Home Blog Page 27

जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

रुपन्देही । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।

शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजी को प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

बाँके सुधार केन्द्रमा रहेका बालकहरूबीच झडप हुँदा ५ जनाकाे मृत्यु

दाङ । बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए ।

घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।

राजधानी काठमाडौं आन्दोलनकारीको नियन्त्रणमा, सुरक्षा निकाय पन्छिए !

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं जेनजी आन्दोलनकारीको नियन्त्रणमा पुगेको छ । सडकदेखि सरकारी भवनहरुमासमेत उनीहरुले कब्जा गरेका छन् ।
हिजो सुरु भएको जेनजी आन्दोलनमा १९ जना प्रहरीको मारिएपछि आज आन्दोलनले उग्ररुप लिएको हो । काठमाडौंका ठाउँ ठाउँमा आन्दोलनकारीहरु भेला भएर नारा जुलुस, आगजनी र तोडफोड गरेका छन् । नेताहरुको निवास र सरकारी भवनहरु निशानामा परेका छन् ।

आन्दोलनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी बिट हुँदै अहिले उद्योग प्रतिष्ठानहरुमा समेत आक्रमण सुरु गरेका छन् । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार पूर्णरुपमा आन्दोलनकारीको नियन्त्रणमा छ । आन्दोलनकारीले सिंहदरबारका भवनहरुमा यत्रतत्र आगजनी गरिरहेका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवन आगजनीमा ध्वस्त बनेको छ । राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटारभित्र पनि आन्दोलनकारीले आगो लगाइदिएका छन् । सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालयमा पनि आगजनी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा तोडफोड र आगजनी भएको छ । देउवा र उनकी पत्नी आरजुमाथि कुटपिटसमेत गरिएको छ । पूर्वराष्ट्रपति भण्डारीको घरभित्र पनि आगजनी भएको छ ।

आन्दोलनकारीहरुले आगजनी र तोडफोड गर्दा प्रहरीले कुनै पनि हस्तक्षेप गर्न सकेका छैनन् । अधिकांस स्थानमा प्रहरीले लाचार भएर टुलुटुलु हेरिरहेको देख्नन सकिन्छ ।
काठमाडौंका सडकमा यत्रतत्र आन्दोलनकारीहरुको भिड छ । सुरक्षाकर्मीहरुको उपस्थिति देखिन्न । हिजो अत्यधिक बल प्रयोग गरेकोप्रति आलोचित भएका सुरक्षाकर्मी आज आत्मसमर्पणको स्थितिमा छन् ।

जनतासुकै आगजनी हुँदा काठमाडौंको आकाश धुवाँमय भएको छ । दैनिक जनजीवन ठप्प बनेको छ । काठमाडौंवासीहरु कोही आन्दोलन गर्न त कोही रमिता हेर्न घरबाहिर निस्किएका छन् । आगजनी गर्नेहरुमा भने अधिकांस जेनजी पुस्ताका युवायुवती देखिन्छन् ।

रत्ननगरमा सुत्केरी र गर्भवती महिलालाई कुखुराको भाले सहित पौष्टिक आहार वितरण

रत्ननगर, भदौ २२ । रत्ननगर नगरपालिका वडा नं. १५ मा सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ। वडा कार्यालयको बजेटबाट १० जना सुत्केरी र ६ जना गर्भवती गरी १६ जनालाई कुखुराको भाले, २ किलो नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुङको दाल, चना लगायत सरसफाइका सामग्री प्रदान गरिएको हो।

आइतबार वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले सुत्केरी र गर्भवती महिलालाई यी सामग्री हस्तान्तरण गरे। वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पौष्टिक आहार वितरण गरिएको बताए। उनले स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अण्डा, नौनी घ्यूलगायत सामग्री खरिद गरी वितरण गरिएको जानकारी दिए। यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उनको भनाइ छ।

“सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी हो,” वडाध्यक्ष तामाङले भने, “पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण छ।” उनले माधवपुरवासीको सुखदुखमा वडा कार्यालय सधैं साथमा रहेको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए।

वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्स-रे लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीका अनुसार विभिन्न चरणमा १५५ जना सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिसकिएको छ।

कार्यक्रममा वडा सदस्यहरू शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति थियो। वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले गरेकी थिइन्।

अर्पणको रक्तदान सम्पन्न १४ महिला सहित १०७ जना सहभागी

उज्यालो नेपाल- अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम नगर प्रवक्ता कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवम अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष मोहदत्त पौडेल सुरजको अध्यक्षतामा सप्पन्न कार्यक्रममा १४ महिला सहित १०७ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक टुकानाथ आचार्यले जानकारी दिएका छन।

कार्यक्रममा रेडियो अर्पणका उपाध्यक्ष एवम अर्पण बचतका पुर्व अध्यक्ष यमन भुसालले रक्तदान कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।

