Home Blog Page 42

पिठुवाका विद्यार्थीलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ पिठुवामा विद्यालय तहका छात्रछात्राहरुलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ ।

आइतबार वडा कार्यालयको सभाहलमा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख डिएसपी रञ्जन अवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा भद्रकाली मावि र भानु मेमोरियल स्कुलका झन्डै २०० विद्यार्थीको उपस्थिति थियो । सो कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक गोविन्द परियारले साईबर क्राईम सम्बन्धी विषयमा र अस्थाई ट्राफिक प्रहरीपोष्ट टाँडीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु बहादुर थापाले ट्राफिक नियमसँग सम्बन्धित सचेतना कक्षा प्रदान गरेका थिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै वडाध्यक्ष हेमराज थापाले ईन्टरनेटको विकाश संगै बालबालिकाहरु साईबर अपराधको घटनामा पीडक र पिडित बन्ने घटना बढिरहेको भन्दै यस्ता घटनाको रोकथामको लागी कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, अस्थाई प्रहरी पोष्ट पिठुवाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरे लगायतको उपस्थिति थियो ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा उनलाई रिहा गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

उनका अनुसार बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । प्रसाईले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । त्यसै अनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

आफ्नै शरीरमा आगो लगाएकी रत्ननगरकी कमलाको ज्यान गयो

३० मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।

शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताए । अब शव पोष्ट मार्टम परेर आफन्तलाई बुझाइने डीएसपी गोद्दारले बताए ।

घटनास्थल नजिकै कमलाले छोडेको सुसाइड नोट फेला परेको छ। सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतले बताए ।

घटनास्थल नजिकै उनले कागजमा सुसाइड नोट लेखेर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्‌लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।

१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ । त्यसमा पनि उनले अरूलाई कुनै दोष लगाएकी छैनन् ।
मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिकारको सदस्यहरूले प्रहरीलाई बताएका छन् ।
श्रीमान्‌सँग कुराकानी भएको केही समयमै उनले आत्मदाहको प्रयास गरेकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।

 

पिठुवा सामुदायिक सिकाई केन्द्रको भवन शिलान्यास

उज्यालो दर्पण।  रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको भवन शिलान्यास गरिएको छ । भवनको आईतवार एक समारोह बीच वडाध्यक्ष हेमराज थापाले शिलान्यास गरेका हुन्।

रत्ननगरको वडा नं. १४,१५ र १६ ( साविक पिठुवा गाविस) कार्यक्षेत्र रहेको केन्द्रले सिपमुलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफ्नै भवन निर्माण गर्न लागेको अध्यक्ष नेत्र घिमिरेले जानकारी दिए।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित बजेट रु. २० लाख बाट भवनको निर्माण सुरुवात गरिएको हो।

पुस्तकालय, आईसीटी ल्याब सहित छ कोठे, दुईतले भवन निर्माणको लागी ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। भवन निर्माणको लागि नपुग रकम नगरपालिका र प्रदेश सरकारसँग माग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए।

कार्तिक २१ गते टाँडीको सब्जीमण्डी अगाडी भएको दुर्घटनामा घाईते तेश्रो युवकको पनि मृत्यु

उज्यालो दर्पण- चितवनको रत्ननगर टाँडीमा रहेको सब्जीमण्डी अगाडी गत कार्तिक २१ गते बुधबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका रत्ननगर-१३ अमिलिया घर भएका सञ्जय लामाको पनि ज्यान गएको हो ।

कार्तिक २१ गते बुधबार ००:२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोहीराति १२ः५१ बजे मृत्यु भएको थियो भने २० वर्षीय साहिल परियारको उपचारको क्रममा कार्तिक २४ गते भारतको गोरखपुरमा मृत्यु भएको थियो ।

सोहि घटनामा घाइते भएका सञ्जयको पनि उपचारको क्रममा मङ्सिर २४ गते राती नेपाल भारत मैत्री अस्पताल काठमाण्डौमा मृत्यु भएको बागमती प्रहरी प्रदेश कार्यालय हेटौडाले जानकारी दिएको छ । यो संगै सो दुर्घटनामा घाईते भएका रत्ननगरका तिनैजना युवकको दुखद निधन भएको छ ।

तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता: बागमती फुटबल क्लब विजयी

रत्ननगर, मंसिर २४। रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (साेमवार) भएको खेलमा बागमती फुटबल क्लब विजयी भएको छ ।

