Home Blog Page 23

शिक्षा मन्त्रीको शिक्षा : सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ

शिक्षा मन्त्री महाविर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन्।

केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै मन्त्री पुनले यस्तो अनुरोध गरेका हुन्।

सर्को ताने पनि केही छैन भन्दै मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्छन्, ‘केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’

मध्यरातमा बालेनको अशिष्ट स्टाटस, केहीबेरमै हटाए

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद स्टाटस लेखेर केहीबेरमै हटाएका छन्।

उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त स्टाटसमा उनले अमेरिका, भारत र चीनजस्ता देशहरू तथा प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

शाहले आफ्नो फेसबुक पेजमा अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए।

उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको थियो। तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए। उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्।

नेपालकै पहिलो ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्दै नेक्सा

काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले नेपालमै पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्न लागेको छ। दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रत्यक्ष जानकारी र अवसर प्रदान गर्ने उद्देश्यसहित मेला आगामी नोभेम्बर ८ तारिखमा काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने संघले जनाएको छ। आज बागबजार स्थित हार्दिक होटेलमा आयोजित एक पत्रकार सम्मेलनमा संस्थाले यस सम्बन्धी जानकारी दिएको हो।

सन् २०२५ मा स्थापित गैरनाफामुखी संस्था नेक्सा (नेक्सा) ले शैक्षिक परामर्श क्षेत्रमा पारदर्शिता, सत्य निष्ठा र पेसागत मानकलाई प्रवर्द्धन गर्दै आएको संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विद्यार्थीको अधिकार संरक्षण र गुणस्तरीय परामर्श सेवा सुनिश्चित गर्न संस्था निरन्तर क्रियाशील रहेको अध्यक्ष सन्तोष खनालले बताए।

उक्त प्रेस विज्ञप्तिका अनुसार हाल दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि तीव्र रूपमा आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदै गएको छ। आधुनिक शैक्षिक पूर्वाधार, अनुसन्धान केन्द्रित शिक्षा, लचिलो प्रवेश प्रक्रिया, किफायती शुल्क र पढाइपछि रोजगारीका प्रशस्त अवसरहरूले यस देशलाई लोकप्रिय बनाएको संघको भनाइ छ। कोरियाली विश्वविद्यालयहरूले अङ्ग्रेजी भाषामै स्नातक तह अध्ययन गर्न सकिने, १०० प्रतिशतसम्म छात्रवृत्ति पाउने र नपाउने विद्यार्थीका लागि समेत किफायती शुल्कमा अध्ययन गर्न सकिने सुविधा प्रदान गर्ने गरेका छन्। त्यस्तै, पढाइसँगै पार्ट–टाइम काम गर्ने, पढाइपछि पोस्ट–स्टडी वर्क भिसा (PSW), E7 वा प्रत्यक्ष वर्किङ भिसा पाउने अवसर पनि उपलब्ध छन्।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस फेयरमा विद्यार्थीहरूले विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी अध्ययन कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति अवसर र भविष्यका रोजगारी सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउनेछन्। मेलामा न्यूनतम प्रति सेमेस्टर करिब ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मका कार्यक्रमहरू प्रस्तुत गरिने छन्, जसले फरक–फरक आर्थिक पृष्ठभूमिका विद्यार्थीका लागि अध्ययन विकल्प सहज बनाउनेछ।

फेयरमा सहभागी विद्यार्थीहरूले आकर्षक गिफ्ट ह्याम्पर, १०० प्रतिशतसम्म छात्रवृत्ति र ‘अन स्पट एडमिसन’ जस्ता विशेष सुविधा पाउनेछन्। मेलामा चार कोरियाली विश्वविद्यालय — Daewon University College, Yewon Arts University, Dong-Eui University र Namseoul University — का प्रतिनिधिहरू प्रत्यक्ष उपस्थित रहनेछन्। साथै, करिब ४० वटा प्रतिष्ठित शैक्षिक परामर्श संस्था सहभागी हुने बताइएको छ।

