूले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।

यसअन्तर्गत, ओपीडी टिकटमा ५० प्रतिशत, ल्याब, एक्स–रे, इको, फिजियोथेरापी, ईसीजी, भर्ना सेवामा २५ प्रतिशत, भिडियो एक्स–रे तथा सर्जरीमा १५ प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट प्रदान गरिने गरी सम्झौता गरिएको सहकारीकी अध्यक्ष विष्णु भण्डारी कट्टेलले जानकारी दिइन्।

सम्झौताअनुसार, सहकारीका सदस्यहरूले बीमा मार्फत उपचार लिँदा वा मेडिकल क्लेम गर्दा छुट दाबी गर्न पाउने छैनन्। छुट सुविधा लिनका लागि सदस्यता प्रमाणित गर्ने परिचयपत्र आवश्यक पर्ने व्यवस्था गरिएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूले यो सम्झौताले सहकारीका सदस्यहरूलाई समयमै र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

वि.स २०७६ सालमा स्थापित संस्थामा झण्डै ९०० जना महिला शेयरसदस्यहरु छन्। महिलाहरूकै नेतृत्वमा स्थापित र सञ्चालित संस्थाले स्थापनाको छोटो समयमै आफ्नै जग्गामा भवन निर्माण गरी सोही भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ।

इच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर

भरतपुर, २५ साउन- इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिँदै छ ।

स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गर्न लागेको हो

साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको छ भने बाँकी छ वटा विद्यालयलाई छिट्टै हस्तान्तरण गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उक्त समारोहमा निर्देशक अधिकारीसँगै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरे ।

त्यसबाहेक सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारलाई एक सय चार थान, त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिङलाई सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेलाई चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयलाई नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेलाई तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासलाई सैँतीस थान क्याल्कुलेटर सम्बन्धित विद्यालयलाई दिइने छ । “छिट्टै ती स्थानमा गएर हरेक विद्यार्थीको हातमा पर्ने गरी दिइने छ”, एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले भने– “व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एक्सपर्टले हरेक वर्ष सामुदायिक विद्यालयलाई गर्ने सहयोगको यो निरन्तरता हो ।”

इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । “विपन्नताकै कारण त्यस क्षेत्रका विद्यार्थीलाई क्याल्कुलेटर किन्नसमेत अप्ठ्यारो हुने गरेको सुनिएको छ”, एक्सपर्टका निर्देशक अधिकारीले भने– “त्यही सहज होस् भनेर सहयोग गरेका हौँ ।”

कार्यक्रमका प्रमुख अतिथि आचार्यले एक्सपर्टले गरेको सामाजिक क्रियाकलाप प्रशंसनीय भएको बताए । उनले कार्यक्रमको उद्घाटन पनि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर गरेका थिए । कविलास माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत सुजिता गुरुङलाई नगद पाँच हजार रुपैयाँ, स्कुल झोला, शैक्षिक सामग्री, स्कुल ड्रेस, खेलकुद ड्रेस, छाता, क्याल्कुलेटरलगायत सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

“कार्यक्रम उद्घाटन गर्ने शैली नै मन प¥यो”, उनले भने– “शिक्षामा गरिएको सहयोग नै सबैभन्दा उत्तम सहयोग हो ।” सहयोग पाएपछि राष्ट्रिय मावि हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरले भने– “दूरदराजका विद्यार्थीका लागि यो सानो सहयोग नै ठूलो हुन्छ । उनीहरूमा नगद खर्च गरेर शैक्षिक सामग्री किन्ने ल्याकत हुँदैन ।

त्यसैले यसले ठूलो अर्थ राख्छ ।” त्यस्तै रानीखोलाका प्रधानाध्यापक अर्जुन मगरले ग्रामीण क्षेत्रका विद्यार्थीलाई हरेक सानो सहयोगको पनि अर्थ ठूलो हुने बताए । एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापना भएको हो । यसले स्थापनाको २२ वर्ष पूरा गरेको छ ।

अब रत्ननगरमै चार वर्षीय बिबिए कार्यक्रम सुरु हुँदै, एक करोड छात्रवृत्तिको घोषणा

रत्ननगर । रत्ननगर–१, निपनीमा खुलेको जिएसटी कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ ।

क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताए । शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरुलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख दाहालले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले व्यवसाय अध्ययनमा रूचि राख्ने विद्यार्थीहरुका लागि ६६ सिट कोटासहित बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कलेज उद्घाटन वर्षलाई विशेष बनाउन एक करोड रुपैयाँबराबरको छात्रवृत्ति योजना घोषणा गरिएको छ, जसले आर्थिकरुपमा कमजोर तर जेहेनदार विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । साथै, पहिलो २० जना भर्ना हुने विद्यार्थीहरुका लागि विशेष छूटको व्यवस्था गरिएको छ, जसले सीमित स्रोत भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ ।

क्याम्पस प्रमुख दाहालले जिएसटीले शत्प्रतिशत रोजगारीको ग्यारेन्टीसहित विद्यार्थीहरुलाई व्यावसायिक दुनियाँसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ, सह–पाठ्यक्रम गतिविधिहरु र उद्योगहरुसँगको सहकार्यमार्फत उनीहरुलाई प्रतिष्ठित व्यापारिक संस्था र बहुर्राष्ट्रिय कम्पनीहरुसँग जोड्छा’ैँ, उनले भने । यसले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत बजारको मागअनुरुप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्य राखेको छ ।

जिएसटी कलेजको स्थापनाले पूर्वी चितवनका युवाहरुलाई स्थानीयस्तरमै विश्वस्तरीय व्यवस्थापन शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । क्याम्पस प्रमुख दाहालले यो पहलले क्षेत्रीय शैक्षिक असमानता हटाउन र युवाहरुको सपना साकार पार्न मह¤वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो’, उनले थपे ।

गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापकहरु र आधुनिक शिक्षण विधिमार्फत जिएसटी कलेजले विद्यार्थीहरुलाई सशक्त बनाउने योजना बनाएको छ । भर्ना प्रक्रिया र अन्य विवरणका लागि कलेजले चाँडै प्रवेश परीक्षाको मिति सार्वजनिक गर्ने जनाएको छ । यो कलेज पूर्वी चितवनको रत्ननगरमा स्थापना हुनुले शैक्षिक क्षेत्रमा नयाँ उत्साह थप्दै व्यवसाय अध्ययनमा रूचि राख्ने युवाहरुका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।