अभिषेक चर्ज रजहरलाई २-० गोल गोल अन्तरले पराजित गर्दै बागमती फुटबल क्लब विजयी भएको हो । साेमबारको खेलमा हार बेहोरे संगै अभिषेक चर्ज रजहर तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताबाट बाहिरीएको छ भने बागमती फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

बागमती फुटबल क्लबकी तर्फबाट जर्सि नं. १७ की साहारा लिम्बु म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् । उनलाई वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी र रत्ननगरका महिला नेत्रिहरूले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।

भोली (मंगलवार) काे खेलमा पदमा स्पाेट क्लव आेखल ढुङ्गा र संकटा फुटबल क्लब काठमाडाैँ बिच खेल हुँने आयोजकले जनाएको छ ।

कालिकाको विद्युत सम्बन्धी समस्या समाधानको लागि मेयर रेग्मीले गराए घिसिङको ध्यानाकर्षण।

उज्यालो दर्पण- चितवन कालिकाका मेयर विनोद रेग्मीले नगरमा  रहेको विद्युत सम्बन्धी समस्या बारे नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएका छन्।

आज आईतबार प्राधिकरणका निर्देशक कुलमान घिसिङ सँगको भेटमा मेयर रेग्मीले कालिकाको समग्र विद्युतिकरण तथा अवरुद्ध योजनाहरू सुचारु गर्नको लागी निर्देशक घिसिङको ध्यानाकर्षण गराएका हुन्।

कालिकाको वडा नं. ८, ९, १० र ११ मा विद्युतीकरणको लागी  ठेक्का लागेको लामो समय हुँदा पनि काममा ढिलाई  भईरहेको छ।

त्यस्तै नगरको पदमपुर र जुटपानी क्षेत्रमा विद्युत पोल होचो भएका कारण समस्या उत्पन्न भएको छ। होचो भएका पोलहरू परिवर्तन गर्न तथा भोल्टेज कम भएका स्थानहरूमा ट्रान्सफर्मर व्यवस्थापनको लागि आफूले निर्देशक घिसिङको ध्यानाकर्षण गराएको मेयर रेग्मीले जानकारी दिए।

मेयर रेग्मीसँगको भेटमा निर्देशक घिसिङले कालिकाको समग्र विद्युत सम्बन्धी समस्याको दीर्घकालीन निराकरणको लागि तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएर काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु: पहिलो खेलमा आयोजक रत्नप्रिय क्लव विजयी

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ ।

सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर सापकोटाले खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरेको बताए ।

क्लवका अध्यक्ष बसन्त रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख यादव प्रसाद पाठक, जिल्ला समन्वय चितवनकी सदस्य सबिता चौधरी, मृगकुञ्ज उपभोक्ता समितका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की लगाएतले मन्तव्य राखेका थिए ।

महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । हेटौंडा फुटबल एकाडेमीलाई ५–० गोलले पराजित गर्दे आयोजक रत्न प्रिय क्लव सिधै सेमिफाईनलमा प्रवेश गरेको हो । म्यान अफ दी म्याच रत्न प्रिय क्लवकी खेलाडी ममता पुन भईन् । उनले नगद रु २ हजार प्राप्त गरिन् ।

भोली (आइतवार) परिवर्तन हातेमालो युवा संगठन र निजगढ फुटबल क्लब बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष राना मगरले जानकारी दिए । खेलमा राष्ट्रियस्तरका आठवटा टिमले सहभागिता जनाएको उनको भनाई छ ।

खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको सो क्लबले यसअघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरूष फुटबल प्रतियोगिता गरिसकेको छ । यसवर्षको भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता हो ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । सेन्ट्रल कलेज मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताका आयोजक रत्नप्रिय क्लबसहित संकटा क्लब, बागमती युवा क्लब सर्लाही, निजगढ फुटबल क्लब, अभिषेक चर्ज रजहर, पद्मा स्पोट्र्स क्लब ओखलढुङगा र परिर्वतन हातेमालो युवा संगठन जगतपुरले प्रतिस्पर्धा गर्ने क्लबका सचिव विजय लामाले जानकारी दिए ।

रत्ननगर नगरपालिका र वडा नं–९ संरक्षक रहेको उक्त प्रतियोगिता २९ गतेसम्म चल्ने छ । रत्नप्रिय क्लबले समाजका परिर्वतन ल्याउनेगरी, दुर्घटना न्यूनीकरणका ट्राफिक सचेतना, सरसफाई, लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना, सामाजिक विकास र खेलकुदको चौतर्फी विकासको लागि राष्ट्रियस्तरको विभिन्न किसिमका खेलकुदहरु गर्दै आएकोछ ।

