प्रदेश २ का समाजिक विकासमन्त्री फेरि विवादित तानिएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुलाई दुर्व्यबहार गरेपछि मन्त्री साह विवादमा तानिएका हुन्।
राजपाका प्रदेश सांसद जानकीशरण साहसँगै नेता झा शुक्रबार दिउँसो मन्त्री साहसँग भेटघाट गर्न मन्त्रालयकै चेम्बरमा पुगेका थिए। मन्त्री र मन्त्रालयको विषयमा अपरादर्शीता, भ्रष्टाचार लगायतको व्यापक जनगुनासो बढेको भनेपछि मन्त्री साहले दुर्ब्यबहार गरेको नेता झाले आरोप लगाए।
‘तपाईं आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ? प्रदेशका सबै जिल्लामा समानूपातिक ढंगले बजेट विनियोजन किन गर्नु हुन्न? तपाईंको यस्ता कार्यशैलिप्रति प्रदेशका जनताहरु रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयहरुमा पारदर्शिता छैन। लगायतका कुराहरु भनिरहँदा मन्त्री साह एक्कासी आफूमाथि जाई लागेको नेता झाले बताए।
‘मन्त्री साहले तपाईंको औकात नै के छ र?’ भनेर आफूलाई अपमानित गरेको नेता झाको भनाइ छ।
‘मैले त उहाँलाई जनगुनासो बढेको छ। जनता असन्तुष्ट छन् भनेर कार्यशैली सुधार गर्न आग्रह गरेको थिए। तर उल्टै उहाँ ममाथि नै जाईलागे।’ नेता झाले भने। बोल्न समेत नजान्ने राजपाको तर्फबाट मन्त्री भएर घुर्की देखाउनु खेदजनक रहेको नेता झारको भनाई छ।
घटना पश्चात राजपाका धनुषा जिल्ला नेता कार्यकर्ताले मन्त्री साह जनकपुरको कुनै कार्यक्रममा सहभागि भए कालोमोसो गर्ने चेतावनी दिएका छन्। नेता झाले स्वयम् आफ्नो फेसबुकमा लेखेका छन् ‘हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस् , कालोमोसे दल्छौं। हामीले पनि आफ्नो औकात देखाइदिन्छौं ’ भन्दै मन्त्रीलाई खुल्ला चुनौती दिएका छन्।
नेता झा जस्तै धनुषाका अन्य केहि युवा नेता कार्यकर्ताले मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी समाजिक सञ्जालबाट दिएका छन्। नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। यस विषयमा शनिबार पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए।
यसअघि पनि मन्त्री साहले पत्रकारलाई जुत्ताले हिर्काउने एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए। त्यसपछि एकदिन मन्त्रालयकै कुर्सीमा बसेर तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको थियो। एउटा कार्यक्रममा मेयरहरु पागल भनेर भनेका थिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि एकपटक अन्तरबार्तामा अपशब्द र अर्कोपटक छोरी सशक्तिकरणको विषयमा प्रतिक्रिया दिनेक्रममा अब छोरीले छोराको मुखमा एसीड खन्याउने भनेपछि व्यापक आलोचना हुँदै आएको छ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको मूलगेटमा केही दिनयता सुरक्षाकर्मीको पहरा छ। त्यहाँ तैनाथ छन्– नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान। केन्द्रमा प्रहरी, सेना, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीको व्यापक ओहोरदोहोर र चहलपहल छ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्तमा रहेका १ सय ८५ नेपालीलाई स्वदेश फर्काई क्वारेन्टाइन (स्वास्थ्य परीक्षण) मा राख्न सो तालिम केन्द्र छनोट भएपछि त्यहाँ यसको व्यापक तयारी भइरहेको छ।
