Home Blog Page 89

सुन तस्करी छानबिन आयोगले ३३ किलो सुन तस्करीमा थुनामा रहेका गोरेसँग लियो बयान

काठमाडौं– सुन तस्करी प्रकरणमै जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा रहेका चुडामणी उप्रेती ‘गोरे’सँग सुन तस्करी छानबिन आयोगले बयान लिएको छ।

आयोगका अध्यक्ष डिल्लिराज आचार्यले बुधबार आयोगले केही महत्त्वपूर्ण बयान लिएको र त्यसमध्ये गोरेसँग पनि लिइएको बताए। तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौंबाट हराएको ३३ किलो सुन प्रकरणमा उनी थुनामा रहेका थिए।

‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। उनलाई उपस्थित गराइदिन कारगारलाई समितिले पत्र लेखेको थियो। समितिको पत्रपछि उनलाई कारगारबाट झिकाएर बयान गरिएको हो।

२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको भन्दै मुद्दा दायर भएको छ। उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ।

उनले आफूलाई बयानमा ल्याएपछि के प्रयोजन हो भनी सुरुमै समिति समक्ष सोधेका थिए। समितिले सुन तस्करीको शैलीबारे जानकारी लिन ल्याइएको भनेपछि उनले आफ्ना कुरा राखेका थिए।

३३ किलो सुन तस्करीमा पनि उनले विगतमा यही आएर बयान दिएका थिए।

अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना पक्राउ

काठमाडौं, १७ माघ । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका-१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका-७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका-७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका-२ सुकिपुरघर भएका २४ वर्षीय शिवम कुमार यादव  र लहान नगरपालिका-७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।

अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन खेल खेलाइरहेकाे र लिमिट लाेड  गराइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, १७ माघ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार २१.६७ अंकले घटेको सेयर बजार २०९७.९३ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कालिकामा सरसफाई सम्बन्धी अन्तरक्रिया

उज्यालो नेपाल। चितवनको कालिका नगरपालिकामा सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ।

नगर भित्रका वडा नं. १ देखि ५ सम्मका वटा टोल विकास संस्थाका प्रतिनिधिहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको हो।

फोहोर व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका बेला नगरपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा नं. ३ का वडाध्यक्ष तथा वन वातावरण र विपत समिति संयोजक वीरेन्द्र तमाङले पालिकाले फोहोरमैला व्यवस्थापन कार्यविधि बनाईसकेको र तत्काललाई अस्थाई रूपमा फोहोरमैला व्यवस्थापन गर्न लागिएको जानकारी दिए।

फोहोरमैलाको स्थाई व्यवस्थापनको लागि आधुनिक स्थाई प्रकृतिको ल्यान्डफिल्ड साईट निर्माण गरिने र प्राङ्गारिक मल उत्पादन गर्ने गरी तयारी भइरहेको उनले बताए।

त्यस्तै वडा नं. ४ का वडाध्यक्ष मकारमान तामाङले यस्ता कार्यक्रम बाट सरसफाई को अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतमले कालिकाले फोहोरमैलाको क्षेत्रमा देखिने गरि काम गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै फोहोरमैला फाल्ने ठाउँको अभाव, कानुनी जटिलता लगायतको कारण समस्या सृजना भएको बताए।

दुई सेसनमा संचालित कार्यक्रमको पहिलो सेसनमा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाशचन्द्र पौडेलले टोल विकास संस्था परिचालन सम्बन्धी प्रस्तुतिकरण राखेका थिए।

त्यस्तै कार्यक्रमको दोश्रो सेसनमा ईकोसान अभियन्ता श्रीरेन्द्र पोखरेलले सहजीकरण गरेका थिए। अभियन्ता पोखरेलले झण्डै २ दशक देखि ” बेकार बाट आविष्कार, फोहोर बाट मोहोर र पिसाब बाट हिसाब ‘ अभियान सञ्चालन गर्दै फोहोरलाई पुन: प्रयोग गर्न प्रेरित गर्दै आइरहेका छन्।

मंगलबार वडा नं १ देखि ५ सम्मका लागि महिला सञ्जालको भवनमा भएको कार्यक्रम बुधबार वडा नं ६ र ७ को लागि हुनेछ भने बिहीबार वडा नं. ९,१० र ११ को लागि वडा नं ९ को कार्यालयमा हुनेछ।

पिठुवा सामुदायिक सिकाई केन्द्रको नवौँ साधारण सभा

उज्यालो नेपाल – रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सापकोटाले उद्यमशील समाज निर्माणको लागि सिकाई केन्द्रहरुको भुमिका अहम् हुने धारणा व्यक्त गरे।

सो अवसरमा सिकाई केन्द्रले सञ्चालन गरेको विभिन्न सिपमुलक तालिमका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो।