कार्यक्रमको मध्य भागमा उपस्थिति जनाउदै रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले अर्पणले सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गरेकोमा खुसी ब्यक्त गर्दै नगरपालिका सहकार्य गर्न सदैव तयार रहेको बताएका छन।

कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर नगरपालिकाका नगर प्रवक्ता एवम वडा नम्बर १ का अध्यक्ष कुलप्रसाद सापकोटाले अर्पणको सामाजिक भुमिकाको मुक्तकण्ठले प्रसंसा गर्नु भएको छ।

कार्यक्रमका सभाध्यक्ष एवम अर्पण बचतका अध्यक्ष मोहदत्त पौडेल सुरजले सेवा सुभारम्भको अवसरमा आफुहरुले रक्तदान जस्तो पुनित कार्य गरेको र यसको लागि विभिन्न स्थानबाट गरिएको सहयोगका साथै रक्तदाता माहानुभावले देखाउनु भएको उपस्थितिले आफुहरुलाई आगामी दिनमा थप उल्लेख्य कार्य गर्न उर्जा मिलेको बताएका छन।

कुवेतमा श्रीमान्‌को मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि ज्यान गयो

युएई । कुवेतमा श्रीमानको मृत्यु भएको खबर सुनेर नेपालमा रहेकी श्रीमतीको समेत ज्यान गएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगरको १० दिन अघि कुवेतमा ज्यान गएको थियो ।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएका श्रीमानको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको हो । श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्।

कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्। हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ।

१० दिन पहिले कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ४ जना नेपाली भाषी सहित १२ जना नेपालीको ज्यान गएको थियो । सो घटनामा अन्य देशका गरी २३ जना आप्रवासी कामदारको मृत्यु भएको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

अर्पण साकोसको स्थापना दिवस: भदौ १६ गते रक्तदान कार्यक्रम

रतननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औं स्थापना दिवसको अबसरमा यही भदौं १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

रेडियो अर्पण १०४.५ मेगाहर्जको संयुक्त सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम विहान ७ बजे बाट अर्पण साकोसको प्राङगढमा सुरु हुने छ ।

संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रम गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । संस्थाले कारोबार सुरु गरेको दिनलाई आधार मानेर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।

कम्तिमा १०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको अध्यक्ष पौडेलको भनाई छ । “रक्तदानः जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, सहकारी सदस्य, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक टुकानाथ अर्यालले बताए ।

मेडिकल सिटीको रुपमा परिचित चितवनमा भइरहने रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । संस्थाका सचिव महेश पाण्डेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा संस्थाका पूर्व अध्यक्ष यमन भूषाल, उपाध्यक्ष रामकुमार बजगाईँ, सदस्यहरु आयुषचन्द्र श्रेष्ठ र ध्रुवराज लामिछानेको उपस्थिति रहेको थियो ।

चितवनबाट दिदीबहिनी बेपत्ता

११ भदौ, काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।

हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको एसपी पुरीले बताए । उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक-७ घर भएका उनीहरु मंगलबार बिहानबाट हराएको परिवारले बताएको छ ।

मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका उनीहरु त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएको छ । उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।

रत्ननगरको भद्रकालीधाममा तिजको उल्लास ( फोटो फिचर)

उज्यालो नेपाल- नेपाली नारीको महान् पर्व हरितालिका तीजमा रत्ननगरको वडा नं १६ मा रहेको भद्रकालीधाम परिसरमा व्रतालु महिलाहरूले पूजापाठ र नाँचगान गरेर मनाएका छन् ।

धामको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाँचगानसहित तीज मनाएका हुन् । केही व्रतालुहरूले तीजमा आ-आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे ।
हेर्नुहोस उज्यालो नेपालका पत्रकार निराजन घिमिरेले कैद गरेका केही तस्वीरहरु।

माधवपुरमा ६० दिने लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन हुने

रत्ननगर,८ भदौ। रत्ननगर नगरपालिका वडा नं. १५ ले यस वर्ष पनि ६० दिने लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै इच्छुक सहभागिलाई आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

सूचना अनुसार तयारी कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा बुझाउनुपर्नेछ।

वडा कार्यालय विगत तीन वर्षदेखि निरन्तर यस किसिमका तयारी कक्षा सञ्चालन गर्दै आएको छ। वडा कार्यालयले नै सञ्चालन गरेको तयारी कक्षाबाट अध्ययन गरेका केही व्यक्तिहरू हाल सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन्। यसले युवाहरूमा सरकारी सेवाप्रति आकर्षण बढाउनुका साथै प्रतिस्पर्धी परीक्षामा आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए।

वडा कार्यालयका अनुसार यस वर्षको कक्षामा पनि वडावासी युवाहरूलाई व्यवस्थित अध्ययन र तयारी गर्ने अवसर उपलब्ध हुनेछ।