क्वारेन्टाइनको तयारी र व्यवस्थापनका लागि खटिएका र सो तालिम केन्द्रमा काम गर्ने प्राधिकरण कर्मचारीलाई परिचय पत्र हेरेर भित्र पठाइन्छ। अरुलाई भने प्रवेश निषेध गरिएको छ।
केन्द्रको मूलगेटबाट भित्र प्रवेश गरेपछि सो तालिम केन्द्रलाई बीचबाट जस्ता पाताको बार लगाएर दुई भागमा विभाजन गरिएको छ। त्यसको एकापट्टि बारले घेरिएको छ र त्यो भागभित्र रहेका घरहरुलाई चारवटा ब्लकमा विभाजन गरिएको छ। तिनै ब्लकमा चीनबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।
सचिव नारायणप्रसाद बिडारी
उताबाट आउने १ सय ८५ मध्ये ४४ जना महिला छन्।
एउटा ब्लकमा पुरुष, अर्कोमा महिला, तेस्रोमा दम्पत्ति र चौथो ब्लकमा क्वारेन्टाइन स्थलमा खटिने स्वास्थ्यकर्मी र अन्य रहनेछन्। सो क्षेत्र अहिलेदेखि नै नेपाली सेनाको कमान्डमा छ। ‘त्यहाँ राखिनेका लागि सेनिटरी प्याडदेखि तौलिया र दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान हरेक व्यक्तिका लागि छुट्टाछुट्टै सेटको व्यवस्था गरेका छौं,’ बिडारीले भने।
बिडारीको टोलीले विमानस्थलदेखि खरिपाटीसम्मको तयारीको अवलोकन गरेको थियो। उनीहरुले कसरी ती व्यक्तिहरुलाई ल्याउने भनी शुक्रबार रिहर्सल नै गरेका थिए।
सरकारले हुबेई प्रान्तका विभिन्न सहरमा रहेका नेपालीहरुलाई वुहानमा भेला गरेर आइतबार झिसमिसे अघि नै काठमाडौं ल्याउने तयारी गरेको छ। त्यसका लागि नेपाल वायु सेवा निगमका वाइडबडी विमान शनिबार अपरान्ह त्यसतर्फ जाँदैछ।
यसरी स्वदेश फर्किने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा बिताउनुपर्नेछ।
खरिपाटीस्थित क्वारेन्टाइनका लागि तयार गरिकएको भवन
तर, खरिपाटी लगायत ठाउँमा क्वारेन्टाइन राख्ने निर्णयलगत्तै त्यहाँका स्थानीय बासिन्दा आन्दोलित हुन थालेका छन्। दैनिक जस्तो स्थानीय बासिन्दा क्वारेन्टाइन क्षेत्रको विपरीत दिशामा रहेका चाँगुनारायण नगरपालिका कार्यालय पुग्ने गरेका छन्।
स्थानीय जनताले बस्तीको बीचमा रहेको तालिम केन्द्रमा क्वारेन्टाइनस्थल बनाउन नहुने उनीहरुको भनाई छ। जनदबाब बढ्दै गएपछि गतसाता भएको नगरपालिकाको साधारणसभाले क्वारेन्टाइन राख्न नहुने निर्णय समेत गरेको थियो।
नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले सरकारले केही स्थानीय जनता र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरे पनि अझै पर्याप्त जानकारी नभएको बताए।
‘अहिले पनि विरोध रोकिएको छैन। त्यसले हाम्रो मागको बारेमा सरकारले विचार गर्छ भन्ने हाम्रो आशा छ,’ मिश्रले भने, ‘सरकारले स्थानीय जनताका लागि हेल्थ डेस्क राख्ने कुरा गरेको छ।’
चीनबाट बिरामी मान्छे नआउने भएकाले स्थानीयले विरोध गर्नु उचित नभएको सचिव बिडारीले बताए। ‘चीनले स्क्रिनिङ गरेर संक्रमितलाई उतै राख्छ। यहाँ बिरामीलाई होइन स्वस्थ मान्छेलाई राख्न खोजिएको हो,’ उनले भने।