हलुका सवारी चालक तालिम, बोटबिरुवाकाे कलमी तालिम र चुरापोते तालिमका सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै सापकोटाले सीप सिक्ने तर व्यवहारमा नउतार्ने कार्यलाई निरुत्साहित गर्न सीप सिकेका व्यक्तिहरूले व्यवसाय सञ्चालन गर्न चाहेको खण्डमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रले सञ्चालन गरेको विभिन्न विधाको तालिमबाट ७२ जनाले सीप हासिल गरेका छन्।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विजय खनालले संस्थाको आयव्ययको विवरण प्रस्तुत गरेका थिए। त्यस्तै संस्थाका अध्यक्ष नेत्र घिमिरेले वार्षिक प्रगति प्रतिवेदन र भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका पूर्व कार्यसमितिलाई सम्मानित गरिएको थियो। त्यस्तै संस्थाको हरेक कार्यक्रममा सहयोग पुर्‍याए बापत वडा नम्बर १६ का अध्यक्ष हेमराज थापालाई सम्मानित गरिएको थियो।

संस्थाका अध्यक्ष नेत्र घिमिरेको सभापति सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १५ का वडाध्यक्ष आशिक तमाङ, वडा नम्बर १४ १५ १६ का अन्य जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्ले, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष कल्पना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाकै कार्यालय सचिव शर्मिला लामिछानेले सञ्चालन गरेकी थिइन्।

बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शव वाहन सेवा सुचारु

रत्ननगर, माघ १४ । बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुचारु गरिएको छ ।

रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहनको एक औपचारिक कार्यक्रमका बिच सेवा शुभारम्भ गरिएको हो ।
बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले अस्पतालमा आइतवारदेखि नै लागू हुने गरी निःशुल्क शव वाहन सेवा सुरु गरिएको जानकारी दिए ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका सामाजिक विकाश समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले आपत बिपतको समयमा महंगो शुल्क कसरी तिर्ने पिरोलिरहेको समयमा शव वाहनले रत्ननगरका जनतालाई धेरै राहत प्रदान गर्ने बताए ।

नगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको शव वाहन (एम्बुलेन्स) को सम्पूर्ण व्यवस्थापन खर्च रत्ननगर नगरपालिकाले बेहोर्ने जानकारी दिए । शव वाहनको लागि नगरले वार्षिक रु ५ लाख रुपैँया छुट्याएको बताए ।

नगर भित्रका नागरिकलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले शव वाहन सेवा शुभारम्भ गरिएको भएतापनि नगर भन्दा बाहिरकाले प्रयोग गरेमा केही रकम शुल्क लाग्ने उनको भनाई छ ।

त्यसबाट आएको रकम नागरिक सहायता कोषमा नै जम्मा हुने उनले जानकारी दिए । पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कर्माचायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे (सुवास), अस्पतालका डाक्टर तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अस्पतालका जनस्वास्थ्य निरिक्षक राम चन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

पिठुवा खानेपानीको साधारण सभा: खानेपानीको स्रोत संरक्षणमा जोड 

रत्ननगर । रत्ननगरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी गरेको छ ।

शनिबार आयोजना गरिएको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी भएको जनाइएको छ ।

एक करोड ८८ लाख १८ हजार आम्दानी गरेको सो संस्थाले १ करोड ३४ लाख ५८ हजार खर्च कटाएर ५३ लाख ५९ हजार रुपैया मुनाफा भएको जनाएको छ ।

सो संस्थाले आर्थिक बर्ष २०७९÷८० मा पानी विक्रीबाट मात्र एक करोड २४ लाख ९१ हजार आम्दानी गर्न सफल भएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष आशिक तामाङले अनुमानित आयव्याय, नीति तथा कार्यक्रम,संस्थाका सचिव बासुदेव लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु भण्डारी कट्टेलले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थागत विकासमा योगदान गर्ने स्वर्गीय सुर्यनाथ न्यौपानेलाई मरणोप्रान्त, उत्कृष्ट कर्मचारीको रुपमा केदारनाथ तिवारी र परिसद् सदस्यको निर्वाचनमा निर्वाचन अधिकृतको रुपमा काम गरेका केशव शर्मा, जयन्ती रानाभाट र सुर्यप्रसाद ढुंगानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीको पूर्वाधार निर्माणसंगै पानीको स्रोत संरक्षणमा समेत ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले भविश्यमा खानेपानीको अभाव जस्तो विकराल अबस्था आउने भन्दै खानेपानीको स्रोत संरक्षणलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद हरि ढकालले खानेपानीको स्रोत संरक्षण र पूर्वाधार निर्माणमा लगानी गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष तामाङले आफ्नो कार्यकालमा पूर्वाधार निर्माण, स्रोत संरक्षण र उपभोक्ताको संख्या बृद्धि गर्ने काम गरेको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जयन्द्रकुमार श्रेष्ठ, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, नेपाली कांग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, माओवादी केन्द्रका नगर इन्चार्ज राजु अम्गाई, रास्वपाका नगर सचिव रामशरण भट्टराई, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजबादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ, समाजसेवी उत्तम आचार्य, प्रकास खनाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मुक्तिप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए । २०६७ सालमा स्थापना भएको सो संस्थाको ४ हजार ५२२ जना उपभोक्ता रहेका छन् ।

