Home Blog Page 48

सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा — सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

रविलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

२ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले  बताए ।

अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

तर, २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी पर्‍यो। संसद्मा पनि नेपाली कांग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो ।

लामो गतिरोधपछि एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सुर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछानेलाई समेत दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो।

 

पूर्वीचितवनमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

चितवन —मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा चितवन खैरहनीका एकजना युवाको मृत्यु भएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ का २१ वर्षीय दिपेश चौधरी रहेका छन् ।

दिपेशले चलाएको ना ५६ प ९१६९ नम्बरको स्कुटर आइतबार साँझ सवा ६ बजे पूर्व-पश्चिम राजमार्गको खैरहनी नगरपालिका- १ तरकारीचोकमा ना ४६ प ८२४८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका दिपेशको उपचारका क्रममा साँझ सवा ७ बजे भरतपुरको मनकामना अस्पतालमा मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

स्कुटरको पछाडि बसेका खैरहनीका २४ वर्षीय अर्जुन चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ । उनको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, मोटरसाइकल चालक खैरहनी- १ का २२ वर्षीय अनिस बस्नेत र मोटर साइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय सुजोक दराई घाइते रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।

उनीहरू दुवैजनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

रत्ननगर १५ मा माइन्युट लेखन तालिम

रत्ननगर- रत्ननगरको वडा नं. १५ मा माइन्युट लेखन सम्बन्धी तालिम संचालन गरिएको छ । वडा कार्यालय संगको समन्वयमा रत्ननगर जुनियर जेसिजले तालिम संचालन गरेको हो ।

वडा भित्रका १९ वटा टोलविकास संस्थाका झन्डै ४० जना प्रतिनिधीलाई तालिम प्रदान गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । जुनियर जेसिजको ‘जेसिज सप्ताह २०८१’ को छैटौंदिन तालिम संचालन गरिएको हो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले सहभागीहरुलाई सहजीकरण गरेका थिए । तालिमको उद्घाटन सत्रमा वडाध्यक्ष आशिक तामाङ, वडा सदस्यहरु ईमप्रसाद पन्त, रुकमाया परियार लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष रेनुका ढकालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय जुनियर जेसिज क्षेत्र ख संयोजक सन्दर्भ खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष विमर्श अधिकारीले संचालन गरेका थिए ।

असोज १७ देखि सुरुभएको जुनियर जेसिजको सप्ताहव्यापी कार्यक्रममा यसअघि वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम, ग्राफिक डिजाईन तालिम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, औधोगिक अवलोकन, मन्दिर सरसफाई जस्ता कार्यक्रम सम्पन्न भईसकेका छन् ।

सोहि कार्यक्रम अन्तर्गत भोली असोज २३ गते पुर्वअध्यक्ष भेला तथा  शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।

 

रत्ननगरमा गोली हानेर दुई चित्तल मारी लैजान खोज्ने एक जना पक्राउ

रत्ननगर, असोज २२ । पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् ।

निजको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।

पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् । निजहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको पौडेलले बताउनुभयो । वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशङ्कामा उनीहरुको खोजी गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेकाले वन कार्यालयले आज मात्र सूचना दिएको हो । रासस

सातकन्या खानेपानीको सातौं साधारणसभा; पिठुवामा मर्ज हुने सर्वसम्मत निर्णय

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ मा रहेको सातकन्या खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पिठुवा खानेपानीमा मर्ज हुनेभएको छ । शुक्रबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।

अध्यक्ष लेखबहादुर भण्डारीले राखेको समायोजन प्रस्ताव साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । वि.स २०६४ सालमा पानीको चरम अभाव रहेको बेला स्थापना गरिएको संस्था जिर्ण बन्दै गएपछि संचालनमा कठिनाई आएको थियो ।

त्यतिबेला जुटपानी देखि रत्ननगरको टाँडीबजार सम्म खानेपानीको सेवा दिईरहेको जुटपानी खानेपानी बन्द भएपछी पिठुवा क्षेत्रमा खानेपानीको चरम अभाव रहेको थियो  । पिठुवाकै अन्य क्षेत्रमा ईनार खनेर पानीको व्यवस्था  गरिएपनि साबिकको पिठुवा एक नम्बर क्षेत्रमा ईनार खन्दा समेत पानी नभेटिएपछी पानीको हाहाकार भएको थियो ।