नगरपालिका कार्यालयमा भेटिएकी उपमेयर बिना बास्तोलाले जनप्रतिनिधिहरु कहिल्यै पनि जनताको मागविरुद्ध जान नसक्ने बताइन्। त्यसैले नगरपालिकाले अहिले पनि क्वारेन्टाइन राख्ने विषयको विरोध गरिरहेको उनको धारणा थियो।
उपमेयर बिना बास्तोला
खरिपाटीबासी क्वारेन्टाइनबारे बढी त्रसित हुनुको केही कारण रहेको उनले बताइन्। ‘गएको गर्मीमा खरिपाटीबासीलाई डेंगीले सताएको थियो। अहिले कोरोना महामारी भएको ठाउँका मान्छेलाई पनि यहीँ नै ल्याएर राख्ने भनेपछि यहाँका मान्छेहरु डराइरहेका छन्,’ बास्तोलाले भनिन्, ‘यहाँ नराखियोस् भनेर दिनैपिच्छे नगरपालिकामा स्थानीयको डेलिगेसन आउने गरेको छ। हामी जनप्रतितिनिधिहरु जनताको भावनाभन्दा बाहिर जान सक्दैनौं।’
तर बास्तोलाले चीनमा रहेका विद्यार्थी र उनीहरुको परिवारले भोग्नुपरेको त्रास र पीडा सम्झिँदा त्यसप्रति आफूहरु निकै संवेदनशील रहेको र त्यसले आफूहरुले अत्यासै लाग्ने गरेको पनि बताइन्।
गर्मीका बेला भक्तपुरको विभिन्न स्थानमा डेंगीका बिरामीहरु भेटिएपछि चारवटै नगरपालिकाले रोकथामका लागि अभियान चलाएका थिए।
खरिपाटी तालिम केन्द्रको गेटमै चिया पसल चलाँउदै आएकी ७० वर्षीया कृष्णकुमारी थापामगरले आफूलाई चीनबाट फर्काएर ल्याउने नेपालीलाई राख्नका लागि त्यो ठाउँ रोजिएको भन्नेबाहेक अरु केही थाहा नभएको बताइन्।
खरिपाटीकी बासिन्दा कृष्णकुमारी थापामगर
‘चीनबाट फर्काउने नेपालीलाई यहाँ राख्न लागेको भन्ने सुनेको छु। तर अरु केही थाहा छैन,’ उनले भनिन्, ‘चिया खान आउने मानिसले नयाँ रोगका कुरा गरेको सुन्छु। तर मलाई केही डर लागेको छैन। ७० वर्षकी भइसकेँ, अब किन डराउने?’
खरिपाटीमा भन्दा नगरकोटमा स्थानीयवासीले चर्को विरोध गरेका थिए। नेपालखबर टोली शुक्रबार अपरान्ह नगरकोट पिपलबोटस्थित राष्ट्रिय खानेपानी तथा ढल निकासको केन्द्रीय तालिम केन्द्र पुग्दा त्यहाँ प्रहरी र स्थानीयवासी झडप नै भएको थियो।
सो तालिम केन्द्रमा नेपालीहरुलाई उद्धार गर्न चीन जाने विमानका चालक दलका सदस्य तथा सोही विमानमा जाने स्वास्थ्यकर्मी गरी जम्मा १९ जनालाई राख्ने तयारी भइरहेको छ।
त्यसको विरोधमा पाँच दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका स्थानीयवासीले शुक्रबार सार्वजनिक यातायात समेत ठप्प परेका थिए।
स्थानीय मीना थिङले नगरकोटमा क्वारेन्टाइन राख्ने भन्नेबारे जानकारी पाउनासाथ विरोध सुरु गरेको बताइन्।
स्थानीयले बालेको टायर प्रहरीले निभाउन थालेपछि झडप भएको थियो। प्रहरीले स्थानीयलाई लाठी प्रहार गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
नगरकोटमा विरोधका लागि भेला भएका स्थानीय
क्वारेन्टाइन राख्न पाइँदैन भनेर विरोधमा उत्रिएका स्थानीयले तालिम केन्द्रमा लैजाने खानेपानीको पाइप समेत काटिदिएको त्यहाँ खटिएका प्रहरीले बताए। स्थानीयले भने आफूहरुसँग कुनै परामर्श नगरी बस्तीनजिकै क्वारेन्टाइन राखिएपछि विरोध गर्नुपरेको बताए।
