Home Blog Page 43

कालिकामा अवैध नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ट्याक्टरहरु नियन्त्रणमा

उज्यालो दर्पण- चितवनको कालिकामा अवैध रुपमा नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ट्याक्टरहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार कालिका नगरपालिकाको विभिन्न स्थानहरुबाट अवैध रुपमा नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ना ७ त १७४ र ना ७ त ४०८ नम्बरको दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका ट्रयाक्टरहरु आवश्यक कारवाहीको लागी कालिका नगरपालिकामा पठाईएको प्रहरीले जनाएको छ ।

 

कालिकामा ३७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

रत्ननगर, मंसिर २० । ३७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै चितवनको कालिका नगरपालिकाले २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

महिला सञ्जाल भवनमा आयोजना गरिएको कार्यक्रममा सबै वडाबाट आएका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्य ज्वती सुनारले सम्मान गरेका हुन् ।

सोही अवसरमा बागमती सरकार अन्र्तगत जन स्वास्थ्य कार्यालय चितवनले प्रत्यक महिला स्वयंसेविकालाई नगद रु पाँच हजार प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । स्वयंसेविकाको कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा नगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे ।

‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो। नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, नगर प्रमुखको भनाइ छ ।

समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पर्‍याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको उनले बताए । बिगतका तुलनामा अहिले स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो कार्यमा तल्लिन भएर खुसि भएको बताए ।

नगरभित्रका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क रुपमा स्वास्थ्य विमा नगरले गरिदिने नगर प्रमुख रेग्मीले प्रतिवद्धता जनाए ।

प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले समुदायको स्वास्थ्य प्रवर्धनको क्षेत्रमा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयमसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए ।

गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा जन स्वास्थ्य कार्यालय चितवनकी नर्शिङ्ग अफिसर अनामिका कंडेल, कालिका नगरपालिकाकी स्वास्थ्य स्वयंमसेविका कविता खनाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन कालिका नगरपालिकाकी परिवार नियोजन सुपरभाईजर अधिकृत सीता दाहालले गरेकी थिईन् ।

चितवनको कालिकामा ग्रिनेट बम फेला

उज्यालो दर्पण- चितवनको कालिका नगरपालिका–३ मा  ग्रिनेड बम फेला परेको छ । वडा नं. ३ को चतुर्मुखी थान मन्दिरमा पूजाआजाको लागी सरसफाई गर्ने क्रममा ग्रिनेट बम फेलापरेको कालिका का मेयर विनोद रेग्मीले जानकारी दिए।

स्थानीयहरूले बम फेलापरेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सो स्थानमा प्रहरी तैनाथ गरिएको छ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख  डिएसपी रञ्जन अवाका अनुसार  बम निष्क्रिय पार्नको लागी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ।

आज रात परेका कारण भोली उज्यालो भएपछि मात्र बमलाई निष्क्रिय बनाईने अवाले बताए।  सो प्लास्टिक ग्रिनेड बम द्वन्द्व कालको समयमा लुकाएर राखिएको हुनसक्ने बताइएको छ ।

रत्ननगरमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने 

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा यही मंसिर २२ गतेबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिका वडा नं ९ स्थित रत्नप्रिय क्लवले तेसो रत्नप्रिय कप महिला फुटवल प्रतियोगिता आयोजना गरेको हो ।

आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको र राष्ट्रिय स्तरका ८ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।

खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको सो क्लवले यस भन्दा अघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरुष फुटबल प्रतियोगिता गरिसकेको छ । यस बर्ष भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ सहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्टक गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ५÷५ हजार पुरस्कार प्रदान गरिने छ । सेन्टर कलेज मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा आयोजक रत्नप्रिय क्लव सहित संकटा क्लव, बागमती युवा क्लव सर्लाही, हेटौडा फुटबल एमाडेकी, निजगढ फुटबल क्लव, अभिषेक चर्ज रजहर, पद्मा स्पोटर्स क्लब ओखलढुंगाले प्रतिस्पर्धा गर्नेछन् ।

रत्ननगर नगरपालिका र वडा नं ९ संरक्षक रहेको उक्त प्रतियोगिता २९ गते सम्म चल्ने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अनन्त अधिकारीले रत्नप्रिय क्लवले समाजका परिर्वतन ल्याउने गरी सामाजिक विकास र खेलकुदको चौतर्फी विकासको लागि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्दै आएको भन्दै स्थानीय सरकारले सदैब सहयोग गर्ने बताए। कार्यक्रम क्लवका सचिव विजय लामाले सञ्चालन गरेका थिए ।

