Home Blog Page 57

पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने

काठमाडौँ, साउन ९ गते। सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीष शाक्यको शल्यक्रिया सुरु भएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मेरुदण्डको अपरेसनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालका निर्देशन डा.सुमन श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ । अहिले उहाँलाई शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँदै छौँ।

आज आँखा र शरीरका विभिन्न ठाउँको शल्यक्रिया सुरु भएको हो ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राखेर हेर्ने उहाँले जानकारी दिनुभयो। क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उहाँले बताउनुभयो।

बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो।

जनजागृति माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी तथा कम्प्युटर हस्तानान्तरण

उज्यालो नेपाल – रत्ननगरको वडा नं. १४ पिठुवा मा रहेको जनजागृति माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी तथा कम्प्युटर हस्तानान्तरण गरिएको छ।

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको समन्वयमा ज्योति विकास बैंक टाँडी शाखाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सामाग्री वितरण गरेको हो।

बैंकले बुधबार आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा विद्यालयमा आयोजना गरेको एक औपचारिक समारोहमा दुईहजार लिटर क्षमताको स्टिलको ट्यांकी र दूईथान कम्प्युटर हस्तानान्तरण गरेको हो।

सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै प्रधानाध्यापक नरेन्द्रकुमार श्रेष्ठले ट्यांकीको अभावमा विद्यार्थीहरुलाई खानेपानीको व्यवस्थापन गर्न समस्या परिरहेको र पिठुवा खानेपानीको समन्वयमा ज्योति विकास बैंकको सहयोगले विद्यालयको नयाँ ब्लकमा खानेपानीको व्यवस्थापनमा सहज हुने बताए।

यस्तै बैंककी टाँडी शाखाप्रमुख दिलकुमारी सापकोटाले बैंकले आफ्नो आम्दानीको निश्चित प्रतिशत सामाजिक सेवामा लगाउने गरेको बताउँदै विद्यालयलाई सहयोग गर्न पाउँदा बैंक परिवार खुसी भएको बताईन्।

पिठुवा खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठले राष्ट्र बैंकको नीति अनुसार सामाजिक उत्तरदायित्व वहन गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे। सेवा क्षेत्रका अन्य विद्यालयमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न खानेपानी प्रयत्नरत रहेको उनले बताए।

कार्यक्रममा पिठुवा खानेपानीका संस्थापक अध्यक्ष जयन्द्रकुमार श्रेष्ठ, वडा नं. १५ का वडा सदस्य शिवप्रसाद तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, खानेपानी संस्थाका पदाधिकारीहरु तथा वडा संयोजकहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु साथै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

पिठुवा खानेपानीका उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका सचिव रुपेश तिवारीले सञ्चालन गरेका थिए।

 

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।

देवघाटको चुनौती, समुदायलाई सक्रिय बनाउँदै सहमति

चितवन । भक्तजनले ल्याउने प्लाष्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ ।

देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तिर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहर हुने गरेको छ ।

अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत भक्तजन आउने गरेका छन् । उनीहरुले पूजा अर्चनाका लागि ल्याउने अगरबत्ती, अबिर केशरीका प्लाष्टिक, खानेपानीका बोत्तल, पूजा सामग्री राखेर ल्याइका प्लाष्टिकको झोला र सुर्तीजन्य प्लाष्टिकका खोल समेत यत्रतत्र फाल्ने गर्दा फोहर बढेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

यस्ता फोहर संकलनका लागि निश्चित स्थान तोकिए पनि तोकिएको स्थानमा नफाल्ने भक्तनजनको लापरवाहीले प्रदुषित देखिन्छ । शव दाहसंस्कारका लागि आउने मलामीले फाल्ने प्लाष्टिकका बोत्तल, ब्लेड, कपडा समेतले नदी क्षेत्र प्रदुषित बनेको छ ।

मंगलबार मात्रै चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाट क्षेत्रबाट ५ क्विन्टल प्लाष्टिकजन्य फोहर संकलन गरिएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा देवघाट क्षेत्र सरसफाई कार्यक्रममा उक्त फोहर संकलन गरिएको हो । उक्त सरसफाई कार्यक्रममा देवघाट संरक्षण प्रतिष्ठान, रामजानकी बालिका आश्रम, इश्वर बाल सेवा आश्रम, गार्गी कन्या गुरुकुल, नेपाल प्रहरी, भरतपुर महानगर प्रहरी, भूपू सैनीक, देहेन थर्वालिङ बौद्ध गुम्बा, नेपाल मगर बौद्ध सेवा समितिका प्रतिनिधि एवं स्थानीय गरी डेढ सय बढी सहभागी थिए ।

