Home Blog Page 104

रेखाले अमेरिकामा सन्तानलाई जन्म दिन लागेकी हुन् ?

नेपाली फिल्ममा गर्विलो पहिचान बनाएकी अभिनेत्री रेखा थापा आगामी फागुनमा आमा बन्दैछिन् । चार महिनाको गर्भ हुर्किरहेको समयमा उनले आफ्नो निर्माण समेत रहेको फिल्म ‘उपहार’मा नृत्यदेखि एक्सनसम्म गरेकी थिइन्, जुन फिल्म महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजकै महिनामा आमा पनि बन्न लागेकाले रेखा उत्साहित छिन् ।

तर, रेखाले आफ्नो पहिलो सन्तानलाई नेपालमा नभइ संयुक्त राज्य अमेरिकामा जन्म दिन लागेको खबर बाहिरिएको छ । शनिबार ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले यसको खुलासा गरेको हो । उनी यसै साता श्रीमान् बलराम शाहीको साथमा अमेरिका जान लागेको समेत कार्यक्रममा जनाइएको छ । अमेरिका जाने भएपछि यतिबेला उनको भागको ‘उपहार’को डबिङ भैरहेको छ ।

अमेरिकामा सन्तान जन्माउँदा त्यहाँको राज्यबाट प्राप्त हुने केही फाइदा र सुविधा छन् । यदि, कुनै बच्चा अमेरिकामा जन्मियो भने ऊ स्वतः त्यहाँको नागरिक हुने प्रावधान रहेको छ । यसैले पनि केही नेपाली अभिनेत्रीहरुले अमेरिकामा नै सन्तानलाई जन्म दिएका छन् । अभिनेत्रीहरु जल शाह, निशा अधिकारी, ऋचा घिमिरे, विनिता बराल लगायतले अमेरिकामा सन्तानलाई जन्म दिएका थिए ।

अब रेखाले पनि पहिलो सन्तानलाई अमेरिकामा जन्म दिन लागेको चर्चा छ । तर, यस विषयमा उनले कुनै जानकारी दिएकी छैनन् । उनी यसअघि केही पटक अमेरिका पुगेर आइसकेकी छन् । उनका श्रीमान् त अमेरिकामा नै बस्ने गर्छन् । त्यहाँ उनको व्यवसाय रहेको बताइन्छ । रेखा घुमफिरलाई मात्रै अमेरिका जान लागेकी हुन् या सन्तानलाई जन्म दिन, त्यो भने अब समयले नै बताउनेछ ।

१६ वर्ष मुनिकालाई ‘वान् सिनेमाज्’ले ‘एनिमल’ देखाएपछि कारबाही सिफारिस

भारतसँगै नेपालमा पनि एडल्ट सर्फिफिकेट पाएको बलिउड फिल्म ‘एनिमल’ काठमाडौंको नयाँ बानेश्वरस्थित ‘वान् सिनेमाज्’ले १६ वर्षभन्दा मुनिका दर्शकलाई देखाएपछि चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६:३० बजे तीन बोर्ड सदस्यसहितको टोली चेकजाँचका लागि हलको अनुगमनमा पुगेको थियो ।

बोर्ड सदस्यहरु राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरीसहितले चेकजाँचको क्रममा ‘वान् सिनेमाज्’ले एडल्ट सर्टिफिकेटको नियमविपरित बालबालिकाहरुलाई ‘एनिमल’को टिकट बिक्री गरेको भेटाएका हुन् । यसपछि हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

‘एडल्ड’ प्रमाणपत्र प्राप्त गरेको फिल्म १६ वर्षमुनिका बालबालिकालाई देखाउनु गैर कानुनी मानिन्छ । बालबालिकाहरुलाई ‘एडल्ट’ फिल्मको टिकट बिक्री नगर्न बोर्डले हल सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

कानुनविपरीत बालबालिकालाई एडल्ट फिल्मको टिकट बिक्री गरिएको पाइए हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने अनुगमन समितिका संयोजक राजु केसीले बताए ।

‘वान् सिनेमाज्’ले एडल्ट प्रमाणपत्र पाएको ‘एनिमल’ बालबालिकालाई देखाएको घटनाबारे थप अनुसन्धान गरेर बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भैरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए । त्यसो त ‘एनिमल’लाई एडल्ट प्रमाणपत्रको नाममा नेपालको सेन्सर बोर्डले धेरै दृश्यमा आँखा चिम्लिएको भन्दै आलोचना पनि भैरहेको छ ।

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंशदेखि दयाहाङसम्म

फिल्म ‘बुलबुल’बाट निर्देशनमा धाप पाएका विनोद पौडेलले आफ्नो निर्देशनमा बन्ने दोस्रो फिल्मको घोषणा गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको फिल्मको आइतबार दुईवटा क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएका अभिनेता हरिवंश आचार्य खुसी र दु:खी भावमा पोस्टरमा चित्रित छन् ।

