Home Blog Page 58

मौलाकालिका मन्दिरमा महाआरती हुने, केवलकारमा ५०% छुट अफर

उज्यालो नेपाल- धार्मिक र ऐतिहासिक महत्व बोकेको गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने भएको छ । सोही महाआरतीलाई लक्षित गरी मौलाकाली केवलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत हरेक सोमबार साँझ ५ बजेपछि पाइने टिकटमा ५० प्रतिशत छुट दिइने केवलकारका मेनेजर सुरज पौडेलले बताए । `यसबाट साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागी हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने हामीले विश्वास लिएका छौं´, उनले बताए ।

आरती अफर टिकट हरेक सोमबार साँझ ५ बजेपछि पाइनेछ । आरती भएको दिन केवलकार साँझ ८ बजेसम्म सञ्चालन हुने मेनेजर पौडेलले जानकारी दिए ।

प्रतिनिधि सभा बैठक (LIVE), प्रधानमन्त्रीले विश्वासको मत लिंदै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् ।

संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँच मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । यसका लागि संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते पद तथा गोपनियताको सपथ गरेका थिए ।

संविधान अनुसार प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ३० दिन भित्र विश्वासको मत लिन सकिने भएपनि ओलीले एक साता भित्रै विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसको सहयोगमा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ ।

नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र २ सांसदले मत कता दिने विषयमा निर्णय गरिसकेका छैनन् । संसदमा हाल कायम संसद् संख्यामध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ ।

चितवनमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते, १ को अवस्था गम्भीर

चितवन – चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।

शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए ।

नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते मध्य १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जना मध्यम घाइते छन्।

त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो

५ साउन, काठमाडौं । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।

नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए ।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए ।

नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् ।

 

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।

कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ ।

भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

अपडेट

पछिल्लो जानकारी अनुसार हामफाल्ने व्यक्ति नवलपुरको हुप्सेकोट गाउपालिका वडा नं. २ घर भएका ७६ बर्षका बलबहादुर खाम्चा मगर रहेको र उनको निधन भएको छ।

मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा रत्ननगरमा दुई जना घाइते

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–७, घण्टाघरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।

सौराहाबाट चित्रसारीपुलतर्फ जादै गरेको ना ५५ प ९६०२ नम्बरको मोटरसाइकल र चित्रसारी पुलबाट चरा चोक आउँदै गरेको बागमती प्रदेश ०३–००१ प.१५७१ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रत्ननगर–८ बस्ने २२ वर्षीय बिशाल ठकुरी र अटोमा सवार कालिका–७ बस्ने ३८ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन् ।

दुवै घाइतेको बकुलहर रत्ननगर अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

शैक्षिक सुधारको लागि बछाैली माविमा अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।

रत्ननगर नगरपालिका भित्रका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु बीच शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको हो ।

विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको नीति तथा योजना निर्माण तथा शैक्षिक सुधारमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त गर्नका लागि कार्यक्रम गरिएको रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोले जानकारी दिए ।

समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र सक्षम बालबालिका निर्माणको लागि निरन्तर अभियानमा रहेको उनले बताए । छिमेकी वडामा रहेका विद्यालयका शिक्षकहरुलाई समेत अन्तरक्रियामा सहभागी गराइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालको अध्यक्षता भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव पाठकको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त कार्यक्रममा रत्ननगर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटा, वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, रत्ननगर ४ का वडाध्यक्ष राम कुमार चौधरी, रत्नगरका सामाजिक विकास समितिका संयोजक तथा ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, ८ का वडा अध्यक्ष कृष्ण चौधरी, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल, ११ का वडा अध्यक्ष श्याम कुमार श्रेष्ठ, १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे, नगर शिक्षा अधिकृत नारायण प्रसाद वाग्ले, रत्ननगर ७ का वडा सदस्यहरु सुर्य तमाङ र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