स्थानीयहरू साईकलमा पानीको गाग्रो झुन्डाएर झन्डै तिन किमी पर रहेको जुटपानी बजारबाट पानी ओसारेर पिउन बाध्य थिए । यस्तो परिस्थितिमा भरतपुरमा रहेको युवा समाज नेपाल नामक गैह्रसरकारी संस्थासंगको सहकार्यमा सातकन्या खानेपानी स्थापना गरिएको थियो ।

सो समयमा भुत्याहामा रहेको कयरखोला छेउको जरुवाको पानी संकलनगरि पाईपलाईन मार्फत वितरण सुरु गरेको संस्थाले हाल डिपबोरिंग संचालन गरि पानी वितरण गरिरहेको छ । हाल संस्थाका ३१० ग्राहक छन् । संस्था केहिवर्ष देखि निरन्तर घाटामा संचालन भईरहेको छ । आम्दानी भन्दा खर्च बढी भएपछि संस्थाको संचितिकोष ओरालो लाग्ने क्रममा छ ।

स्थापनाको झन्डै १७ वर्ष पछी उक्त संस्थालाई पिठुवा खानेपानीमा मर्जगर्न लागिएको हो ।  सिमित श्रोत साधन र जिर्ण संरचनाको कारण संस्था संचालनमा कठिनाई आएपछि मर्जमा जाने निर्णय गरिएको अध्यक्ष लेखबहादुर भण्डारीले बताए । साधारणसभाले दिएको म्यान्डेड अनुसार अब विधि र प्रक्रिया पुरागरी समायोजन कार्य सम्पन्न गर्ने उनले बताए ।

शुक्रवार आयोजित साधारणसभामा उपस्थित पुर्वअध्यक्ष, सल्लाहकार तथा जनप्रतिनिधीहरुले समेत यथासक्य छिटो समायोजन प्रक्रियालाई पुरा गरि ३१० धुरीलाई सहजरुपमा खानेपानीको सुनिश्चिता गराउन आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्ष हेमराज थापा, वडासदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ र  सरिता गुरुङ, पुर्व अध्यक्षहरु विष्णुप्रसाद अर्याल, पुर्षोत्तम लामिछाने, भद्रकाली माविका प्रअ चिरन्जीवी खनाल,सामाजिक अगुवा प्रकाश खनाल शैलेश लगायतको उपस्थिति रहेको थियो ।

लेखा संयोजक रामहरी पनेरुले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष मनाकुमारी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम संस्थाका कोषाध्यक्ष वुद्धिमान गुरुङले संचालन गरेका थिए ।

 

 

गोविन्दे हात्तीकाे आक्रमणबाट चितवनमा एकजनाकाे मृत्यू

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित खाेरसाेरमा हात्तीकाे आर्कमणबाट एक जनाकाे मृत्यू भएकाे छ ।

निकुञ्जकाे हात्ती प्रजनन केन्द्र नजिक जंगली हात्ती गाेविन्दले आज साँझ सवा सात बजे आक्रमण गर्दा सर्लाही जिल्लाकाे हरिपुर नगरपालिका वडा नं ७ स्थानी घर भइ खाेरसाेर हात्ती प्रजनन केन्द्रमा कार्यरत जद्दु थारूकाे घटना स्थलमा मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । जद्दु सरकारले कतार पठाउने भनिएका खगेन्द्र प्रसादका स्याहार सुसारे पछुवा हुन् ।

ब्राेद्रहनी गाउँबाट झाेलुङ्गे पुल तरेर प्रजनन केन्द्र जाने क्रममा उनलाई जंगली हात्तीले आर्कमण गरेकाे निकुञ्जले जनाएकाे छ । मृतक थारुकाे पाेष्ट माटमकाे लागि भरतपुर अस्पतल पठाइएकाे रत्ननगर प्रहरीले जनाएकाे छ।

