चितवन, रत्ननगर । रत्ननगर नगरपालिका–२ सुब्बाचोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
सुब्बाचोकबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ३४२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना.६२ प ३७१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घटना हिजो (बिहीवार) राति सवा आठ बजे भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रत्ननगर–१२ बस्ने वर्ष १७ का विराज स्याङतान, सोही मोटरसाइकलमा पछाडि सवार वर्ष १७ का समिर मोक्तान, र रत्ननगर–१३ बस्ने वर्ष २१ का नवीन तिमल्सिना घाइते भएका छन्।
विराज स्याङतान र समिर मोक्तानको दाहिने आँखामा र खुट्टामा चोट लागी बकुलर अस्पताल टाँडीमा उपचार भइरहेको छ। त्यस्तै, नवीन तिमल्सिनाको निधारमा चोट लागी नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।




