राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन

लिमा।  संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १ सय वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो ।

दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै कार्यकालमा इरान र इराकबीच झन्डै आठ वर्षको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरूप दुवै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्वमहासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् । ‘उहाँ परिपक्व राजनेता, निष्ठावान् कूटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,’ गुटेरेसले भनेका छन् ।

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्वप्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी भएको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन् । क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश थिए ।

राष्ट्रसंघ सुरक्षा परिषद्मा उनको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रिसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो । सन् १९८१ मा उनी संयुक्त राष्ट्रसंघको पाँचौं महासचिवमा नियुक्त भएका थिए । दक्षिण अमेरिकी क्षेत्रबाट उनी नै पहिलो महासचिव बनेका थिए । यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो ।
सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उनको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाव समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो । उनी महासचिव रहेकै दिनमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दि क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । उनकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित भएका थिए । राष्ट्रपति टोलेडोले उनलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त गरेका थिए । क्वेलरको शुक्रबार अन्त्यष्टि गरिने बताइएको छ ।

The post राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन appeared first on Rajdhani Daily News.

अत्यधिक चाप बढेपछी QR Code सहितको प्रमाणपत्रको लागी आवेदन लिने कार्य स्थगित

Previous articleलागुऔषध सहित एक महिला पक्राउ
Next articleभारतीय चिकित्सकको टोली स्वदेश फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।