समुदायका नागरिकलाई नै गैँडाकोट ५ स्थित सहमती संस्थाले सक्रिय बनाउँदै सहभागी गराउँदै आएको छ । ‘सफा र स्वच्छ नारायणी’ गराउने उद्देश्यका साथ सहमतिका क्रियाकलाप अघि बढाइएको छ । नारायणी नदीलाई सफा र स्वच्छ कायम राख्न ‘नदीसँगै हामी अभियान’ समेत सञ्चालन गरिएको छ । सहमतिको अगुवाइमा शुरु भएको यस अभियानमा चितवन र नवलपुरका गरी १२ वटा संघ संस्थाले सहकार्य समेत गरेका छन् ।

जल प्रदुषण, नदीजन्य पदार्थ उत्खनन र ल्याण्डफिल्ड साइट ब्यवस्थापन मुख्य चुनौती पहिचान गरी यसको संरक्षणका लागि सोही अनुरुपका कार्यक्रम तय गरिएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “जलाधार क्षेत्र संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो, स्थानीय र सरोकारवाला सबै पक्षसँगको सहकार्यमा वातावरण, जंगल र नदीको क्षेत्रमा सकरात्मक नतिजा दिन चाहन्छौँ ।” धार्मिक क्षेत्रमा हुने फोहरजन्य गतिविधिले चिन्तित तुल्याएको बताउँदै उहाँले नागरिकमा चेतना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा कार्यक्रम सोही लक्षित छन् ।” उहाँले भन्नुभयो ।

नदी मानव सभ्यातासँग जोडिएको छ । कतिपय मानव समुदायको जीविका नदीसँग जोडिएको छ । जलचर तथा जीवजन्तुसमेत नदीमा आश्रीत छन् । नदी प्रदुषण हुँदा हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ । सहमति संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजिकरण समेत गर्दै आएको छ ।

देवघाट क्षेत्रमा हुने फोहर कम गर्न देवघाट आउने भक्तजनको अनुमान गरी उनीहरुले ल्याउने फोहरको आंकलन गरी त्यस्ता फोहर ब्यवस्थापन गर्नुपर्ने डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी बताउनुभयो । उहाँले संकलन गरिएको फोहर बाँदरले समेत लथालिङ्ग पार्ने भएकोले बाँदरले समेत फोहर गर्न नमिल्ने गरी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

सहमतिले देवघाट क्षेत्र विकास समिति, यहाँका स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधिलाई समेत अभिमुखिकरण गरेको छ । घरायसी फोहरमैला पृथकीकरण सम्बन्धी अभिमुखिकरण गर्नुका साथै फोहर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ ।

सहमतिले ५ वटा प्लाष्टिक बोटलमात्रै राख्ने ‘मेटलबिन’, त्यस्तै प्लाष्टिकजन्य कागज राख्ने ‘मेटलबिन’, ब्लेड बक्स देवघाट क्षेत्र विकास समितिलाई प्रदान गरेको थियो ।

उद्योगमा काटिएको बिजुली जोड्नेबारे प्राधिकरणको बैठक निष्कर्षविहीन

काठमाण्डौ – उद्योगमा काटिएको बिजुली जोड्नेबारे हिजो बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको वैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद तथा उद्योगमा काटिएको बिजुलीबारे सञ्चालक समितिले छलफल गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्राधिकरणको बैठक बसे पनि सञ्चालकहरूबीच सहमति जुट्न नसकेको हो । गएको शुक्रवार प्रधानमन्त्री ओलीले तत्काल बिजुली जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए । तर, प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने र त्यसका लागि लिखित आउनुपर्ने अडान राखेको थियो ।

अस्ति आइतवार विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताहित संरक्षणसम्बन्धी निर्देशिका, ०८० को दफा १३ को उपदफा १ र १० का आधारमा बिजुली जोड्न भन्दै प्राधिकरणलाई पत्र काटेको थियो । प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको साढे ६ अर्ब बक्यौता उठाउन गएको असार २५ यता ६ वटा उद्योगको विजुली काटेको छ ।

प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ, हुलास स्टिल, जगदम्बा सिन्थेटिक, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटेको हो ।

