Home Blog Page 3

क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ, ३० लाख नगद बरामद

उज्यालो नेपाल । क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवन रत्ननगर–२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर–८ का २५ वर्षीय आशिष अधिकारी, चितवन भरतपुर–८ घर भई काठमाडौं बस्ने ३२ वर्षीय रविन जि.आर. तथा ललितपुर महालक्ष्मी–४ का ३७ वर्षीय अनित्य शाक्य रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत हुण्डी तथा क्रिप्टोकरेन्सी (USDT) प्रयोग गरी अवैध वित्तीय कारोबार गर्दै आएका थिए । उनीहरूलाई नगद ३० लाख रुपैयाँसहित कारोबारमा प्रयोग हुने मोबाइल फोन र एक थान म्याकबुकसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डी तथा अवैध मुद्रा कारोबारसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

माडीलाई ‘मिनी फिल्म सिटी’ बनाउने पहल, निर्देशक प्रहिलको म्यूजिक भिडियो छायांकन सुरु

माडी : चितवनको ग्रामीण भेगमा पर्ने माडी नगरपालिकालाई ‘मिनी फिल्म सिटी’को रूपमा विकास गर्ने लक्ष्यसहित म्यूजिक भिडियो छायांकन सुरु गरिएको छ। रमणीय प्राकृतिक दृश्यले भरिपूर्ण माडी क्षेत्रको सौन्दर्यलाई भिडियोमार्फत उजागर गर्ने उद्देश्य राखिएको निर्देशक कार्कीले जानकारी दिए।

उनका अनुसार, यहाँका अनुपम प्राकृतिक दृश्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना अनुरूप म्यूजिक भिडियो तथा फिल्म छायांकनलाई प्राथमिकता दिइएको छ।

चितवनलाई फिल्म सिटीका रूपमा विकास गर्ने पहलकर्ता युवा पत्रकार राजेन्द्र आचार्यको पहलमा निर्देशक कार्की, भिडियो निर्माता तथा गीतकार–संगीतकार क्षितिज सापकोटाको टोली माडी आइपुगेको हो।

माडी नगरपालिका–८, फुलबारी टोलकी अध्यक्ष सुजिता पाण्डेको प्रमुख आतिथ्यतामा ‘म बाहुनको छोरो’ बोलको गीतको छायांकन सुरु गरिएको हो।

क्षितिज सापकोटाको आफ्नै शब्द तथा संगीतमा तयार गरिएको उक्त गीतमा सापकोटा स्वयं, नायिका कविता न्यौपाने र पत्रकार राजेन्द्र आचार्यले अभिनय गरेका छन्।

स्थानीय तह तथा सर्जकहरूको सहकार्यमा माडीलाई भविष्यमा चलचित्र छायांकनको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको छ।

हर्क साम्पाङ भन्छन्, ‘नैतिकताको सवाल खडा भयो, पत्रकार सम्मेलन राखिहाल्नुस्’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गर्दै यस विषयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर्न छोड्ने चेतावनी दिएका छन् । उनले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको स्पष्ट पारेका छन् । आफ्ना प्रश्नहरू व्यक्तिगत नभई नितान्त व्यावसायिक र कानुनी रहेको साम्पाङको भनाइ छ ।

गृहमन्त्रीले दाबी गरेको २० रोपनी जग्गा भाडाको, ५ वर्षदेखि तिरेका छैनन् पैसा

म्पाङले गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको चैत २३ गतेको घटनाका दोषीहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गरिरहेकोमा प्रशंसा गरेका छन् । उनले यस कार्यलाई अझै अघि बढाउन शुभकामना समेत दिएका छन् ।

तर, साम्पाङले सदनमा आफूले उठाएका दुई मुद्दा नबिर्सन गृहमन्त्री गुरुङलाई स्मरण गराएका छन् । ती मुद्दाहरूमा जेनजी आन्दोलनको चैत २४ गतेको घटनाका दोषीलाई कारबाही र जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिने कुरा छन् ।

‘काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै काम गर्ने क्रममा,’ साम्पाङले पोस्टमा लेखेका छन्, ‘तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् !’

साम्पाङले गृहमन्त्री गुरुङलाई दाजुले दिएको सल्लाह सम्झेर आफ्नो कुरा मान्ने आशा व्यक्त गरेका छन् । उनले एक दिन गृहमन्त्री गुरुङलाई हृदयदेखि नै बधाई दिने र त्यो दिन चाँडै आओस् भन्ने कामना पनि गरेका छन् ।

सहकारी दिवसमा चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

चितवन, — ६९ औँ सहकारी दिवसको अवसरमा रत्ननगर १६ हात्तीगाडेमा रहेको एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कालिका नगरपालिका–११ रन्तेसस्थित विद्यालयमा अध्ययनरत ८० जना चेपाङ बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री वितरण गरेको छ।

विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु अर्याल, सचिव लक्ष्यबहादुर गुरुङ, कोषाध्यक्ष सन्तोषी घिमिरे, व्यवस्थापक रमेश कुँवर तथा शिक्षा समिति संयोजक सिता नेपाललगायतले संयुक्त रूपमा विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।

