Home Blog Page 25

ओली र प्रचण्डको सुरक्षामा भारी कटौती, मापदण्डभन्दा बढी खटिएका ६१ सुरक्षाकर्मी फिर्ता

सरकारले दुई पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरेको छ।

गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाबाट ६१ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका हुन्।

रत्ननगरमा मोटरसाइकलको ठक्करबाट बालक घाइते

चितवन, असोज २३ – रत्ननगर नगरपालिका–१३ अमेलियामा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। हिजो असोज २२ गते बिहान करिब १०:३० बजे ना३३प १९२५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ३ वर्षीय आयन उप्रेतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट बालकको नाक, दाहिने खुट्टा र मुखमा चोट लागेको छ। उनलाई स्थानीय बकुलहर अस्पताल, टाँडीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ।

ठक्कर दिने मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१० निवासी २२ वर्षीय अङ्कित रसाइली रहेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुई महिनामै बाकसमा फर्किए २३८ नेपाली

रोजगारीको खोजीमा विदेशी भूमिमा पुगेका नेपालीहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा मात्रै २३८ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार औसतमा दैनिक चार जना नेपाली कामदारको शव काठको बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेको छ।

यो तथ्यांक केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको मात्र हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझै भयावह हुने निश्चित छ। तर सरकारसँग त्यसको यकिन तथ्यांक छैन। देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको भनिरहँदा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार ५१७ जना युवाले विदेशी भूमिमा ज्यान गुमाए।

यो संख्या अघिल्ला वर्षहरूमा क्रमशः बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३७८ र २०७९/८० मा १ हजार २०८ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ। बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको संख्या बढेसँगै मृत्युदर पनि बढेको हो।

‘देशको अवस्था झन् बिग्रिँदो छ, जसले गर्दा नेपाली युवा झन् बिदेसिन बाध्य छन्,’ उनले भने, ‘जति धेरै विदेश जानेको संख्या बढ्छ, उति नै मृत्यु हुनेको संख्या पनि बढ्छ। साथै, तालिम र सीप नलिई विदेश जाने प्रवृत्तिले पनि जोखिम बढाएको हो।’ बोर्डका अनुसार मृत्युका प्रमुख कारणहरूमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मुटुसम्बन्धी रोग, हृदयाघात, मिर्गौला फेल, क्यान्सर र आत्महत्या रहेका छन्।

विशेषगरी खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीहरूमा सुतेकै अवस्थामा मृत्यु हुने (हृदयाघात वा प्राकृतिक कारण) र मिर्गौलाको समस्या बढी देखिएको छ। उप्रेती थप्छन्, ‘परिवर्तित वातावरण, सोचेजस्तो काम र कमाइ नहुँदा धेरै युवा मानसिक तनाव र डिप्रेसनमा जान्छन्, जसले आत्महत्या जस्तो दुखद घटना निम्त्याउँछ।’ बिचौलियामार्फत वा तेस्रो मुलुक हुँदै जोखिमपूर्ण देशमा जाने प्रवृत्तिले पनि समस्यालाई थप जटिल बनाएको उनको भनाइ छ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अंगभंग भएका श्रमिकका परिवारलाई बोर्डले आर्थिक सहायता प्रदान गर्दछ। यसका लागि श्रम स्वीकृति लिएको हुनुपर्ने र घटना भएको एक वर्षभित्र निवेदन दिनुपर्ने प्रावधान छ। बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको मृत्यु भएमा हकवालालाई दिने सात लाख रुपैयाँको सहायता रकमलाई गत वर्षदेखि बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ।

यद्यपि, बढ्दो मृत्युदरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले चाल्नुपर्ने कदमहरू अझै प्रभावकारी नभएको संकेत गर्छ। विज्ञहरूले विदेश जानुअघि सीपमूलक तालिम, गन्तव्य मुलुकको मौसम, कानुन र जोखिमबारे राम्रो जानकारी लिन र कानुनी प्रक्रिया पूरा गरेर मात्र जान श्रमिकहरूलाई सुझाव दिएका छन्।

पानीमा डुबेर एक बालकको मृत्यु

चितवन- राप्ती नगरपालिका वडा नं–२, गड्यौलीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

ईश्वर बर्तौलाका ७ वर्षीय छोरा आयुष बर्तौला घरनजिकै रहेको पानी जमेको खाल्टोमा डुबेको अवस्थामा तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा निजको उपचारको क्रममा सोमबार बेलुकी ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकको शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

चितवनका युवा व्यवसायी सिग्देलमाथि आक्रमण

भरतपुर,असोज २१-

चितवनका युवा व्यवसायी सुलभ सिग्देलमाथि आक्रमण भएको छ । सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले सोमबार साँझ आक्रमण गरेको हो । काम सकेर घर फर्किदै गरेका उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा चार/पाँच जनाको समुहले आक्रमण गरेको हो ।

अक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । सिग्देलले आक्रमण गर्नेलाई पक्राउ गरेर कारवाहीको माग गर्दै चितवन प्रहरीमा निवेदन दिएका छन ।

उनको निवेदनको आधारमा प्रहरीले आक्रमणमा संलग्नलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले बताए । उनका अनुसार सिसी टिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

चितवनमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो

चितवन जिल्लाको राप्ती नगरपालिका–२ सिमराचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बुधबार साँझ करिब ६:३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा रौतहट जिल्ला माधव नारायण नगरपालिका–८ बस्ने २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए।

घाइते यादवलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइए पनि उपचारको क्रममा साँझ ७:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतम पनि दुर्घटनामा घाइते भएका छन्।

उनको नाक र टाउकोमा चोट लागी मध्यम घाइते भएको र हाल पुरानो मेडिकल कलेज, भरतपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

बालेन र सुदनविरुद्ध चितवनमा पनि मुद्दा

काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध चितवन प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चितवन जिल्ला संयोजक अमित आचार्यले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझे पनि दर्ता हुन बाँकी रहेको आचार्यले बताए । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै अनेरास्ववियूले विभिन्न जिल्लामा उजुरी दिइरहेको छ ।

जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको आचार्यले बताए । चितवनका एसपी गोबिन्द पुरीले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।

दुर्गा प्रसाई भन्छन् , “नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?”