अर्पण बचतको १५औं बार्षिक साधारण सभा

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरुङ, तुलसीराम चपाईँ, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जा तर्फ ओमप्रसाद चालिसे र सुश्रीदीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अंक ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ शेयर सदस्य गुना कुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए ।

२०६७ सालमा स्थापना भएको सो सहकारीमा ४ हजार ६२ जना शेयर सदस्य रहेका छन् । ४ करोड ६२ लाख शेयर पुँजी रहेको सो सहकारीले १२ करोड ३१ लाख ऋण लगानी गरेको छ भने १२ करोड ७२ लाख बचत संकलन गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव ऋतु गिरी, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पूर्व अध्यक्ष यमन भूषाल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकुमार बजगाईले स्वागत मन्तव्य राखेका थिए । सोही कार्यक्रमका बीच प्रमुख अतिथि मेयर सापकोटालाई प्रदान गरिने मायाको चिनो वापतको रकमबाट पाँच विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने सो सहकारीले जनाएको छ । कार्यक्रम सचिव पाण्डेले सञ्चालन गरेका थिए ।

पिठुवा सानाकिसान सहकारीको पाँचौ साधारणसभा; एकवर्षमा तेह्रलाख मुनाफा

उज्यालो दर्पण- रत्ननगरको वडा नं १४ पिठुवामा रहेको पिठुवा सानाकिसान कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार गरिएको छ ।

बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेलले वार्षिक प्रगती प्रतिवेदन र नीति तथा कार्यक्रम, प्रबन्धक सिता ढकालले वार्षिक लेखा प्रतिवेदन र लेखा समिति संयोजक सरस्वती न्यौपानेले आन्तरिक लेखा प्रतिवेदन  प्रस्तुत गरेका थिए।

संस्थाले आर्थिकवर्ष  २०८०/८१ मा पाँच करोड पचपन्न लाख कारोबार गरि १३ लाख रुपियाँ खुदमुनाफा गरेको छ। ८७९ जना महिला शेयरसदस्यहरु रहेको संस्थाले महिलाहरुकै नेतृत्वमा संस्था संचालन  गरि शेयरधनीहरुलाई १०.५० प्रतिसत लाभांस वितरण गर्न सफल भएको अध्यक्ष कट्टेलले जानकारी दिईन् ।

कार्यक्रममा ज्येष्ठ शेयरसदस्य सावित्री अधिकारीलाई सम्मान गरिएको थियो भने असल ऋणी सोविता अधिकारी र शोभा घिमिरेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका कर्मचारीद्वय सिता ढकाल र अन्जना दाहाललाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा रत्ननगर १४,१५,१६ का वडाध्यक्षहरु क्रमश: होमनाथ रानाभाट, आसिक तामाङ र  हेमराज थापा, कार्यपालिका सदस्य तथा वडा नं. १४ कि वडा सदस्य सानु भण्डारी, वडा नं. १५ का वडा सदस्यहरु लिलादेवी पोखरेल, शिव तिवारी, ईमप्रसाद पन्त र रुक माया परियार, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ, सृजनशील महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मिना ढकाल, पिठुवा गरिबी निवारण सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश घलान, वडा नं. १५ का पुर्व अध्यक्ष हुमनाथ लामिछाने लगायतको उपस्थिति थियो ।

वि.स २०७६ सालमा स्थापित संस्थाले छोटो समयमै लोभलाग्दो प्रगती गर्न सफल भएको छ । संस्थाले आफ्नै लगानीमा ९ धुर जग्गा खरिद गरि चारकोठे पक्किभवन समेत निर्माण सम्पन्न गरेको छ । भवन निर्माण कार्यको लागी बागमती प्रदेश सरकारले १५ लाख, रत्ननगर नगरपालिकाले पटकपटक गरि १२ लाख, वडा नं. १४ ले १ लाख ५० हजार, वडा नं. १५ ले २ लाख र वडा नं. १६ ले १ लाख रुपियाँ सहयोग प्रदान गरेको अध्यक्ष  कट्टेलले जानकारी दिईन् ।

संस्थाका अध्यक्ष कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कान्ता रेग्मीले स्वागत मन्तव्य राखेकि थिईन्। कार्यक्रम संस्थाकी सदस्य रिता नेपालले संचालन गरेकी थिईन् ।