सो अवसरमा अध्यक्ष अर्यालले सीमान्तकृत समुदायका बालबालिकालाई सहयोग गरेर सहकारी दिवस मनाउँदा आत्मसन्तुष्टि मिलेको बताए। उनले ठूला औपचारिक कार्यक्रमभन्दा आर्थिक अभावका कारण शैक्षिक सामग्री किन्न नसक्ने विद्यार्थीलाई सहयोग गर्न पाउँदा सहकारी परिवार नै खुसी भएको उल्लेख गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश प्रजाले कमजोर आर्थिक अवस्थाका कारण आवश्यक सामग्री नहुँदा केही विद्यार्थी विद्यालय नै नआउने अवस्था रहेको बताउँदै यस्तो सहयोगले पढाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कालिका नगरपालिका–११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा, सहकारीका कार्यसमिति सदस्य, विभिन्न उपसमितिका पदाधिकारी तथा सल्लाहकार समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

शिक्षा समिति संयोजक सीता नेपालले स्वागत मन्तव्य राखेको कार्यक्रम सदस्य दिलीप खनियाँले सञ्चालन गरेका थिए।

नेपाल मा.वि भ्रष्टाचार प्रकरण: अख्तियारको पुनरावेदन सर्वोच्चमा

उज्यालो नेपाल- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन रत्ननगरमा रहेको नेपाल नमूना माध्यमिक विद्यालयसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। विशेष अदालतको सफाइ फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले यहि चैत १५ गते पुनरावेदन दिएको हो।

यसअघि विशेष अदालतले २०८२ कात्तिक २० गते उक्त प्रकरणमा आरोपित सबैलाई सफाइ दिएको थियो। आयोगले भने उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै पुनः न्यायिक पुनरावलोकनको माग गरेको हो।

आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहितका पदाधिकारीहरूले आफूमा नभएको अधिकार प्रयोग गरी विनियम बनाउँदै शिक्षक विजया सुवेदीलाई स्थायी नियुक्ति दिएको आरोप लगाएको थियो। सुवेदी तत्कालीन अध्यक्षकी छोरी तथा प्रधानाध्यापककी श्रीमतीसमेत पर्ने भएकाले निर्णय स्वार्थ बाझिने प्रकृतिको रहेको आयोगको दाबी छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको उल्लेख गर्दै आयोगले पहिले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। अब सर्वोच्च अदालतमा दायर पुनरावेदनपछि यस प्रकरणको अन्तिम निर्णय सर्वोच्चबाट हुने भएको छ।

यो पनि पढ्नुहोस:

करारका शिक्षकलाई आफूखुसी स्थायी गरेको आरोपमा नेपाल माविका छ जना विरुद्ध मुद्दा

 

काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।

भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी थिए । यही प्रकरणमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक शुक्रबार नै पक्राउ परिसकेका छन् ।

कलम किन्न भन्दै विद्यालयबाट निस्किएका दुई विद्यार्थीको नारायणीमा डुबेर मृत्यु

चितवन – परीक्षा दिन भनेर विद्यालय गएका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल र सोही ठाउँका १४ वर्षीय प्रशान्त क्षेत्रीको पौडी खेल्ने क्रममा नदीको भँगालोमा डुबेर ज्यान गएको हो।

उनीहरू दुवै जना भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए।

आइतबार बिहान उनीहरू परीक्षा दिन विद्यालय पुगेका थिए। कक्षाकोठामा झोला राखेपछि दिउँसो १२:५० बजेतिर कलम किन्न भन्दै उनीहरू विद्यालयबाट बाहिर निस्किएका थिए।

तर, कलम किन्नुको साटो उनीहरू नजिकै रहेको नारायणी नदीको भँगालोमा पौडी खेल्न पुगेको खुलेको छ।

बालकहरू नदीमा डुबेको जानकारी पाउनसाथ विपद् व्यवस्थापनको टोली तत्काल घटनास्थल पुगेको थियो। दिउँसो २ बजेको समयमा टोलीले दुवै बालकको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार अस्पताल पुर्‍याइएलगत्तै दिउँसो २:४० बजे चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेका हुन्।

अहिले प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

यस्तो छ ओलीको पक्राउ पुर्जी

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई आज बिहान प्रहरीले उनको भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।

जेन–जी विद्रोहका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओली दोषी रहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले किटान गरेको थियो । आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

वालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि शनिबार बिहान ओलीलाई पक्राउ गरिएको हो ।

यस्तो छ उनको पक्राउ पुर्जी

ओलीलाई उनकै गाडीमा राखेर प्रहरी परिसर लगियो

१४ चैत, काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ ।
ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।

भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

BREAKING : पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । नेकपा (एमाले)अध्यक्षसमेत रहेका ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित नि‍वासबाटै प्रहरीले पक्राउ गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा ओलीलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । शनिबार बिहान जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार ओलीका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डु निवासी ‘केपी शर्मा (ओली) भन्ने खड्गप्रसाद शर्मा ओली’ लाई ज्यान सम्बन्धी कसूर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले सो पुर्जी जारी गरिएको प्रहरीको पत्रमा उल्लेख छ। प्रहरीले कानूनी व्यवस्थाको अनुसूची–९ (दफा ९ को उपदफा ६ सँग सम्बन्धित) बमोजिम यो पुर्जी काटेको जनाइएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई फौजदारी हेलचेक्र्याइँको अभियोगमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् भने ओलीलाई पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको हो।
कार्की आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध १० वर्ष कैद सजाय हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको छ । त्यो भनेको मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार अनुसन्धान गर्नू भनी सिफारिस गरिएको हो । उक्त दफामा ‘कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन’ भन्ने व्यवस्था छ । त्यसरी ज्यान जाने काम गरेमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखकलाई आजै बिहान पक्राउ गरिएको थियो ।