आचार्यसँगै पोस्टरमा अभिनेता दयाहाङ राई पनि प्रस्तुत छन् । पहिलोपटक हरिवंश र दयाहाङले एकसाथ काम गर्न लागेका हुन् । अमेरिकामा छायांकन हुने फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको पनि अभिनय रहनेछ । फिल्ममा हलिउडका एक नामी कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको जनाइएको छ ।

राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापा निर्माता रहेको फिल्ममा भारतीय अभिनेता अनुपम खेरले पनि अभिनय गर्ने तय थियो । तर, स्क्रिप्ट लेखनको चरणमा चरित्र र कथावस्तुलाई लिएर उनको हस्तक्षप बढ्यो ।

यसपछि निर्देशक पौडेलले सहमतिमा नै उनीसँगको सहकार्य तोडेका थिए । यो फिल्म सन् २०१९ मा वुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।

एल. एन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको फिल्ममा दीपक गजमेर लाईन प्रोड्युसरमा छन् भने सन् २०१७ मा हलिउडको ‘ला ला ल्याण्ड’ फिल्मबाट अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन् । शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीव भार श्रेष्ठ र नवराज पराजुलीको भने सह-निर्माण रहनेछ ।

नेपाली र अंग्रेजी भाषामा बन्ने फिल्मको छायांकन सन् २०२४ को अन्तिमसम्म भ्याएर सन् २०२५ तिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टिङ्ग, विमल सुवेदीको प्रोडक्सन डिजाइन तथा बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ ।

आयुबको गुनासो- ‘भिलेन पनि पत्याएनन्’

कुनै बेला म्यूजिक भिडियोमा राम्रो जमेका मोडल हुन्, आयुब केसी । उनले फिल्मसम्मको यात्रा पनि तय गरे । ‘ठेगाना’, ‘म तिम्रो भैसकेँ’, ‘पँलास’, ‘चाँडै आउ है’ लगायत एक दर्जन बढी फिल्ममा उनले अभिनय गरिसकेका छन् । तर, विगत केही वर्षयता उनी न फिल्म न म्यूजिक भिडियोमा देखिएका छन् । यसबीच, उनले आफूलाई मेकरले भिलेनमा समेत नपत्याएको गुनासो गरेका छन् ।

सोमबार फेसबुकमा निराशाजनक स्टाटस लेख्दै उनले १० वर्ष यो क्षेत्रमा विताउँदा पनि उपलब्धि शून्य रहेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘अरे यार हिरो खेलाओ भन्या पनि हैन, भिलेन नै देओ न । त्यो पनि पत्याएनन् ।

१७ वर्ष यो पेशामा लागेँ, कुनै कसर नछाडि । तर उपलब्धि शून्य जस्तो ।’ आयुबले समय परिवर्तन भए पनि आफूभित्रको कला झन् निखारिएर आएको बताएका छन् ।

सबैलाई समेटेर राम्रो फिल्म बनाउन उनको आग्रह छ । अहिले एउटै कलाकार र एकै किसिमको कथामा फिल्म बनिरहेको उनको बुझाई छ । भए जति फिल्म साइन गर्दा कलाकारहरुले लुकमा मिहिनेत गर्न समय नपाएको र मेकरहरुले पनि जो जस्तो चलेको छ त्यस्तै कथा बनाउने गरेको उनको आरोप छ । अभिनेता केसीले कथाको अभाव भए आफूसँग खानी रहेको पनि दाबी गरेका छन् ।

आयुबले अब आफू पलायन हुने स्टाटसमा उल्लेख गरेका छन् । उनी फेसबुकमा अगाडि लेख्छन्, ‘कलाकारहरुले आत्महत्या त्यसै गरेका होइन रहेछन् । देश छोडेका त्यसै होइन रहेछन् ।

पीडा भएर नै होला । ठिकै छ म एउटा कराएर पिना नसुक्ने होइन । आफैं कमाउनु लाग्छु अब । यत्तिका गएका छन्, म एउटा जाँदा के नै कमी होला । ५० वर्षमा कमब्याक गर्छु । आफैं बनाउँछु ।’

सत्ता गठबन्धन बैठककाे निष्कर्ष : ‘एनसेल शेयर खरिद–बिक्री शङ्कास्पद छ, छानबिन गर्नुपर्छ’

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलकाे शेयर खरिद–बिक्री नभएको बताउनुभयो । उहाँले शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको शेयर खरिद–बिक्रीमा विषयमा गहन अध्ययन र छानबिन हुनुपर्छ । नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर एनसेल शेयर खरिद–बिक्री भएकाे छैन । जति पनि गतिविधि भएका छन्, ती शङ्कास्पद छन् । एनसेलको शेयर खरिद–बिक्रीबारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढङ्गले गहिरो अध्ययन गर्नुपर्छ ।’