स्थानीय तहलाई कुनै जानकारी समेत नदिई सरकारले माघ २७ गतेदेखि एक्कासि सो स्थानमा क्वारेन्टाइन राख्ने काम सुरु गरेको चाँगुनारायण वडा नम्बर ६ का अध्यक्ष सन्ते वाइबाले बताए।
‘यस्तो बाक्लो बस्ती भएको स्थानमा क्वारेन्टाइन राख्नुहुँदैन भनेर हाम्रो यहाँको वडा कार्यालयले विरोध गर्दै आएको छ। क्वारेन्टाइन राख्ने विषयमा सरकारले न त पहिले सोध्यो न त अहिले त्रसित भएका स्थानीयलाई राम्रोसँग कुरा बुझाउन सकेको छ,’ वाइवाले भने, ‘त्यसैले आज सार्वजनिक यातायात बन्द गरेका छौं। हामीले सीडीओ कार्यालय र नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएका छौं।’
खरिपाटीमा क्वारेन्टाइन भवनको सुरक्षामा खटिएका प्रहरी
प्रहरी र गाउँलेबीच झडप भएपछि भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रधानले स्थानीय प्रतिनिधिसँग परामर्श गर्न खोजेपछि आन्दोलित स्थानीय जनताले भने वडाध्यक्ष सरकारसँग मिलेको र विरोधलाई सशक्त पार्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
कोठामा आगलागी हुन थालेको थियो। ढोकामा जाने बाटो थिएन। कोठाभित्र मात्र तीन प्राणी थिए– पाँच वर्षीय बालक, उनकी दुई वर्षीया बहिनी र एउटा कुकुरको छाउरो।
बालक निद्राबाट ब्युँझिए। झ्यालतिर भाग्ने ठाउँ मात्रै खुला थियो। ती पाँच वर्षीय बालकले बहिनीलाई उठाए, बोकेर झ्यालबाट बाहिर राखे। त्यसपछि कुकुरको छाउरोलाई पनि झ्यालबाट बाहिर निकाले।
त्यसपछि अर्को कोठामा सुतिरहेका आफ्ना काका र परिवारका अन्य सदस्यलाई उठाए।
ती बालक हुन्, अमेरिकाकाको जर्जिया राज्यस्थित बार्तो काउन्टीका नोआ वुड्स। उनलाई आगोले पोलेर सामान्य चोट लागेको छ।
आफू र परिवारका सात सदस्यको ज्यान बचाएको भन्दै नोआलाई मानार्थ अग्निनियन्त्रकको उपाधि दिइएको छ। एजेन्सी
धनुषामा प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका योजनाकार नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक पक्राउ परेका छन्।
सप्तरीमा पक्राउ परेका धानुकलाई धनुषा ल्याई बिहीवार जिल्ला अदालत धनुषामा ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको धनुषा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार धानुकलाई सरकारी वकिलको सल्लाह अनुसार जिल्ला अदालतमा पेश गरि बयान लिइने छ।
यसअघि उक्त बम काण्डमा पक्राउ परेका ५ जनाएको बयान भइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
गत मंसिर २८ गते क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित एक घरमा बम विस्फोट हुँदा घरधनी ४५ वर्षीय राजेश भनिने राजेश्वर साह, उनका जेठा छोरा १० वर्षीय आनन्दकुमार र सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचार क्रममा मृत्यु भएको थियाे।
विस्फोटबाट राजेश्वरका कान्छा छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते भएका थिए।
पोखरा महानगरपालिका–११, फूलबारीस्थित भास्कर मेमोरियल विद्यालयका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन्।