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने दावी गरेका छन् । मंगलवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले काठमाडौं केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि गरेका छन् ।

जेन–जी आन्दोलनसमेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संविधान पुनःस्थापना गर्नु आवश्यक रहेको औँल्याएका छन् । उनले संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।

नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?

‘हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओलीहुँदै आज जेन–जी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेनजस्ता लुसिफर र सुशिला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिँड्ने सुदन गुरुङ्ग ! भनेपछि देश कहाँ पुग्यो र देश लाई कहाँ लगिँदै छ ? त्यहि भएर धैर्य गर्नुस्, राजा, देउता, धर्म र संस्कृति खोपी मै भए पनि चाहिँदो रहेछ, प्रतिक्षा गर्नुस् !

बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संविधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ । त्यसैले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनु होला ।

साथै लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालो सूचिमा परेका र घरवार लिलाम भएका सम्पूर्ण अभियान्ताहरुलाई काठमाडौं केन्द्रित भई देशैभरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।’

ओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश

जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन् । जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन् ।

जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन । त्यसको जानकारी काठमाडौं प्रहरी परिसर प्रमुख रमेश थापाले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई गराए । त्यसपछि खापुङ केही बरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालकहाँ गएका थिए ।

प्रहरीको प्रश्न– बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने ?

गृहमन्त्रीसँगको छलफल पनि जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा कुराकानी भएको थियो तर टुंगोमा पुगेन । स्रोतका अनुसार गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखेका थिए । तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ सचेत गराएका थिए । ‘गृहमन्त्री जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध जाहेरी आउला, भोलि बालेनविरुद्ध जाहेरी आउला, त्यस्तो बेला के गर्ने भनेर कुरा राखेका थिए । त्यसपछि यसबारे प्रधानमन्त्रीसँग नै छलफल गरेर टुंगोमा पुग्ने निष्कर्षमा पुगियो,’ स्रोतले भन्यो ।

त्यसपछि गृहमन्त्रीले प्रधानमन्त्री कार्कीसँग छलफलको समय मागेका थिए । सोही अनुसार गृहमन्त्री, गृहसचिवसहित चार वटै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल भएको थियो । सो छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको स्रोत बताउँछ । छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर रायसमेत मागेकी थिइन् । छलफलमा सहभागी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्रीसँगको छलफलमा भएकै कुराहरु राखेका थिए ।

प्रहरीले माग्यो केन्द्रीय सुरक्षा समितिको निर्णय र लिखित आदेश

साथै उनले यो विषयमा प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको बताएको एक सहभागीले जानकारी दिए । ‘केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित निर्देशन दिए ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न सकिन्छ भन्ने उहाँको आसय थियो,’ स्रोतले भन्यो । भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा भएका घटनाबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

सो समितिको सिफारिस अनुसार ओली र लेखकसहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाइएको छ । सुरक्षा अधिकारीहरुले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री कार्कीले भनिन्– दोषी कारबाहीको दायरामा आउनैपर्छ

साथै सुरक्षा अधिकारीहरुले जेनजी युवा आन्दोलनको क्रममा प्रहरीहरुबाट लुटिएका हतियार सबै फिर्ता नभइसकेकाले सुरक्षा संवेदनशील भएको जानकारी समेत गराएका थिए । प्रधानमन्त्री कार्कीले भने यी समग्र विषयमा अझ मसिनो गरी छलफल र विश्लेषण गर्न अधिकारीहरुलाई निर्देशन दिएको सुरक्षा स्रोत बताउँछ । उनले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने दोहोर्‍याएकी थिइन् । यस विषयमा प्रधानमन्त्री कार्की आज पनि थप परामर्श र छलफलमा रहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।

प्रेम राईलाई राजीनामा गर्न जेनजीको दबाबपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि सुरक्षाकर्मीको संख्या बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार अख्तियार अगाडि सुरक्षाकर्मीको संख्या बढाइएको हो । जेन–जी समूहले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूको राजीनामा माग गरिरहेका बेला सुरक्षा सतर्कता बढाइएको हो ।

राजीनामा नदिए अख्तियार अगाडि प्रदर्शन गर्ने चेतावनी जेनजी समूहले दिएका थिए । जेनजी समूहले राइमाथि राजीनामा गर्न इमेलमार्फत् दबाब दिएका छन् । जेनजी समूहले अख्तियार प्रमुख राई नक्कली भुटानी शरणार्थी तथा वाइडवडी खरिदलगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाएको छ ।

‘चयनमुखी अनुसन्धान’ गरेको भन्दै राइमाथि अनुसन्धान गर्नुपर्ने विशेष अदालतको आदेशलाई समेत आधार बनाएर जेनजी समू्हले राजीनामा गर्न राईलाई दबाब दिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा अध्यादेशमार्फत् गरिएको नियुक्ति संविधानसम्मत् नभएको जेनजीको दबाब पत्रमा उल्लेख छ ।

राजीनामा नगरे कार्यालयमै उपस्थित भएर दबाब दिने जेनजी समूहको चेतावनीपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा बढाइएको हो ।जेनजी समूहले राजीनामा गर्न आग्रह गर्दै आजै राईलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।