तेस्रो अधिवेशनले आगामी कार्यकालको नेतृत्व समेत चयन गर्नेछ । रत्ननगर नगरपालिका वडा नं १४, १५ र १६ का स्थानीयलाई खानेपानी उपलब्ध गराउदै आएको सो संस्थाको नेतृत्व चयनका लागि तीन वटा वडाबाट २२३ जना परिषद् सदस्य निर्वाचित भइसकेका छन् ।

नेतृत्व चयनमा सहमती हुन नसके निर्वाचन प्रक्रियाबाट कार्यसमिति, लेखा समिति र सल्लहाकार समिति चयन हुनेछ ।

साधारण सभाको बन्दसत्रले दीपक सिवाकोटीको संयोजकत्वमा निर्वाचन समिति घोषणा गरी प्रक्रिया अगाडि बढाएको छ ।

यू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा

नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो। अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

अफगानिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।

त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे। देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए।

दीपक बोहरा नेपाललाई ६ रन चाहिएको बेला २७ रन जोडेर आउट भएका थिए। यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालको नवौं विकेटको थियो। त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो।

सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो।  दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो। खेलमा नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए।

यससँगै आकास यू-१९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बने। यसअघि नेपालका लागि राहुल विश्वकर्माले सन् २०१२ मा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए। यो नेपालका लागि यू-१९ विश्वकपमा उत्कृष्ट बलिङ हो।

भुवन कार्कीले नामिबियाविरुद्ध २०१२ मा ५ विकेट लिँदा २१ रन दिएका थिए। यस्तै सन् २०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ५ विकेट लिँदा २७ रन खर्चिएका थिए। ‌ नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो।

नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए। दोस्रो ओभरमा आकासले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए।

आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५.५ ‌ओभरमा बोल्ड गरे। दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए। आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए।

आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए। उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।

आकासले २० रन बनाएर खेलिरहेका हसन इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएपछि उनले एकै खेलमा पाँच विकेट लिन सफल भए।

नेपालका लागि सातौं विकेट तिलकराज भण्डारीले लिए। उनले १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरे। आउटहुनुअघि उनले तिलकलाई लगातार छक्का र चौका प्रहार गरेका थिए। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा अफगानिस्तानको स्कोरले केहि गति लिएको थियो।

यस्तै नसीर शाखले ३१ रन जोडे। नवौं विकेटका लागि उनले फारुदुनसँग ५५ रनको साझेदारी गरेका थिए। यो साझेदारी दिपेक कँडेलले तोडेका थिए।

फारुदुनले अन्तिम विकेटको रुपमा सुवास भण्डारीबाट आउट हुने क्रममा २९ रन जोडे। बलिङमा नेपालका आकासले ५ विकेट लिँदा दिपेशले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १-१ विकेट लिए।

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमाले विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

नगर उप-प्रमुख बालबालिका कार्यक्रम : कालिकाका २२ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण

रत्ननगर, माघ १० । चितवनको कालिका नगरपालिकाले नगर उप-प्रमुख बालबालिका कार्यक्रम अन्तर्गत नगर भित्रका २२ वटा सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

आमा, बुबा गुमाएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत नगर उप-प्रमुख बालबालिका कार्यक्रम अन्तर्गत नगरपालिकाले विद्यालयमै पुगेर शैक्षिक सामाग्री कपी, कलम, झोल, न्यानो कपडा वितरण गर्दै आईरहेको उप-प्रमुख बिमला तामाङले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाका १ देखि ११ नम्बर वडामा ३५ वटा सामुदायिक विद्यालयहरु रहेकाछन् । जस अन्र्तगत १ देखि ८ नम्बर वडाका २२ वटा विद्यालयका ५ सय ६६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिसकिएको र बाँकी रहेको १३ वटा विद्यालयमा पनि चाडै वितरण गर्ने उहाँको भनाईछ । कालिका वडा नं. ९, १० र ११ मा रहेको विद्यालयमा फागुनको पहिलो हप्ता वितरण गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथ साथै स्वास्थ्य क्षेत्रमा समेत जोड दिएका छौं, यस कार्यक्रमलाई निरन्तरता दिन चाहन्छौं । बालबालिकाहरुको शिक्षा क्षेत्रमा कुनै पनि कमि हुन दिने छैनौं ।”

यस्तै, कालिका वडा नं.६ मा रहेको श्री जमुनापुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मंगलवार शैक्षिक सामाग्री प्रदान गरिएको छ । सो विद्यालयमा अध्ययन गर्ने ३७ जना विद्यार्थीलाई नगर उप-प्रमुखसंग बालवालिका कार्यक्रम अन्तर्गत कपी र कलम प्रदान गरिएको कालिका नगरपालिका महिला बालबालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा उप-मेयर विमला तामाङ, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पुडासैनी, प्रधानाध्यापक गीता न्यौंपाने सहितले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, प्रधानाध्यापक गीता न्यौंपाने, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम कालिका नगरपालिकाका महिला बालबालिका शाखा महिला विकाश निरिक्षक सविना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।