केही समयअघि अमरसिंह उच्च माविमा छात्रामाथि यौन हिंसा भएको घटना सेलाउन नपाउँदै पोखराको अर्को विद्यालयमा पनि यस्तै घटना घटेको हो। घटना विवरण अनुसार विद्यालय सञ्चालक बास्तोला सधैँजसो ती छात्रालाई लिन उनकै घर पुग्थे। विद्यालय लिएर आउँदा बास्तोलाले आफ्नो हात समातेको र त्यसको लगत्तै पिँडुलामाथि हात लगेर हिंसा गरेको बालिकाले प्रहरीलाई बताएकी छन्।
हिंसापछि बालिकाले आफ्ना शिक्षकसँग ‘बिरामी भएको’ बताएपछि विद्यालय प्रशासनले उनको अभिभावकलाई फोन गरेर जानकारी दियो। बालिका बिरामी भएको खबर पाएलगत्तै उनका दाई उनलाई लिन विद्यालय पुगे। विद्यालयमा बालिकाले दाईलाई देखेपछि रुँदै बास्तोलाले गरेको व्यवहार सुनाइन्।
विद्यालयमा बालिकाका आफन्त आएर बास्तोलासँग कुरा बुझन खोजे। तर बास्तोलाले उनलाई नै थर्काउन थाले। बालिबालिकाका आफन्तले बास्तोलामाथि हातपात गरेर वडा प्रहरी कार्यालय रामबजारमा खबर गरे।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले बास्तोलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएपी राजकुमार केसीले बालिका माथि हिंसा गरेको उजुरीको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिए।
यसअघि अमरसिंह माविका शिक्षक उदय पोखरेलले एक छात्रा माथि हिंसा गरेको घटना बाहिर आएको थियो ।
२ फागुन, काठमाडौं । ६ जना नेपालीहरुको मत्यु हुने गरी कुवेतको एक निर्माणस्थलमा भएको घटनाको यथार्थ जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।
घटनाको बारेमा यथार्थ जानकारी दिन भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्राचारसमेत गरेको छ ।
गत माघ २९ गते निर्माणस्थलमा ढुंगासहितको ढिस्कोले पुरिँदा ६ जनाको मृत्यु भएको र २ जना घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत, क्षतिपूर्ति उपलब्ध गाराउनसमेत आयोगले आग्रह गरेको छ ।
साथै आयोगले वैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना र नीति बनाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
२ फागुन, काठमाडौं । कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना नेपालीहरु घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्पष्ट भएको छैन ।
यसैगरी धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसकेको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरु कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए ।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको थियो ।
हेर्नुहोस् कुवेतस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति
काठमाडौं, ०१ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपार्टहरु प्रस्तुत गरिएको छ : १. पैसा तिरेर तुइन तर्न बाध्य छन् हुम्लाका स्थानीय ! हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं.२०७२ साल असोज २५ […]
