Home Blog Page 61

चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै

चितवन, असार २५ । इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनःनिर्माण गर्न आिर्थक वर्ष २०८१/८२ मा रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघर पुनःनिर्माण गर्दैछौँ, जसका लागि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।”

उहाँका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्न आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आइ लभ गढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

यसैबीच गाउँपालिकाले उपर्दाङ्गगढीको तोप खोजी गरिरहेको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको तोप कहाँ छ, त्यसबारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।”

सन् १९६० सम्म उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।

यसैबीच गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले उपर्दाङ्गगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्नेगरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो ।

उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व झल्किनगरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष गुरुङले बताउनुभयो । सिराइचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाको विकास र विस्तारलाई जोड दिइने उहाँले बताउनुभयो ।

लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीयस्थलको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङ बताउनुभयो । रासस

चितवनमा रोपार पाउनै मुस्किल

तस्विर: रमेशकुमार पौडेल ( चितवन)

चितवन । असार महिना सकिनै लाग्दा चितवनका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छिन् । उनी स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छिन् ।

उनले भनिन्, “स्थानीय रोपार पाउनै कठिन भएको छ । यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ ।” युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उनले बताइन् । उनले भनिन्, “ युवाहरूमा समेत काम गर्ने जाँगर नहँुदा स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ ।”

पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उनले बताइन् । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ ।

यस्तै समस्यामा छिन् भरतपुर –२४ का रतिमाया गुरुङ । उनी अहिले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा छिन् । तर उनलाई रोपार पाइने हो या होइन भन्ने डरले निकै सताएको छ । अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गरेका छन् ।

भरतपुरकै शिव शर्मा अहिले रोपारकै खोजीमा छिन् । उनले भने, “स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके । अब कसरी खेती गर्ने ।” उनले अहिले स्थानीय रूपमा वृद्धवृद्धाबाहेक समाजमा कोही नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताए ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिए । उनले भने, “स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।” स्थानीय रूपमा पाइने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको उनले बताए ।

जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारले धान रोप्ने गरेको जनाउँदै उनले युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताए । पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ ।

जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । उनका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ ।

नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको उनले जानकारी दिए । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ । रासस

१९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा

लगातारको बर्षापछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले भत्काएको पुल । पुल भत्केपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । तस्बिर ः शेरबहादुर सिंह /रासस

काठमाडौं : भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ।

हिजो साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ। ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत/दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ।

त्यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि/बाग्लुङ सडकखण्ड, स्याउलीवास/बाग्दुम्ला, चामे/बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ।

पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी/दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्णरूपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले आज साँझ विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

पुलमा साईकल राखेर एकजना नारायणीमा हामफाले

उज्यालो नेपाल – नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् । आइतबार बिहान १०:४० बजेको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले विपत् व्यवस्थापनसहितको प्रहरी टोली खटिई उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेका थिए ।

उनी भरतपुर – १२ आधार नर्सरी बस्ने बर्ष ७३ को नारायण बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ।

भारतको मेघालयमा ४ नेपालीको विभत्स हत्या

 

काठमाडौं, असार २२- भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् ।

मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला परेको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

नारायणी नदीमा पानीको सतहले उच्च,गैडाकोट क्षेत्रका केही टहराहरुमा बाढी पस्यो

चितवन, २२ असार । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ ।

बाढीको सतह निरन्तर बढेकाले थप खतराको संकेत पुग्ने अनुमान गरिएको हो । नारायणी नदीस्थित देवघाटमा पानीको बहाव १० दशमलव १२ मिटर पुगेको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।

यसैबीच नारायणी नदी किनारसगै गैडाकोट क्षेत्रका सुकुम्वासी घरहरुमा बाढी प्रवेश गरेको छ । नारायणी रिसोर्ट क्षेत्रमा रहेका ससाना टहराहरु भएका घरहरुमा बाढी प्रवेश गरेको छ । त्यहाँ आश्रय लिएका हरु सुरक्षित स्थान तर्फ सरेका छन् । नारायणी नदीमा बाढीहेर्न आउनेहरुको ओइरो बढेदै गएको छ ।