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिद–बिक्रीका बारेमा मन्त्रिपरिषद् बैठकले पनि निर्णय गर्ने र सरकारका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताउनुभयो ।

फेरि विवादमा तानिए प्रकाश सपुत

काठमाडौंँ । निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् ।

उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । भिडिओ क्लिपमा उनले बुढासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ । जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा नाचेपछि आलोचना भएको हो ।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनलाई आरोप लगाइएको छ । भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो ।

यो गीतको पूरा भिडियो छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो । अहिले सुटिङको भिडियो क्लिप बाहिरिएपछि उनको आलोचना भएको हो । गीतमा भने इनारमाथि नाचेको प्रस्ट देखिएको छैन ।

कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार

काठमाडौँ । दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ। ईपीएस भाषाा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको हो।

कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको हो । सोही आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो।

आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।

भाषा परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुनेछ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने ईपीएस शाखाले जनाएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ। भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तिर्णाङ्क प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिने सुचनामा उल्लेख गरिएको छ।

पहिलो चरणमा भाषा परीक्षा र दोश्रो चरणको स्किल टेष्टमा उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट समेत सफल भएपछि मात्र रोजगार आवेदन फाराम (Job Application Form) भर्न सकिनेछ ।परीक्षा आवेदन फाराम यँहा क्लिक गरेर अनलाईनबाट मात्र भर्नु पर्नेछ ।

समाचार प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनतिर फर्कने कुरा गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिएका छन्।

एमालेको समृद्धिका लागि संकल्प यात्राका क्रममा आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको इच्छा पूरा नहुने बताए। “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो। त्यो लोकतन्त्र विरोधी हो,” ओलीले भने, “त्यो जनतालाई गरीब राख्न खोज्ने कुरा हो।”

लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनको भनाइ थियो। त्यसलाई उनले नेपाल र नेपालीको हित विपरीतको काम भनेका छन्। अहिलेको व्यवस्था विरुद्ध वितृष्णा फैलाउनेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे।

एमालेले बैतडीको झुलाघाटबाट शुरू गरेको मध्यपहाडी लोकमार्गको यात्रा आइतबार दैलेख पुगेको हो। जनताका समस्या बुझ्न यात्रा थालिएको उनको भनाइ थियो। “नागरिकसँग भेटौं र पार्टीका सन्देश जनताबीचमा पुर्‍याऔं, नागरिकका कुरा सुन्न सकौं भनेर एमालेले पूर्व-पश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ,” ओलीले भने।

९ वर्षीय बालकको केपी ओलीलाई चिठ्ठी- युवा अवस्थामा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले चिठ्ठी थमाउँदै युवा अवस्थामा विदेशिनुपर्ने अवस्थाको अन्तय गर्न आग्रह गरेका छन् ।

नेकपा(एमाले)ले सुरु गरेको मध्य पहाडी पदयात्राको क्रममा सुर्खेत पुगेका ओलीलाई स्थानीय गुर्भाकोट नगरपालिका १० भेडाबारीका ९ वर्षीय किशोर पौडेलले युवा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह गरेको चिठ्ठी थमाएका हुन्।

उनले लेखेको चिठ्ठी सार्वजनिक गर्दै ओलीले मध्य पहाडी लोकमार्ग निर्माण , ग्रामीण विद्युतीकरण र इन्टरनेटको विस्तार रोजगारी सिर्जनाका लागि थालीएको आयोजना भएको उल्लेख गरेका छन्।

उनले सन्दर्भ स्थानीय सन्देश राष्ट्रिय भन्दै लेखेका छन्, ‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए।’

उनले अगाडि लेखेका छन्, ‘मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’

संघीयतालाई संस्थागत गर्न सके मात्रै देशको विकास सम्भव : देउवा

ओखलढुंगा – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गर्न सके मात्रै देशमा विकास सम्भव भएको बताउनुभएको छ ।

ओखलढुंगामा वीपी स्मृति भवन र कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।

अहिलेको संविधानमा एकल पार्टीले बहुमत ल्याउन गाह्रो भए पनि सबै नेता कार्यकर्ता एक भएमा कांग्रेसले बहुमत ल्याउने र चाहेजस्तो विकास गर्ने उहाँको भनाइ थियो ।

देउवाले संविधानले आदिवासी, जनजाति, महिला, मधेसी, अल्पसंख्यक सबैको प्रतिनिधित्व गरेको समेत बताउनुभयो । जिल्ला सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अहिले चर्चामा रहेको एनसेल घोटल छानविनका लागि माग गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रचार विभाग प्रमुख, केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, राजिब कोइराला, प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सभापति उद्धबबहादुर थापालगायतको सहभागिता रहेको थियो । जिल्ला सम्मेलन भोलिसम्म चल्ने कांग्रेसले जनाएको छ ।