बुधबार बिहान ६ बजेको थियो। सप्तरीको बोदेबर्साइन नगरपालिका ५ को बर्सिनीटोलमा कोही उठिसकेका थिए। कोही चाहिँ ब्युँझिन खोज्दै थिए। त्यति नै बेला भारतको बिहार झन्झारपुरबाट घरमा फोन आयो, ‘डम्बर रहेन, उसको हत्या भयो।’
यो दुखद खबर दिने व्यक्ति थिए डम्बर यादवसँगै मंगलबार राति मोटरसाइकल ग्यारेजको समान लिन बिहार झन्झारपुर गएका बोदेबर्साइन नगरपालिका ८ का जितेन्द्र यादव। उनले फोन गरेर छोडेको डम्बरको हत्या खबरले घरमा रुवाबासी सुरुभयो। गाउँमा सनसनी फैलियो। बोदेबर्साइन नगरपालिका ५ का बालेश्वर यादवका २२ वर्षीय कान्छो छोरा डम्बर यादवको हत्या कहाँ कसरी भयो भन्ने कुरा स्थानीयहरु दुःखी हुँदै बुझ्न उत्सुक भए।
बोदेबर्साइन नगरपालिका ५ को बोदेबर्साइनचौकमा जितेन्द्र यादवले मोटरसाइकल ग्यारेज सञ्चालन गरेका छन्। ग्यारेजकै केही सामान ल्याउनु पर्ने छ भन्दै जितेन्द्र मंगलबार राति करिब ८ बजे डम्बरको घर पुगेर स्कारपिओ जिप चलाएर सँगै झन्झारपुर जान आग्रह गरे। घरका मानिसहरूले नजान भने पनि डम्बर जान तयार भए। उनले स्कारपिओ चलाए। ग्यारेज एवं स्कारपिओ धनी जितेन्द्रसँगै छिमेक अनिल यादवसमेत राति साढे ८ बजे भारतीय नम्बरप्लेटकै स्कारपिओमा बसेर झन्झारपुरका लागि घरबाट निस्केका थिए।
बुधबार बिहान ६ बजे स्कारपिओमा सँगै बसेर झन्झारपुर पुगेका जितेन्द्र र अनिलले फोन गरी कसैले ‘गोली प्रहार गरी बाटोमै डम्बरको हत्या गरेको’ जानकारी दिए।
बुधबार नै बिहार मधुवनी अस्पतालमा डम्बरको शवको पोस्टमोर्टम गराइ प्रहरीले शव परिवारजनको जिम्मा लगाएको थियो। डम्बरको शव बुझेर परिवारजनले घर ल्याइ बुधबार साँझ नै अन्त्येष्टि गरेको उनका दाई चन्द्रशेखर यादवले बताए। चन्द्रशेखरका अनुसार झन्झारपुर प्रहरीले स्कारपिओ नियन्त्रणमा लिएर घटनाबारेमा अनुसन्धान गरिरहेको छ।
डम्बर गाडी चालक थिए। उनी केहीदिन अघिसम्म आफै भारतीय नम्बर प्लेटको गाडी किनेर चलाइरहेका थिए। पछि बिक्री गरेपछि कहिलेकाहीँ जितेन्द्रको स्कारपिओ चलाउने गरेका थिए।
सँगै गएका जितेन्द्रले बयानमा भनेका छन्, ‘म र अनिलले गाडीबाट हामफालेर ज्यान जोगायौं, डम्बरमाथि गोली प्रहार भयो।’
जितेन्द्रले आफ्नो कान्छो भाई धर्मेन्द्रलाई यसो भने मंगलबार राति साढे ८ बजे हामी यहाँबाट मोटरसाइकलको बोरिङको लागि झन्झारपुर निस्क्यौं। राति अबेर हुन्छ भनेर साढे ९ बजे बाटोमै पर्ने मेरो फूपुको घरमा बास बस्यौं। बिहान साढे ५ बजे फेरि हामी समान किन्न निस्क्यौं। एउटा स्कारपिओ अगाडि पछाडि गरिरहेको थियो। हामीलाई रोक्न खोज्यो। हामीले रोकेनौं। त्यसपछि उनीहरुले अगाडि बढेर हतियार देखाउन थाले। त्यसपछि मैले आफ्नो फुपुको छोरा, दाई पर्नेलाई फोन गरें। दाइले गाडी बाटोमा नरोक्न भन्दै कुनै सुरक्षित ठाउँ प्रहरी वा पेट्रोल पम्पमा गएर मात्र रोक्न भन्नुभयो। यस्तै करिब ५ किलोमिटरसम्म हामी पार गर्यौ। उनीहरुलाई फेरि अर्को कारले पनि पिछा गर्यो। दुईवटा गाडीले अगाडि पछाडि गर्दै रोक्न खोजे। हामीले रोकेनौं। गाडीले डिस्टर्व गरेपछि उनीहरुले हामीलाई झन्भारपुरको कमला पुल नजिक छेउमा गाडी रोक्न