धुवाँले निस्सासिएर सुत्केरीको मृत्यु, बच्चासहित २ जना गम्भीर घाइते

जुम्ला : जिल्लाको पातारासी– ६ बाँताकी एक सुत्केरी महिलाको आगो बालेर सुतेको अवस्थामामा निस्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर उनको मृत्यु भएको हो।

पातासारी –६ स्थायी ठेगाना भएकी सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निस्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महताराको उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विश्व श्रेष्ठले बताए।

‘मृत्यु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो,’ उनले भने, ‘धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते भएका छन्।’

उनका अनुसार बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीका अनुसार सुत्केरी महतारालाई अस्पताल पुर्‍याएको केही समयमै निधन भएको हो। तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि प्रतिष्ठान लगिएको थियो।

‘उनीहरू दुई तले घरमा बस्दा रहेछन्। सुत्केरी भएकोले तेलमा मेथी र आगो बालेको पाइएको छ’, उनले भने, ‘हिजो आफन्तहरूको पनि जमघट भएको रहेछ। राती ११ बजे श्रीमान र सासू माथिल्लो कोठामा सुतेछन्।’

प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको पाइएको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको छ। मृतक महतारा र बहिनी रोकाया तल्लो कोठामा सुतेका मृतकका आफन्त कार्मा बुढाले बताए।

‘सोमबार बिहान भने अबेरसम्म नउठेपछि ढोका फोडेर हेर्दा बल्ल घटना थाहा भएको हो,’ उनले भने, ‘अब पोष्टमार्टम रिपोर्ट आएपछि के भएको हो थाहा हुन्छ।’

यातायातमा दुई दिनदेखि सर्भर डाउन, देशभर सेवा ठप्प

काठमाडौं : दुई दिनदेखि सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प भएका छन्। सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भएको छ। यातायात कार्यालयहरू अस्तव्यस्त छन्।

सेवा प्रवाहमा व्यस्त सरकारी कार्यालयमध्ये यातायात व्यवस्था मुख्य हुन्। यातायात कार्यालय सधै भीडभाड नै हुन्छन्। काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने गरेका छन्। देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गरेका छन्। काम नभएपछि सेवाग्राहीहरू कर्मचारी खनिन थालेका छन्। कर्मचारीमाथि हातपातको अवस्था पनि ठाउँ–ठाउँमा हुने अवस्था आएको छ।

कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका छन्। यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठूलो भर्‍याङका प्रमुख विमलप्रसाद भट्टराईले सर्भर डाउन हुँदा कार्यालयहरू ठप्प भएको पुष्टि गरे। उनले भने, ‘सर्भर डाउन हुँदा सेवा प्रवाह अवरुद्ध भएको छ, कार्यालयहरू ठप्प छन् ।’

उनले यो समस्या तत्काल सुधार गर्नुपर्ने औंल्याउँदै त्यसले कर्मचारी र सेवाग्राहीबीच दरार सिर्जना भएको बताए। सर्भर समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उनको भनाइ छ।

यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी ईश्वरीदत्त पनेरूले सर्भर डाउन भएकाले समस्या आएको जानकारी दिए। ‘अहिले सर्भर डाउन भएर देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ। तर, प्राविधिक विषय भएकाले के समस्या हो, कहिले बन्छ भन्ने मलाई पनि थाहा भएन,’ उनले भने। उनले आकस्मिक (अर्जेन्ट) सेवा भने सञ्चालनमा रहेको दाबी गरे। यस्तो समस्या पटक–पटक आउने गरेको छ। बारम्बार सर्भर समस्याको कारण सेवाग्राहीले हैसानी र दुःख पाउँदै आएका छन्। यसको समाधानमा सरकार गम्भीर भएको देखिँदैन।

सवारीचालक अनुमतिपत्रको बायोमेट्रिकको अनलाइन फारम भरेर मिति दिइसकेर कार्यालय पुगेकादेखि सवारीचालक अनुमतिपत्र नविकरण गर्न पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ ।

भेन्डरका कारण समस्या

सरकारले सरकारी कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने नीति नै लिएको छ। अनलाइनबाटै सेवा प्रवाह गर्ने उद्देश्यसाथ यातायात कार्यालयहरूलाई पनि विद्युतीय सवारी दर्ता प्रणाली सञ्चालन ल्याएको हो। तर, यो प्रणाली सञ्चालन भएको सफ्टवेयर पुरानो भएको छ। सिस्टम पुरानो र ओभरलोड हुँदा बारम्बार समस्या आउने गरेको छ।