नेक्साका अनुसार, यो शैक्षिक मेलाले विगतमा देखिएका भ्रामक गतिविधिबाट उत्पन्न अविश्वास हटाई शैक्षिक परामर्श क्षेत्रप्रति पारदर्शिता र विश्वास पुनर्स्थापना गर्ने उद्देश्य राखेको छ।

संघका अध्यक्ष खनालका अनुसार यो फेयरले विद्यार्थी, अभिभावक र शैक्षिक समुदायलाई विश्वसनीय जानकारीका माध्यमबाट सही निर्णय गर्न सहयोग पुर्‍याउनेछ। साथै, यसले नेपालको शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, अनुशासित र सम्मानित बनाउन योगदान पुर्‍याउनेछ।

पत्रकार सम्मेलनलाई नेक्साका अध्यक्ष सन्तोष खनाल, वरिष्ठ उपाध्यक्ष आशिष कुँवर, कार्यक्रम संयोजक रविन ढकाल लगायतले सम्बोधन गरेका थिए भने महासचिव गणेश बेल्वासेले सञ्चालन गरेका थिए।

रविलक्षित महेशको टिप्पणी: सहकारी ठगले जेलको नाइके हुने हो, प्रधानमन्त्री होइन

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित तिखो टिप्पणी दिएका छन्। शनिवार पोखरामा आयोजित सभामा सम्बोधन गर्दै नेता महेशले यस्तो बताएका हुन्।

‘रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै तपाईँहरूले एउटा भिडिओ भाइरल भएको देख्नुभएको छ,’ बस्नेतले भने, ‘यहाँ चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर उनले संकेत गरिरहेको भिडिओ अहिले भाइरल भइरहेको छ।’

रविले आफूसँगै १४ हजार कैदीहरूलाई बाहिर निकालेर आफू देशको प्रधानमन्त्री बन्न चाहेको बस्नेतले दाबी गरे। ‘यस्ता खालका प्रवृत्ति भएका सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने हो। उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ,’ उनले भने।

काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भएको र त्यो पनि रविकै कारणले भएको उनले बताए। ‘प्रदेशको संसद् हानियो, यहाँ रवि लामिछाने ल्याएको कारणले यहाँको अदालतमाथि आक्रमण भयो। यहाँका सबै संरचनाहरूलाई ध्वस्त बनाइयो,’ बस्नेतले भने।

घुँगी खोज्न गएका वृद्ध रिउ खोलामा मृत फेला

चितवनको माडी नगरपालिका–१ पाण्डवनगरका ६५ वर्षीय बुद्धिराम बोट रिउ खोलामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार बोट हिजो दिउँसो करिब १ बजे ‘घुँगी खोज्न जान्छु’ भन्दै घरबाट निस्केका थिए। तर उनी घर नफर्केपछि परिवारजनले आज बिहान साढे छ बजे प्रहरी चौकी बरुवा, माडीमा जानकारी गराएका थिए।

जानकारी प्राप्त भएपछि प्रहरी चौकी बरुवाका प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोली स्थानीयको सहयोगमा खोजतलास गर्दा बोट रिउ खोलाको किनारमा रहेको दलदलमा घोप्टो परेर मृत अवस्थामा फेला परेका हुन्।

घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।

फरुवा प्रहारबाट आमाको हत्या

वीरेन्द्रनगर — सुर्खेतमा छोराले आमाको हत्या गरेका छन् ।शुक्रबार बिहान भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षकी आमा धनिकलालाई फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको अवस्थामा कविरामले फरुवाले टाउकोमा प्रहार गरेका थिए । प्रदेश अस्पताल सुर्खेतमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट पक्राउ गरेको छ ।
अत्यधिक मदिरा सेवन गर्ने गरेको र आवेगमा आएर उनले आमालाई फरुवा प्रहार गरेको प्रहरीको भनाइ छ ।

सरकारी ऋण २७ खर्ब ४३ अर्ब, तीन महिनामा थपियो ५० अर्ब

काठमाडौँ — गत असोजसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गत भदौको तुलनामा तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको छ ।

गत भदौसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ थियो । भदौ मसान्तदेखि असोजसम्म सरकारले उठाएको सार्वजनिक ऋणभन्दा भुक्तानी गरेको धेरै रहेकाले कुल तिर्न बाँकी सार्वजनिक ऋण घटेको हो ।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७८ अर्ब ७ करोड (जीडीपीको २०.९३ प्रतिशत) र बाह्य १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ (जीडीपीको २३.६९ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । गत असार मसान्तको तुलनामा असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको हो । उक्त अवधिमा १ खर्ब ८४ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ९ अर्ब ८९ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये ९० अर्ब ५० करोड रुपैयाँ साँवा र बाँकी १९ अर्ब ३८ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ८४ करोड साँवा भुक्तानीमा खर्च भएको ९० अर्ब ५० करोड रुपैयाँ घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४० अर्ब २६ करोड जोड्दा गएको दुई महिनामा ५० अर्ब ६० करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा सरकारले १ खर्ब ८४ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । यस अवधिमा संकलित सार्वजनिक ऋण वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो ।

तीन महिनामा सशस्त्र र प्रहरीका एक हजारले दिए राजीनामा

काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् ।

राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् ।

जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा/विद्यार्थीको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए । त्यो दिन नेपाल प्रहरीका मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए भने करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन । २४ भदौमा प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो । काठमाडौंको बानेश्वर वृत्तमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर लखेटेका थिए ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण देखाएर प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको छ । ‘यसरी राजीनामा दिनेमा तल्लो तहका कर्मचारी धेरै छन्,’ घिमिरेले भने । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० प्रहरीले राजीनामा दिएका छन् । अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् । सशस्त्र प्रहरीमा पनि पेन्सन र उपदानमा राजीनामा दिनेको संख्या धेरै छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार असोजमा सशस्त्रका २ सय ८५ जनाले पेन्सन सुविधामा राजीनामा दिएका छन् । उपदानमा राजीनामा दिनेको संख्या १८ छ । कात्तिक १ देखि लागू हुने गरी राजीनामा दिनेको संख्या १ सय १८ छ ।

नेपाल प्रहरीमा आर्थिक वर्ष २०८०/८१ मा पेन्सन पाउने गरी ४ सय ५८ र उपदान पाउने गरी ३ सय ३३ जनाले राजीनामा दिएका थिए । त्यस्तै २०८१/८२ मा पेन्सन पाउने गरी २ हजार १५ र उपदान पाउने ग री ३ सय ५८ जनाले राजीनामा दिएका थिए । सशस्त्रमा २०८०/८१ मा पेन्सन सुविधा पाउने २ सय ५६ जनाले राजीनामा दिएका थिए । त्यो २ सय २० जनाले भने उपदान पाउने गरी राजीनामा बुझाए । यस्तै आर्थिक वर्ष २०८१/८२ मा पेन्सन सुविधामा एक हजार ३ सय ९१ र उपदान सुविधामा १ सय ६० जनाले राजीनामा दिएका थिए ।

चितवनमा तीनवटा सवारी एकआपसमा ठोक्किए, ३३ जना घाईते

उज्यालो नेपाल— शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।

त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा .प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्‍याएको छ । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २:५५ बजेबाट सडक एकतर्फी सञ्चालन गराइएको छ ।

गृहमन्त्री हटाउन बालेन लागेको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन दबाब दिइरहेको भन्ने समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ। आज विज्ञप्ति निकाल्दै प्रधानमन्त्री शुशीला कार्कीको सचिवालयले मन्त्री हटाउन कसैको दबाब नरहेको दाबी गरेको छ।

‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ,’कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खट्नुभएको छ।’