भनियो। त्यसपछि हामीर्लाइ पिछा गर्ने स्कारपिओका चालक हाम्रो गाडीमा चढिहाले। हामी तिनै जनालाई पछाडि बसाए। उनीहरुले गाडी विस्तारै घुमाएर पछाडि गर्न थाले। मेरो साथमा ४० हजार रुपैयाँ भारु थियो। म हाम फालें। मेरो मुखमा चोट लाग्यो। अनिल पनि हाम फाले। गाडीमा एक गोली पनि चल्यो। अब त्यो गोलीले डम्बर मर्यो की हामफालेपछि पछाडिबाट आउँदै गरेको गाडीले किचेर उसको मृत्यु भयो। त्यो कुरा हामीलाई थाहा भएन। डम्बरको मृत्यु झन्झारपुरको कमला पुलमा भयो भन्ने कुरा हामीलाई थाहा भयो। लुटेराहरु भागिसकेका थिए। त्यसपछि मैले फोन गरेर डम्बरको घरमा घटना विषयमा जानकारी दिएँ।
योजनावद्ध तरिकाले डम्बरको हत्या घटनापछि मृतक परिवारले योजनावद्ध तरिकाले ग्यारेज सञ्चालक जितेन्द्र यादव र अनिल यादवले डम्बरको हत्या गरेको आरोप लगाएको छ। मृतक डम्बरका दाई चन्द्रशेखरले आफ्नो भाइको दुबैजना मिलेर भारतमा लगि हत्या गरेको बताए ।
‘जितेन्द्र र अनिलले भने अनुसार केही कुरा मिल्दैन, घटना त्यस्तो देखिंदैन। दुवैजनाले आफुहरु हाम फालेर बाँच्न सफल भए पनि चोटपटक चाहिँ लागेको बताइरहेका छन्। तर उनीहरुलाई केही पनि भएको छैन। घटना लुकाउन नाटक गरिरहेका छन्’, दाई चन्द्रशेखरले भने, ‘दुबैजना मिलेर डम्बरको हत्या गरी अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्यो भन्ने बनाबटी कुरा गरिरहेका छन्। डम्बरको शरीरमा कतै गोलीको निशान छैन। पोस्टमोर्टम रिपोर्टमा पनि त्यो देखिँदैन।’
योजनबद्ध तरिकाले दुवैजना मिलेर भारत लगि टाउकोमा गाडीले किचेर डम्बरको हत्या गरेको दाई चन्द्रशेखरले दाबी गरे।
‘टाउको किचिएको छ। हातखुट्टा भाँचिएको छ। तर हातखुट्टामा गाडी को चक्का डाम देखिँदैन’, दाई चन्द्रशेखरले भने, ‘भारतमा प्रहरीसँग सेटिङ गरेर डम्बरको योजनावद्ध तरिकाले हत्या गरिएको छ। उनीहरुले गरेको भिडियो रेकर्डमा डम्बर कहाँ छ भनेर खोज्दैछन्। जबकी डम्बर उनीहरुसँगै गाडी चलाएर गएका थिए। यी कुराहरुले मेरो भाइको उनीहरुले नै हत्या गरेको बुझिन्छ।’
जितेन्द्रले लागुऔषध गाँजा ठूलो परिमाणमा त्यहि गाडीमा लगेको, डम्बरले थाहा पाएपछि आफु चालक रहेकाले प्रहरीले पक्राउ गर्ने भन्दै नलग्न आग्रह गरेको, नभए अरुलाई भनिदिने बताएका कारण पनि आफ्नो पोल खुल्ने डरले जितेन्द्र र अनिलले डम्बरको हत्या गरेको हुन सक्ने दाई चन्द्रशेखरको भनाइ छ।
जितेन्द्र र अनिल विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा हत्या विरुद्ध जाहेरी दिइएको दाई चन्द्रशेखरले नेपालखबरलाई बताए।
सप्तरी प्रहरीले भने भारतमा सप्तरीका युवक डम्बर यादवको हत्या भएको विषयमा केही जानकारी नरहेको जानाएको छ।
‘त्यस घटनको विषयमा हामीले केही कुरा सुनेका छौं। तर पूर्ण जानकारी आएको छैन’, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले भने, ‘हामीले त्यहाँका एसपी साहेबसँग कुरा गर्न खोज्यौं। तर फोनै लागेन। केही कुरै हुन सकेको छैन।’
भारतमा भएको घटनाको जाहेरी सप्तरी प्रहारीले नलिने उनले बताए।