रत्ननगर तथा साँस्कृतिक व्यापार महोत्सव दुईदिन थप

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव दुइदिन थप गरिएकाे छ । मंसिर १७ गते सम्मका लागि ताेकिएकाे उक्त महाेत्सव अबलाेकनकर्ताकाे मागलाई ध्यानमा राखि १९ गते सम्मका लागि थप गरिएकाे महाेत्सव मुल समाराेह समितिका संयाेजक संजय लाेप्चन तामाङले जानकारी दिए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने,  कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

रत्ननगर तेस्रो मेयर कप : हेटौडाले जित्यो उपाधि

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौडा उपमहानगरपालिकाले जितेको छ ।

नेपाल माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा चितवनको राप्ती नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडाले उपाधि रक्षा गरेको हो ।

प्रतियोगिताको विजेता हेटौडा उपमहानगरपालिकाको टिमलाई रु २ लाख ११ हजार १११ र उपविजेता राप्ती नगरपालिकाको टिमलाई रु १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेटौडाकी मेयर मीना लामा, रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठकले विजेता र उपविजेता टिमलाई उपाधि हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको हेर्न राप्तीका मेयर शमशेर लामा र वडाध्यक्षहरु, कालिका नगरपालिकाका मेयर विनोद रेग्मी, हेटौडा उपमहानगरका वडाध्यक्षहरु, चितवन निकुञ्जका वार्डेन गणेश पन्त, रत्ननगरका डिएसपी रन्जन अवा पुगेका थिए ।

हेटौडाकी मेयर लामाले खेलाडीहरुलाई प्रोत्सहान र सीप विकासको लागि रत्ननगरले आयोजना गरेको मेयर कपको विशिष्ट महत्व रहेको बताइन् । उनले हेटौडाले एक वडा एक खेलमैदानको अबधारण अघि पारेको बताइन् ।

उद्यमशिलता विकास र बालमैत्री नगर घोषणालाई प्राथमिकता दिएर पालिकाले काम गरिरहेको उनको भनाई छ । सो अबसरमा रत्ननगरका मेयर प्रलाद सापकोटाले खेलकुदको विकास र खेलकुदको माध्यमबाट पालिकाहरु बीच सहकार्य स्थापित गर्न मेयर कप आयोजना गरिएको बताए ।

राप्तीका मेयर लामाले रत्ननगरले आयोजना गरेको मेयर कपले बागमती प्रदेशकै खेलकुदको विकासमा योगदान दिएको बताए । रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण महतोको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगरका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद बाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले प्रतिस्पर्धा गरेको खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

रत्ननगर सांस्कृतिक महोत्सव : आज मंगोलियन हर्टको कन्सर्ट’ 

रत्ननगर । पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ मा आज शुक्रबार गायक राजु लामाको चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट कन्सर्ट’ हुँदै छ ।

महाेत्सव स्थल रत्ननगरस्थित सौराहा चोकको बसपार्कमा कन्सर्ट हुने छ । कन्सर्टमा गायक लामाको नेतृत्वमा अन्य कलाकारहरुको समेत धमकेदार प्रस्तुति रहने कलाकार व्यवस्थापक : औद्योगिक शान्ति नेपाल संस्थाका कार्यालय सचिव जीवन नेपालले जानकारी दिए ।

चर्चित गायक लामाको गीत हेर्ने र सुन्ने दर्शक श्रोताहरु अधिकांश युवा वर्गका छन् । उनको कन्सर्ट शुक्रबार बेलुका ४ बजेबाट ९ बजेसम्म हुने सचिव नेपालले बताए ।

यहि मङ्सिर ७ गतेदेखि सुरु भएको महोत्सव १७ गतेसम्म संचालन हुनेछ । महोत्सवले रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको महोत्सव मूल आयोजक समितिका संयोजक सन्जय लोप्चन तामाङले बताए ।महोत्सवमा करिब २ सय स्टल रहेका छन् ।

रत्ननगरमा व्यापार महोत्सव : एलिना चाैहानकाे धाेकेवाजले ततायाे माहाेल 

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवमा चर्चित गायिक एलिना चाैहान र गायक श्याम रानाले दमदार प्रस्तुती दिएका छन् ।

चाैहान र रानाले लाेकप्रिय गीत प्रस्तुत गरे। एलिना चाैहानकाे धाेकेवाज हाै तिमी बाेलकाे गीतले महाेत्सवकाे माहाेल ततायाे। महाेत्सवकाे स्टेजमा महाेत्सव छिरेका अबलाेकनकर्ताले लाइभ दाेहाेरी हेर्न पाए ।