पुल क्षेत्रमा सशस्त्र प्रहरीका जवानहरु तैनाथ छन् । पुल क्षेत्रमा बसेर भिडियो खिच्ने , फोटो खिच्ने त्यहाँ बसेर गफगर्न दिएका छैनन् । नदीका पारीपट्टी गैडाकोट क्षेत्र र वारीपट्टी नारायणगढको पुलचोक क्षेत्रमा बाढी हेर्ने आउनेहरुको संख्या धेरै छ ।

चितवन प्रशासनले पानीको सहत अझै बढ्दै गएकाले जोखीम क्षेत्रमा रहकाहरुलाई सुरक्षित स्थान तर्फ जान भनेको छ । यस्तै लामो दुरीका यात्रागर्दा सजकता अपनाउन भनेको छ ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं- अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ।

स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ। वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।

विपी राजमार्गमा यातायात ठप्प

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौं सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ। डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो। अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यसैगरी, कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ।

बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन्। चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए।

घोराही–तुलसीपुर सडक सडक अवरुद्ध

दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो। सो ठाउँमा असहले आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ।

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन्।

पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ। जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए। डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ।

वर्षा भएपछि यहाँका किसान खुसी भएका छन्। पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुसी भएका हुन्। पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ। यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ।

नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए। बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए।

कर्णाली राजमार्ग अवरुद्ध

शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दि‍ए।

रत्ननगरको चाउचाउ फ्याक्ट्रीको दोश्रो तलाबाट लडेर एकजनाको मृत्यु

उज्यालो नेपाल- रत्ननगर नगरपालिका वडा नं. १४ पिठुवामा रहेको स्मार्ट फुट एण्ड स्न्याक्स प्रा.ली. (चाउचाउ फ्याक्ट्री) मा भवनको दोश्रो तलाबाट लडेर एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोहि स्थान बस्ने वर्ष ५५ का बल बहादुर गुरुङ छन् । घटना हिजो असार १८ गते मंगलबार बिहान ११:५० को समयमा भएको हो ।

फ्याक्ट्रीको कार्यालयमा बिजुलीको काम गर्ने क्रममा एक्कासी दूईतला माथीबाट भुईमा खसेका गुरुङको शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि स्थानिय बकुलहर अस्पताल टांडी लगिएको थियो ।

उनको उपचारको क्रममा झन्डै १२:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलेसिमलमा सुनचाँदी पसलमा भएको लुटपाटको घटना पसल संचालककै योजनामा भएको प्रहरी दाबी

उज्यालो नेपाल- चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा भएको भनिएको लुटपाटको घटना पसल संचालककै योजनामा गराईएको प्रहरीले जानकारी दिएको छ ।

१ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।

लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी छन्  ।

पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको २ करोड   २० लाख रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैंले चोरी गर्न लगाएको देखिएको जिल्ला प्रहरी प्रमुख एसपी भावेश रिमालले जानकारी दिए ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको एसपी रिमालले  जानकारी दिए ।

त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेको थियो ।

यो समाचार अपडेट हुँदै छ, थप जानकारीको लागी हामीलाई फलो गर्नुहोला ! 

नयाँ सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति, पहिलाे चरणमा ‌ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बनाउने सहमति भएकाे हाे ।

नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरूले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल गरेका थिए ।

राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुबै दलका नेताहरुबीच नयाँ सरकारको लागि सहमत भएको स्रोतले बतायो ।

मध्यरातमा एक हाेटलमा दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा सहमतिलाई अन्तिम रूप दिएकाे थियाे ।

सहमति अनुसार सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने भएका छन्। त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको स्रोतको दाबी छ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ। संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ ।

दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।