शैक्षिक सुधारका लागि धैरै काम गर्न आवश्यक रहेको र सामुहिक रुपमा काम गर्दा शैक्षिक सुधारका सहज हुने रत्ननगर नगरपालिका उपमेयर पाठकले बताए । शैक्षिक सुधारका लागि धेरै नै काम गर्नुपर्ने रहेको तर नगर तथा वडाको सिमित स्रोत साधनले गर्दा समस्या रहेको उनको भनाई छ ।

निरन्तर रुपमा वडाका जनप्रतिनिधिहरु र शिक्षकबीच छ्लफल हुँदा शैक्षिक गुणस्तरका लागि सहज हुने भएकाले यस्ता कार्यक्रमलाई अन्य वडाले पनि सिको गर्नुपर्ने बताए ।

शिक्षकसंग न्युनतम मापदण्ड बनाएर प्रतिवद्धता जनाउने र त्यसअनुसार रिजिल्ट नदेखिय कारबाही गर्नेु पर्ने बताए । विद्यालयकाे स्तर नतिजाले देखाउने हुदा नतिजा देखिने गरि याेजनाबद्धरुपमा शिक्षणसिकाईमा केन्द्रित हुने शिक्षकहरुलाई उपमेयर पाठकले निर्देशन समेत दिनुभएकाे छ ।

विद्यालयका शिक्षक,बिधार्थी र अभिभावक सँग अन्तरक्रिया र प्रशिक्षण गर्नुपर्ने रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकृत वाग्लेले बताए । शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयहरूमा अभिभावकको भरोसा रहेको र सरोकारवाला सबैले शैक्षिक सुधारका लागि प्रयास गर्नुपर्ने उनले बताए ।

उनले कक्षागत अभिभावक भेला गरेर विद्यार्थी र अभिभावक बीच प्रत्यक्ष भेटघाट हुने वातावरण तयार भए पनि शैक्षिक गुणस्तरवृद्धिमा टेवा पुग्ने विस्वास व्यक्त गर्ने भएकाे छ । शिक्षकहरु जिम्मेवार नबन्दा एसइईकाे रिज्ल्टमा साेचे जति नभएकाे उनले बताए । अघिल्लो वर्ष भन्दा यस शैक्षिक सत्रमा गुणस्तर वृद्धि भएमात्र शैक्षिक सिकाई उपलब्धि हुने उनले बताए ।

विद्यालयले सुझाव संकलन समिति नै गठन गरेर जन प्रतिनिधि, अभिभावक र शिक्षकहरुबाट सुझाव संकलन गरिएकाे समिति अध्यक्ष खनालले बताए ।

उनका अनुसार संकलित सुझावकाे आधारमा आगामी कार्यक्रम तय गरिने र अभिभावकहरु वीचकाे अन्तरक्रियाबाट विद्यालयमा विहान ६ वजे देखि साझ ६ वजे सम्म पठनपाठन सञ्चालन गर्ने र आवश्यक शुल्कमा अभिभावकवाट ४० प्रतिशत र विद्यालयले ६० प्रतिशत व्यहोर्ने गरी कक्षा सञ्चालन गरिने तयारी भएकाे खनालले बताए ।

साे विद्यालयमा सञ्चालित प्राविधक धार तर्फ शिक्षक प्रतिनिधि अन्जन भट्टराई र साधारणतर्फ विजय सुवेदीले विद्यालयका तर्फवाट भाविकार्याेजना बारेमा प्रस्तुतिकरण गरेका थिए ।

घरको दैलोमा ठोक्किएर चितवनमा एकजनाको मृत्यु

उज्यालो नेपाल- चितवनमा घरको ढोकामा ठोक्किएर एकजनाको ज्यान गएको छ ।

चितवनको कालिका नगरपालिका वडा नं. ८ देविटार बस्ने वर्ष ३६ कि गैकली चेपाङको आफ्नै घरको ढोकामा ठोक्किएर ज्यान गएको हो ।

हिजो साउने सक्रान्तीको दिन बेलुकी झन्डै पौने पाँचको समयमा घरको ढोकामा ठोकिदा घाइते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको चेपाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।