अन्य दिनकाे तुलनामा आज महाेत्सव अबलाेकनकर्ताकाे संख्या दाेब्बर रहेकाे आयाेजकले जनाएकाे छ। महाेत्सवमा दुई प्रकारका अबलाेकनकर्ता छिरेकाे पाईएकाे छ । दिउसाे किनमेल गर्ने र साँझ गीतसंगितमा रमाउने दर्शकहरुका कारण महाेत्सव परिसर भरिएकाे  महाेत्सव मुल समाराेह समितिका संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने,  कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महाेत्सव मंसिर १७ गते सम्म चल्ने छ।

माधवपुरको सक्षम आमा समुहलाई वाधवादन सामग्री वितरण

उज्यालो दर्पण- रतननगर नगरपालिका वडा नं १५ ले वडाको सक्षम आमा समुहलाई वाधवादन सामग्री प्रदान गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट वडाले सो समुहलाई स्पीकर,मादल, मजिरा, खैचडी, कर्ताल लगायतका सामाग्री वितरण गरेको हो ।

वडाले चालु आर्थिक वर्षमा वडाभित्र सक्रिय रहेका विभिन्न १० वटा संघसंस्था तथा समूहहरुलाई वाधवादन सामग्री र पोशाक वितरण गरेको छ । यसरी वडाबाट सहयोग पाउनेहरुमा अन्नपुर्ण भजन समूह, त्रिशक्ति नवदुर्गा भजन समूह, सरस्वती भजन समूह, गोरखकाली भजन समूह, शिवज्योति भजन समुह, सरस्वती आमा समूह, पञ्चज्योति आमा समूह, गणेश मन्दिर, देवी पाञ्चायन मन्दिर लगायत छन् ।

वडाध्यक्ष आसिक तमाङले संघसंस्थाहरुको मागको आधारमा सामाग्रीहरु वितरण गरिएको जानकारी दिए। कला संस्कृति र भेषभुषाको संरक्षणको लागी वडाकार्यालयले लगानी गरेको भन्दै उनले प्राप्त सामाग्रीको भरपुर र सुरक्षित उपयोग गर्न आग्रह गरे।

सो वडाले सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार वितरण, निशुल्क लोकसेवा तयारीकक्षा, आपाङ्गता भएकाहरुलाई अत्याधुनिक इलेक्टिक ह्विलचियर वितरण, राष्ट्रिय पोशाक वितरण र संस्कृति जगेर्नाको लागी वाधवादन सामग्री वितरण जस्ता लोकप्रिय र जनता संग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

रत्ननगर १६ मा ज्येष्ठ नागरिक लक्षित मिर्गौला परीक्षण अभियान सुरू

रत्ननगर । रत्ननगरको वडा नं. १६ मा ज्येष्ठनागरिक लक्षित मिर्गौलासम्बन्धी रक्त परीक्षण अभियान सुरू भएको छ । वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा हात्तिगाड़े टोलबाट मंगलबार अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत सो टोलबाट ६४ जनाको रक्तपरीक्षण गरिएको छ । संकलित रक्त नमुनाबाट मिर्गौला रोगको सुरूवाती अवस्था पत्ता लगाउन क्रिटिनाइन, युरिया र युरिक एसिडको परीक्षण हुने पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले बताए । यो किसिमको परिक्षण रत्ननगरमै पहिलो भएको उनले दाबि गरे ।

अभियानको मंगलबार एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, नगरप्रवक्ता कुलप्रसाद सापकोटा, ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

वडाध्यक्ष हेमराज थापाको सभापतित्वमा भएको कार्यक्रम, वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष ८१ वर्षीय प्रेमप्रसाद पन्तको मिर्गौलासम्बन्धी रक्त परीक्षण गरी सुरूवात गरिएको थियो ।  सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै थापाले वडा स्वस्थ भए नगर स्वस्थ हुने र नगर स्वस्थ भए राष्ट्र नै स्वस्थ हुने भएकाले वडावासीलाई स्वस्थ राख्न विभिन्न स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको बताए ।

वडा सदस्य रिता विकले स्वागत मन्तव्य राखेको कार्यक्रम पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले संचालन गरेका थिए । वडाका दसवटै टोलमा सञ्चालन गरिने अभियानबाट आठसय बढी नागरिकको मिर्गौला परीक्षण गरिने छ । मंगलबारदेखि सुरू भएको अभियान मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ ।