Home Blog Page 54

साढे आठ हजार विद्यार्थीले गरे करिअर कार्निभलकाे अबलाेकन 

जनक कार्की काठमाडौँ । व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी शैक्षिक प्रदर्शनी “करिअर कार्निभल २०२४” राजधानीमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारश खड्का र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान) का अध्यक्षमा लक्ष्मण केसीले रिबन काटेर करिअर कार्निभलको उद्घाटन गर्नुभएको थियो ।

इन्ट्रोडक्सन ट्रेड सोज नेपाल र करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिको व्यवस्थापन तथा आयोजनामा राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सञ्चालित करिअर कार्निभलमा प्लस टू पछिको उच्च शिक्षाका लागि प्रतिक्षामा रहेका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्लस टू पछि स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परेका विद्यार्थीको अन्यौलता हटाउन करिअर कार्निभल २०२४ सञ्चालन गरिएको हो ।

स्नातक तह नै विद्यार्थीको करियर बनाउने आधार भएकाले उनीहरु बजारको माग अनुसारको शिक्षा लिनुपर्ने अधिकांश अभिभावकको भावनालाई मध्यनजर गर्दै कार्निभल आयोजना गरिएको हो । विद्यार्थीहरुमाझ प्राविधिक, सूचना प्रविधि तथा व्यवस्थापन तर्फको आकर्षण बढी पाइएको भन्दै करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रबिन बेल्बासेले नेपालमै व्यवस्थापन तथा सूचना प्रविधितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु नै कार्निभलको उद्देश्य रहेको बताउनुभयो ।

अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको प्रदर्शनीमा विद्यार्थीले कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर कलेज, विषय, शुल्क लगायतका विषयवस्तुबारे सही सूचना प्राप्त गरेका थिए । प्रदर्शनीमा विभिन्न विज्ञहरुबाट सेमिनार र करियरबारे कक्षासमेत सञ्चालन भएको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज र सिए अध्यापन गराउने तथा अन्तराष्ट्रिय विश्वविद्यालयका सम्बन्धन प्राप्त संस्थाहरूको सहभागिता रहेको थियो । विभिन्न कलेजहरुको सहभागिता रहेको प्रदर्शनीमा फुड स्टल, प्राथमिक स्वास्थ्य उपचार, काउन्सिलिड कक्ष समेतको स्टल राखिएको थियो ।

मनोरञ्जनका लागि पूर्ण राईलगायत विभिन्न कलाकारहरुको प्रस्तुतिसहितको कन्सर्टका साथै गोलाप्रथाबाट बिजेताका लागि मुभी टिकटसमेत व्यवस्था गरिएको थियो ।

करिब सात हजार विद्यार्थीले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएकोमा साढे आठ हजारभन्दा बढीले अवलोकन गरेको आयोजक पक्षले जानकारी दिएको छ । नेपालका उच्च शिक्षण संस्थाहरुको बारेमा जानकारी प्रदान गर्ने, उपलब्ध कार्यक्रम र विद्यार्थीको लागि महत्वपूर्ण अवसरहरुको आवश्यक जानकारी प्रदान गरिएको थियो ।

नेपालभरका प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई चाहिने जानकारी सहितको अन्तरक्रिया कार्यक्रमको व्यवस्था गरिएको थियो । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बद्ध गुणस्तरीय शैक्षिक संस्थाहरुको लागि अनुकूल र लाभदायक वातावरण सिर्जना गर्ने कार्निभलको उद्देश्य रहेको थियो ।

टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते

रत्ननगर, भदाै २ । रत्ननगर नगरपालिका- २ टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन ।

घाइते हुनेमा खैरहनी नगरपालिका वडा नं. १ की ४१ वर्षीया रिना धरेल रहेकाे इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी डा. हेम केसीले जानकारी दिए।

आइतवार बिहान करिब ६:४५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेकाे ना ६ ख ६६१६ नम्बरकाे ट्रकले पैदल यात्री धरेललाई ठक्कर दिदा उनकाे बायाँ खुट्टाकाे तिघ्रामा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ ।

घाईते महिलाकाे भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले बताएकाेछ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै

भरतपुर, ३२ साउन एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले शैक्षिक मेला ‘इन्लाइटन एडु’ आयोजना गर्दै छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आगामी भदौ ५ गते आयोजना गर्न लागिएको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए । ‘अहिले भरखरै कक्षा १२ को नतिजा आएका विद्यार्थीहरूका लागि त झनै यो मेला उपयुक्त हुन्छ’, उनले भने– ‘उच्च शिक्षा अध्ययन गर्न विदेश जाने सोच छ तर खास जानकारी लिन पाइएको छैन भने आउन अनुरोध गर्दछु ।’

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

३२ साउन, जनकपुरधाम। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन् ।

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रेसिडेन्सीमा उदघोषण तालिम।

श्रावण ३२, चितवन भरतपुर १० चितवन स्थित प्रेसिडेन्सी कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरेको ब्यक्तित्व विकास एवम उदघोषण सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।

बिद्यार्थीहरुको ब्यक्तित्व विकास एवम उदघोषण कलाको विकासका लागि लक्षित गरि आयोजना गरिएको तालिममा ‘बोल मनको कुरा खोल’ नामक उदघोषण सम्बन्धी पुस्तकका लेखक, बरिष्ठ रेडियोकर्मी तथा ब्यक्तित्व बिकास एवम उदघोषण तालिम प्रशिक्षक मनोज पन्तले प्रशिक्षण दिएका थिए ।

कलेजका प्लस टु संयोजक सरोज खडकाले संयोजन गर्नु भएको सो तालिम कलेजले हरेक वर्ष गर्दै आइरहेको छ। यस्तो किसिमको तालिमले बिद्यार्थीहरुमा आत्मबिश्वाशको भावना बिकास हुने र ब्यक्तित्व बिकासमा समेत टेवा पुग्ने कलेजका प्रिन्सिपल शम्भु क्षेत्रीले बताए।

रत्ननगरमा पसलको गोदाममा आगलागी

उज्यालो नेपाल ३० साउन।  चितवनको रत्ननगर १६ पिठुवाको एक किराना पसलको गोदाममा आगलागी भएको छ ।

बुधबार बिहान झण्डै ३:४५ बजेको समयमा पिठुवा दोबाटोबजारमा शोभा श्रेष्ठले सञ्चालन गर्दै आएको सफल किराना पसलको गोदाममा आगलागी भएको हो।

आगलागी स्थानीयबासी, प्रहरी  र खैरहनी नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए।

मंगलबार बेलुका पसल बन्दगरि माथिल्लो तलामा सुत्न गएका श्रेष्ठ परिवारले आगलागी बाट निस्किएको धुवाँ र रापले घर तातेपछि मात्र थाहा पाएका थिए। उनीहरूले  माथिल्लो तलाबाट हामफालेर ज्यान जोगाएका छन्।

आगलागीबाट खाद्यान्न तथा अन्य किराना सामग्रीहरु जलेर नष्ट भएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता

उज्यालो नेपाल । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

आज मंगलबार अपरान्ह  सवा चार वजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नदी माथीको पुलबाट हाम फालेर अन्दाजी ३५/४० वर्षका एक पुरुष बेपत्ता भएका हुन् ।

वेपत्ता पुरुषको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

गत साउन २६ गते पनि अन्दाजी ३० वर्षका पुरुष सोही स्थानबाट नारायणीमा हामफाली बेपत्ता भएका थिए।

प्रेस चौतारीको भवन निर्माणका सेन्ट्रल कलेजबाट २ लाख सहयोग

२९, साउन, चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका अवसरमा भवन निर्माणमा स्थलमा नै आएर चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं कलेजका प्रिन्सिपल पौडेलले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए ।

चौतारीको भवनका लागि आफूले २ बर्ष अगाडि चौतारी साँझ कार्यक्रममा पनि सहयोग गरेको स्मरण गर्दैै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा चौतारी चितवनको तर्फबाट धन्यवाद दिए । सेन्ट्रल कलेजले जिल्लामा खेलकुद, सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण साथ र सहयोग दिँदै आएको भन्दैं अध्यक्ष पण्डितले सबैको साथ र सहयोगबाट चौतारीको ३ तले भवन तयार हुँदै गरेको बताए ।

चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठन प्रति सेन्ट्रल कलेजले दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ ।

भवनको सबै ढलानको काम सकेर अहिले प्लाष्ट्रर गर्ने क्रम अन्तिम चरणमा छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले २०७९ वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।

भवनको भूईं तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासिय सुविधासहितका कोठाहरु रहने अध्यक्ष पण्डितले जानकारी दिए ।

चितवनमा चितुवाको आक्रमणबाट एक घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।

आज अपरान्ह ४ बजे कालिका नगरपालिका ६ लबडाँडा जंगलमा घाँस काट्न गएका स्थानीय ५४ बर्षीय चन्द्र प्रसाद पौडेललाई चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट घाइते पौडेलको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनमा बस र ट्रक ठोक्कियो, १० जना यात्रु घाइते

स्वास्थ्य बिमा बाट अब ५ लाख सम्मको उपचार दिने प्रस्ताव, भिडियो हेर्न यँहा क्लिक गर्नुहोला 

चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र ०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक आज बिहान ठोक्किदा बसमा सवार १० घाइते भएका हुन् ।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी राससलाई जानकारी दिए।

घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।