
चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा पर्ने त्रिशूली नदी बीचमा रातो वस्तु देखिएको छ । स्थानीयले नदी बीचमा केही बेरअघि रातो वस्तु देखिएपछि सिमलतालबाट बगाएको बस हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार स्थानीयले बस जस्तो वस्तु नदी बीचमा देखेर प्रहरीलाई खबर गरेकाले त्यतातर्फ प्रहरी टोली पठाइएको छ ।
‘नदी बीचमा रातो रंगको केही वस्तु देखिएको भनेर हामीलाई खबर आएको छ’, उनले नेपाल प्रेससँग भने, ‘ठ्याक्कै बस नै हो भन्नसक्ने अवस्था छैन । प्रहरी टोली त्यसतर्फ जाँदैछ । राति हुँदै गएकाले पानीमा जान सम्भव हुने नहुने भन्न सकिँदैन ।’
आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए । दुइटा गरी ४० किलोको चुम्बक प्रयोग गरिए पनि केही प्रगति भएन । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो ।