पदमपुरको भिमकाली साकाेसले एकवर्षमा कमायो ५३ लाख

रत्ननगर, असाेज १७ । कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा रहेकाे श्री भिमकाली बचत तथा सहकारी संस्था लि. काे १०औं साधारण सभा तथा चाैथाे अधिवेशन बिहीवार सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद धितालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनाेद रेग्मी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख रेग्मीले सहकारी संस्था सञ्चालन गर्दै गर्दा आयआर्जन, उत्पादन र उद्धमशिलताका जाेड दिदै लगानीलाई बढाउनु पर्ने बताए । कालिकामा कृषि, पशुपालन नै आम्दानीकाे मुख्य स्राेत भएकाले यसै क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष धितालले भाबी नीति तथा कार्यक्रम, सचिव नारायणी रिजालले प्रगति प्रतिवेदन प्रस्तुत, काेषाध्यक्ष रामहरी बास्ताेलाले आर्थिक प्रगति प्रतिवेदन, लेखा समितका संयाेजक रेवती प्रसाद ढकालले लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२ हजार ९ सय ३७ जना शेयर सदस्य रहेकाे संस्थाले रू ५३ लाख ६७ हजार १ सय २१ रूपैँया नफा गरेकाे छ । १ कराेड ७६ लाख ४२ हजार ७ सय ९१ आम्दानी गरि १ कराेड २२ लाख ७५ हजार ६ सय ७० खर्च कटाएर रू ५३ लाख ६७ हजार १ सय २१ रूपैँया नफा गर्न सफल भएकाे हाे ।

संस्थाकाे शेयर पुजी ३ कराेड ६४ लाख ३२ हजार, सदस्यकाे बचत संकलन, १० कराेड ४१ लाख ५३ हजार ८३ रूपैंया रहेकाे संस्थाले अन्य संस्थाकाे शेयर खरिदमा १ लाख ८२ हजार, लगानीमा रहेकाे ऋण १२ कराेड ६३ लाख २५ हजार ५२, विभिन्न काेषमा रहेकाे रकम १ कराेड २१ लाख १५ हजार २ सय ९०, बैंकमा रहेकाे रकम २ कराेड ७७ लाख ७८ हजार ९ सय ९० रहेकाे छ ।

कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पाैडेल, वडा नंं. ३ का वडा अध्यक्ष बिरेन्द्र तामाङ, वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नंं. ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, जिल्ला सहकारी संघका प्रतिनिधि टिकाराज रिजाल, संस्थाका संस्थापक अध्यक्ष रामहरि बास्ताेला, सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालु प्रसाद दाहाल, यति बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष भाेजराज सेढाई, प्रज्वल महिला विकास बचत तथा ऋण सहकारीका अध्यक्ष सीता दाहाल, संस्थाका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष डाेलनाथ दाहालले स्वागत मन्तव्य राखनुभएकाे कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका सदस्य आनन्द थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

रत्ननगर १६ हात्तीगाड़ेमा भोलीदेखि प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने

उज्यालो दर्पण । चितवनको रत्ननगर १६ स्थित हातीगाड़ेमा प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । मुनाल ब्वाईजको आयोजनामा भोली असोज १५ गतेदेखि २३ गते सम्म 8A साइड प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगितामा रत्ननगर र यस आसपासका झन्डै २० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक अनमोल गुरुङले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टिमले नगद रु ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

वडा १६ को मुख्य सहयोगमा हुन लागेको प्रतियोगितामा सेन्ट्रल मोडल कलेज भरतपुर र स्व. धर्म थापाको स्मृतिमा उनको परिवारबाट आर्थिक सहयोग रहने, प्रतियोगिता बारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।

प्रतियोगिताको मंगलबार हात्तीगाड़े खेल मैदानमा दिउँसो २ बजे उद्घाटन हुनेछ । पत्रकार सम्मेलनमा वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

रत्ननगरका विद्यालय आज बिदा

चितवन , १३ असोज । रत्ननगर नगरपालिकाले नगरभित्रका विद्यालय आज आईतबार बिदा गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको आग्रह अनुसार बाढिको प्रभावितहरुको एकिन र व्यवस्थापनको लागि आज एकदिन विद्यालय बिदा गर्ने निर्णय गरिएको रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले जानकारी दिए ।

नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय, मन्टेश्वरीहरुमा आईतबार १ दिनकाे लागि अतिरिक्त कक्षा सहित सम्पूर्ण कक्षाकाे पठनपाठन र परीक्षा लगायतका कार्यक्रम बन्द गर्न गराउन नगरपालिकाले आग्रह गरेको हो।

आज पनि वर्षा हुनसक्ने मौसम विभागले जनाए अनुसार सुरक्षा सतर्कताको लागि आज एकदिनलाई नगरपालिकाका सबै विद्यालय विदा गर्ने निर्णय भएको उनले बताए ।