तर, कर्मचारीहरू सूचना प्रविधि मैत्री छैनन्। उनीहरू भेन्डरप्रति नै निर्भर हुदै आएका छन्। शतप्रतिशत ठेकेदार (भेन्डर) प्रतिनिर्भर हुँदा समस्या आएको कर्मचारीहरू स्वीकार गर्छन्। ‘सूचना प्रविधि क्षेत्रका कर्मचारीसँग यो मर्मत गर्ने क्षमता नै छैन,’ शतप्रतिशत भेन्डरमा निर्भर पर्नुपर्छ,’ एक कर्मचारीले भने ।

कर्मचारी प्राविधिक रूपमा तयार नहुँदा भेण्डरको मनोमानी छ। सानो समस्या आए पनि भेन्डरमा नै निर्भर पर्नु परेको छ। २१ लाखले स्मार्ट कार्ड पाएका छैनन्। स्मार्ट कार्ड छाप्ने मेसिन र सर्भर सिस्टम सबै भेन्डरको नियन्त्रणमा छ। उसले चाहेमा सेवा सुचारु हुन्छ नचाहेमा अवरुद्ध हुन्छ। एउटा मेसिन छ, त्यो पनि बिग्रिरहन्छ।

विकेन्द्रीकरणले दिएन समाधान

संघीयतासँगै यातायात सेवा प्रवाह सहज हुने आशा जनतामा थियो। तर, झन् समस्या आइरहेको छ। प्रदेशबाटै विद्युतीय प्रणालीमार्फत सेवा प्रवाह गर्ने भनिए पनि यसबाट सोचेजस्तो प्रतिफल आउन नसकेको कर्मचारीहरू बताउँछन्।

स्मार्ट कार्डकोे छपाइ संघअन्तर्गतको यातायात व्यवस्था विभागले गर्छ। त्यस्तै सबै डाटा अभिलेखीकरण गर्ने दायित्व पनि विभागसँगै छ। तर सेवा प्रवाहको काम प्रदेशअन्तर्गतका ४० वटा कार्यालयबाट हुँदै आएको छ। संघ र प्रदेशको समन्वय नहँुदा पनि सेवाग्राहीले दुःख पाइरहेका छन्।

यातायात व्यवस्था विभागले २०७० बाट सबै लाइसेन्स (सवारी चालक अनुमतिपत्र) डिजिटलाइज्ड र कम्युटराइज्ड प्रविधिमा लगेको छ। यसैबाट सेवा दिन विद्युतीय सवारी दर्ता प्रणाली सुरुवात गरिएको हो। ‘तर, प्राविधिक जनशक्ति प्राविधि मैत्री नहुँदा र भेन्डरमा नै परनिर्भर हुँदा सरकारले आईटीबाट सेवा प्रवाह गर्ने लक्ष्यमा ढुंगा लागेको छ। पटक–पटक सेवा अवरुद्ध हुँदा सरकारको सुशासन नारामा सिमित भएको छ’, विभागका एक अधिकृतले भने।

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं, असार ७ । आज साउनको पहिलो सोमबार पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ ।

साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेका छन् ।

जनजागृति माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १४ पिठुवामा रहेको जनजागृति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिकसामाग्री वितरण गरिएको छ । नेपाललाईफ इन्स्योरेन्स टाँडी शाखाले विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीलाई शैक्षिकसामाग्री वितरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिकसामाग्री वितरण गरेको टाँडी शाखाप्रमुख राज कुशवाहाले जानकारी दिए । कम्पनीले वर्षेनी आफ्नो नाफाको कुल एकप्रतिशतले हुन आउने रकम यस्तै सामाजिक कार्यमा खर्च गर्ने गरेको उनले बताए ।

आईतवार विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रम बीच सामाग्री वितरण गरिएको हो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार श्रेष्ठले नेपाललाईफको यस्तो पून्यको कर्मले, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको शिक्षा हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष  तथा वडाध्यक्ष होमनाथ रानाभाटको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, नेपाललाईफ ईन्सुरेन्स टाँडी शाखाका कर्मचारी तथा विमा अभिकर्ताहरु लगायतको उपस्थिति थियो  ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक  रोहिणी न्यौपानेले संचालन गरेका थिए ।